झापामा बैंकका कर्मचारी माथि भएको धरपकड प्रति बैकरको विरोध, कारवाहीको माग

Dec 06, 2023 05:11 PM Merolagani



झापामा बैंकका कर्मचारीमाथि भएको धरपकडमा बैंकरहरुले आपत्ति जनाएका छन्। वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतका तीनवटै सँगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।

पछिल्लो समय केही व्यक्ति-समूहहरुले बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरु प्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरु,अराजक व्यवहार र आक्रमणको विरोध समेत गरेका छन्।

"एक वाणिज्य बैंकको विर्तामोड, झापा शाखामा कार्यरत एक कर्मचारी माथि भएको धरपकडप्रति हाम्रो घोर आपत्ति रहेको र घट्नामा संलग्न दोषीहरुलाई कारवाहीको माग गर्दछौं," संघहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

संघहरूले आफ्ना ग्राहकहरुलाई सेवा–सुबिधा प्रदान गर्न भूकम्प,कोभिडलगायत विषम परिस्थितीमा समेत अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीहरु माथि यस प्रकारको दुव्यवहार अत्यन्त निन्दनीय भएको भन्दै वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको प्रत्याभूति गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

साथै, बैंकिङ्ग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको र यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई भईरहेका अराजक घट्नालाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसंग आग्रह गरेको छ।