गभर्नर अधिकारीले बैंकहरुमा कर्जाको माग कमी हुनुमा दुर्गा प्रसाईले २० लाखसम्मको ऋण मिनाहा गराई दिने तिर्नुपर्दैन भन्ने आन्दोलनको कारण पनि कर्जा प्रवाहमा बैंकहरु हच्केको बताएका हुन्।
गभर्नर अधिकारीले राष्ट्र बैंकले वाह्य क्षेत्रको स्थायित्व,बैंक तथा वित्तीय क्षेत्रमा स्थिरता कायम गर्ने र बजार मूल्य स्थिर राख्ने काममा होसियारपूर्वक काम गरिरहेको बताए । यी तीन विषयमा स्थायित्व दिनेसके मात्रै समग्र अर्थतन्त्रमा स्थायित्व कायम हुने उनकाे धारणा रहेकाे छ ।
गभर्नर अधिकारीले अर्थतन्त्रका यी तीनवटा विषयमा राम्रो अवस्था रहेको बताउँदै अर्थतन्त्रमा देखिएका समस्याको सबै जड गभर्नर हो भनिएता पनि आफूले अर्थतन्त्रमा समस्या हुने काम केही नगरेको स्पष्ट पारे । उनले निर्माण उद्योगमा आएको समस्याका कारण उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालन गर्न नसक्दा कर्जाको मागमा कमी रहेको बताए।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वितीय संस्थाहरूको निक्षेप चालु आर्थिक वर्षमा १४.९ प्रतिशतले बढेको बताएका छन् ।
गभर्नर अधिकारीले बैंक तथा वित्तीय क्षेत्रतर्फ गत वर्ष २०७९ असोजमा ५.३ प्रतिशतले बढेको विस्तृत मुद्राप्रदाय २०८० असोजमा १४ प्रतिशतले बढेको बताए । उनले भने,"बैंक तथा वितीय संस्थाहरूको निक्षेप गत वर्ष ८.२ प्रतिशतले बढेकोमा चालु वर्ष १४.९ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा १०९ अर्ब रुपैयाँले बढेको छ ।"
गभर्नरले तरलतामा आएको सुधार र ब्याजदर घट्दै गएकोले कर्जा प्रवाह थप बढ्ने आँकलन राष्ट्र बैंकको रहेको पनि जानकारी गराए । उनले मौद्रिक नीतिको लचकताको कारण बैंकको ब्याजदर निरन्तर रुपमा घटिरहेको तथा गत वर्ष टेजरी बिलको भारित ब्याजदर १०.१४ प्रतिशत रहेकोमा २०८० असोजमा ४.९४ प्रतिशत रहेको बताए । उनले ९१ दिने टेजरी विलको भारित औसत ब्याजदर थप घटेर २.६२ प्रतिशत रहेको बताए ।
गत वर्षको तुलनामा अल्पकालिन ब्याजदरहरु घट्दै गएको बताउँदै गभर्नरले बैंकहरुको अन्तर ब्याजदर पनि असोजमा २.२६ प्रतिशत रहेको ब्याजदर थप घटेर १ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिए । बैंकहरुको बेस रेट घटेर ९.९४ प्रतिशत भएर एकल अंकमा आएको भन्दै कर्जाको ब्याजदर पनि गत वर्ष माघमा १३ प्रतिशत रहेकोमा अहिले घटेर १२.१ प्रतिशतमा झरेको उनकाे भनाइ थियाे । "बैंकहरुको निक्षेपको ब्याजदर घटाउँदै ल्याएकाले कर्जाको ब्याजदर पनि थप घट्ने क्रममा रहेको छ," गभर्नर अधिकारीले भने,"चालु आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आँकलन गरेको छ।"
उनका अनुसार चालु आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको, ब्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न शुरू भएकोले ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुनेछ ।यस्तै, उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा पनि गरिएको उनले जनाए । अधिकारीले देशको आर्थिक स्थितितर्फ आर्थिक वर्ष २०७९/०८० असोजको मूल्यवृद्धि ७.५ प्रतिशत रहेको बताए । उनले वाह्य क्षेत्र थप सुदृढ हुँदै गएको भन्दै लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कार्तिकमा आएर पुनः ३.८ प्रतिशतले र व्यापार घाटा पनि ३.३ प्रतिशतले घटेको जनाए । "२०८० असोजसम्म विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेका कारण चालु खाता ५९ अर्ब रुपैयाँले वचतमा रहेको छ । पर्यटक आगमन सन् २०२२ को १० महिनाको तुलनामा ७१ प्रतिशतले बढेको छ ।" वैदेशिक रोजगारीको लागि जाने व्यक्तिहरू अघिल्लो दुई आर्थिक वर्षमा बढेकोमा चालु आर्थिक वर्षको तीन महिनासम्ममा २१ प्रतिशतले घटेको उनले उल्लेख गरे ।
त्यस्तै, नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले ब्याजदर एकल अंकमा ल्याउँदा टिकाउन नसकिने बताए । उनले ब्याजदर एकल अंकमा आउनासाथ आयात बढ्ने र यसले सञ्चितिमा दबाब पर्ने दाबी गरे । यसकासाथै उनले ब्याजदर एकल अंकमा आउनासाथ अर्कोतर्फ घरजग्गालगायत सम्पतीको मूल्य बढ्ने र यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने पनि बताए ।
नेपाल आन्तरिक उत्पादन कमजोर रहेकाले एकल अंकमा ब्याजदर ल्याउँदा फाइदा नहुने उनकाे भनाइ थियाे । उनले डिपार्टमेण्ट स्टोरलगायतका ठूला व्यवसायहरू, सञ्चालनमा रहेका खुद्रा व्यवसायहरू समस्या रहेको बताए।