तर शेयर बजारमा सबै डराउँदा प्रवेश गर्ने र सबै हौसिँदा बाहिरिने सिद्धान्त परिपालन सफल लगानीकर्ताहरुले गर्छन । यही अवसरलाई पहिचान गरी अहिले लगानी गर्ने लगानीकर्ताले शेरबजारबाट राम्रो आम्दानी गर्न सक्ने शेयर बजारका जानकार देव गुरागाईले बताउँछन् । मेराे लगानीकी सुधा देवकाेटाले गुरागाईसँग गरेकाे शेयर गफकाे अंश यहाँ राखिएकाे छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गरेको छ । यस समीक्षाले अवलम्बन गरेका नीतिको बजारमा प्रभाव कस्तो पर्ला ?
समग्रमा हेर्दा मौद्रिक नीतिको समीक्षा बजारको लागि सकारात्मक आएको छ । नेपाल राष्ट्र बैंकले विगतमा गरेका कसिला नीतिहरु खुकुलो बनाउँदै आएको छ । शेयर बजारमा प्रत्यक्ष रुपमा सरोकार राख्ने बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने घर जग्गा (रियल स्टेट कर्जा) र ५० लाख भन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशतमा झारेको छ । त्यसैगरी बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत र नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत कायम गरिएको छ । यसले बजारको लागि सकारात्मक मान्न सकिन्छ ।
राष्ट्र बैंकले एकै पटक नभएर विस्तारै भएपनि बजारको लागि खुकुलो नीति लिन खोजेको देखिएको छ । साथै लघुवित्तका ऋणीहरुलाई समेत केही राहत नीति लिएको छ । लघुवित्तमा नियमित सम्पर्कमा रहेका तर परिस्थितिजन्य कारणले समस्यामा परी कर्जा तिर्न नसकेका ऋणीहरुलाई कर्जा पुनरसंरचनाको व्यवस्था गरेको छ । यसको प्रभाव लघुवित्त कम्पनीहरुमा पर्ने छ । राष्ट्र बैंकले मुलुकको आर्थिक गतिविधि एवम् मुद्रास्फीतिको अवस्थालाई हेर्दै नीतिको समीक्षा गर्दा आवश्यकता अनुसार परिमार्जन गरिने प्रतिवद्धता जनाएको छ । यसले आगामी समीक्षा थप लचिलो आउने संकेत गरेको हुँदा यसको प्रभाव बजारको लागि साकारात्मक पर्ने छ भन्ने विश्वास छ ।
अहिले बजारको अवस्था हेर्दा लगानीकर्ताहरु दोधार भएको अवस्था छ । तपाईको नजरले अहिलेको अवस्था बजारको के हो ?
अहिलेको बजार घटेर न्यून विन्दुमा छ । यो अवस्थामा लगानीकर्ता दोधारमा रहने र त्रसित हुनु स्वभाविक हो । बजारको लामो समयको घट्दो गतिले बजारमा त्रास बढाएकाे छ । बजार ४० प्रतिशत भन्दा धेरै घटिसकेको छ । पछिल्लो समय प्राथमिक बजारबाट भित्रेको पूँजीको गणना नगर्ने हो भने त ५० प्रतिशत भन्दा धेरै घटिसकेको छ । अब बजार बढ्ने हो । लगानीकर्ताले के कुरा थाहा पाउनु पर्छ भने अब बजार बढ्ने नै हो । धेरै झरिसकेको छ । कसैले पनि बुलको उच्च विन्दु र बेरिसमा न्यून विन्दुमा कारोबार गर्न सम्भव हुदैन । लगानीकर्ताले बजारका अवस्था हेरेर बजारमा प्रवेश गर्ने र बाहिरिने भन्ने बारेमा रणनीति बनाउनु पर्ने हुन्छ । बजार प्रवेश गर्ने भनेकै न्यून विन्दुमा हो । मैले देखेको बजार अब विस्तारै बढ्ने हो ।
यहाँले भने जस्तै बजार ४२ प्रतिशत धेरै घटिसक्यो । निरन्तको घटेको बजारमा लगानीकर्ताहरु धेरै निरुत्साहित भएका छन । अर्थतन्त्रको स्रोत शेयर बजार यसरी थिलथिलाे भैसक्दा सुधार गर्नको कुनै निकायले चासो किन दिएको छैन होला ?
पूँजी बजारलाई धेरै कुराले प्रभावित भएको हुन्छ । बजारको गति निर्धारण तरलताले गरेको हुन्छ । बजार यसरी झर्न झर्नुको कारण तरलता संकट पनि हो । बजार तरलता अभाव सुरु भएपछि बजार घट्न थालेको थियो । अहिले पनि ब्याजदर घटेको समाचारहरु आउने गरेका छन् । त्यसैले बजारले त्यसको प्रतिकृया जनाउन सकिरहेको छैन । तर राष्ट्र बैक केही लचक भएकाे छ समीक्षा मार्फत । अब पहिलाकाे अवस्थामा सुधार हुन्छ भन्न सकिन्छ ।
ठूला लगानीकर्ताको कारण बजारमा उतारचढाव भएको अरोप आउने गरेको हुन्छ । बजार झरेर न्यून विन्दुमा भरिसक्यो । अहिलेको बजारमा ठूला लगानीकर्ता के गरेका होलान ?
बजारका लगानीकर्ता बजारमा नै छन् । उनीहरु बजारमा प्रवेश गर्ने तयारी अवस्थामा छन् । बजार बुझेका लगानीकर्ताहरुले बजारको माहोल हेर्ने हो । बजारमा कस्तो माहोल आउँदै छ भन्ने कुरा सामान्य लगानीकर्तालाई भन्दा पहिले उनीहरूलाई थाहा हुन्छ ।
ठूला लगानीकर्ताले कर्जा लिएर नै बजारमा लगानी गर्ने हो । अहिले कर्जा लिनको लागि तरलता संकट अनि कर्जा प्रवाहमा गरिएको कडाईको कारण ढिला भएको हाे । अब विस्तारै सबै वातावरण सहज बन्दैछ ।
बजारका संस्थागत लगानीकर्ता बजारमा सकृय भएनन् । तिनीहरु पनि अल्पकालीन लगानीमा रमाउन थालेको आरोप छ । तपाईले के देख्नु भएको छ ?
पछिल्लो समय संस्थागत लगानीकर्ताको संख्या बढेको छ । म्युचुअल फण्डहरुको संख्या बढ्दै छ । इन्भेष्टमेन्ट कम्पनीहरु खोलेर बजारमा लगानी गर्नेहरुको संख्या पनि बढ्दो छ । स्टक डिलर भित्रने क्रममा छन् । सरकारले स्टक डिलर सहितको ब्रोकर सेवा दिने व्यवस्था गरेको छ । यसले बजारलाई दरिलो बनाएको छ । संस्थागत लगानीकर्ताहरु पनि ब्याजदर र कर्जा प्राप्तिको मारमा छन् ।
बजार घट्नुमा सरकारलाई दोषी देख्ने लगानीकर्ताहरु पनि जिम्मेवार हुनु पर्ने हो नि ?
लगानीकर्ताले पनि राम्रोसँग अध्ययन नगरी लहै लहैमा लागेर लगानी गर्ने गरेको पाइन्छ । बजार बढ्दा खुशी, घट्दा गालीगलाैज गर्ने जस्ता कुराहरु देखिएको छ । लगानीकर्ताले बजार अध्ययन गर्न जान्नु पर्छ । सूचक झर्दै गर्दा पनि कम्पनीहरु चलेका हुन्छन । निरन्तरको यो घटाईमा केही सिमित कम्पनीहरुले राम्रो कमाउने मौका दिएका छन् । लगानीकर्ताले त्यस्ता कम्पनी छानेर लगानी गर्न जान्नु पर्ने हुन्छ । अर्को कुरा शेयर बजारका लगानीकर्ताहरुकाे प्रवृत्ति आजको भोलि नाफा खाने हुन्छ । आजको भोलि त केही हुदैन नि । धैर्य गर्न सक्नु पर्यो । बजारले राम्रो कमाई गर्न सक्ने अवसर प्रदान गर्छ ।