ब्याजदर घट्ने भन्दै लगानीकर्ता हौसिए, पुँजी बजार सकारात्मक हुने अपेक्षा

Dec 09, 2023 05:40 PM MeroLagani



ब्याजदर घटाउने मनसायले नीतिगत दरमा एक प्रतिशत घटाएपछि लगानीकर्ता मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाप्रति सकारात्मक देखिएका छन् । 

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नीतिगत दरलाई साढे ६ प्रतिशतबाट साढे ५ मा, बैंक दरलाई साढे ७ प्रतिशतबाट ७ प्रतिशतमा र निक्षेप संकलन बोलकबोल दरलाई साढे ४ प्रतिशतबाट घटाई ३ प्रतिशतमा झारेको छ। नीतिगत दरलगायत अन्य दरहरु घट्दा मुद्रा बजारमा राम्रै असर गर्दै ऋणको ब्याजदर घट्ने हुँदा लगानीकर्ताहरु सकारात्मक देखिएका छन् ।

नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष एवम नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरमका पूर्वसभापति अम्बिकाप्रसाद पौडेलले नीतिगत दर घट्दा ब्याजदर घट्ने र मार्जिन कर्जाको रिस्क वेटेज समेत घटेको हुँदा पुँजी बजारमा सकारात्मक असर पर्ने बताए । 

नीतिगत दर घटेको हुँदा ब्याजदर घट्छ, भने मार्जिन कर्जाको रिस्क वेटेज घटेको हुँदा त्यसले पुँजी बजारमा सकारात्मक प्रभाव पार्ने ठूला लगानीकर्ता पौडेलले बताए । ‘बाह्य क्षेत्र मजबुत हुँदै गइरहेको परिप्रेक्ष्यमा आन्तरिक क्षेत्रलाई थप चलयमान बनाउने गरी आएको मौद्रिक नीति । विस्तारै मनोबल बढ्दै अर्थतन्त्र तंग्रिदै’ भनेर पौडेलले सामािजक सञ्जालमा पोष्ट गरेका छन् ।

अर्थविद् एवम् पूर्वबैंकर अनलराज भट्टराईले मौद्रिक नीतिको समीक्षामार्फत ५० लाखसम्मको मार्जिन कर्जा र रियल स्टेट कर्जाको जोखिम भारलाई १५० प्रतिशतबाट १२५ प्रतिशतमा झार्ने राष्ट्र बैंकको नीतिले कर्जा दिने क्रममा बैंकको पुँजी कोषमा कम दबाब पर्ने हुँदा अर्थतन्त्र चलायमान हुने बताए ।

‘नीतिगत दरलाई १ प्रतिशतले घटाएर साढे ५ प्रतिशत पुर्याइएको छ, यसले मुद्रा बजारमा राम्रै असर पर्छ । मुद्रा बजारमा राम्रो असरपछि त्यसले विस्तारै ऋणको ब्याजदर कटौती हुँदै जान्छ । यसले एकातिर कर्जा सस्तो हुने अर्कोतिर बैंकलाई कर्जा दिने पुँजीको आवश्यकता कम हुने हुँदा पुँजीबजारमा सकारात्मक असर पर्छ ।’–उनले भने ।

बैंकहरुको पहिलो त्रैमासिकको रिपोर्ट आउँदा खराब कर्जा एकदमै बढेको थियो भने अहिले परिस्थितिवस कर्जा तिर्न असमर्थ भएका सबै ऋणीलाई तिर्नुपर्ने ब्याजको १० प्रतिशत बक्यौता तिरेमा पुनरतालिकीकरण गर्न दिने नीति ल्याएर पहिला सिमित क्षेत्रलाई दिएको सुविधा अहिले नियतवश कर्जा नतिर्ने ऋणी बाहेक सबैलाई लागू हुने हुँदा यसले बैकिङ क्षेत्रको नाफा यदाकता असर पर्ने र खराब कर्जा बढ्दै जाने डर नभएको उनले बताए ।

पुँजी बजारमा अहिलेसम्म धेरै योगदान गर्ने क्षेत्र भनेको बैकिङ समूह नै हो । बजारलाई चलायमान बनाउनलाई बैकिङ क्षेत्रले सहयोग गर्ने र घट्दो ब्याजदरले थप मलजल गर्ने उनले बताए । पुँजी बजार र घरजग्गालागयतका क्षेत्र चलायमान भएपछि उपभोक्ताको हातमा पैसा पुग्ने र त्यसले अन्य क्षेत्रलाई पनि चलायमान बनाउने उनको विश्लेषण थियो ।

 

उपभोक्ताको हातमा पैसा पुगेपछि त्यसले वास्तविक क्षेत्रहरु निर्माण क्षेत्रको सिमेन्ट र डण्डीको माग समेत बढाउने उनले बताए । २ वर्ष अगाडि राष्ट्र बैंकले बजारमा माग घटाउने गरी नीति ल्याएको असर स्वरुप बजारमा अहिले माग एकदमै घटेको छ । अहिले भने माग बढाउने नीति अख्तियार गरेर कसिलो नीतिबाट बजार सुहाउँदो खुकुलो नीति ल्याएको उनले बताए ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सीराम ढकालले २०७८ भदौ ८ गते ल्याइएको मौद्रिक नीतिमा ल्याइएको ४–१२ करोडको कर्जा नीति खारेज गरेर पुरानै कर्जाको सीमा कायम हुनुपर्ने र मार्जिन कर्जामा १५० प्रतिशतको जोखिम भार हटाएर १ सय प्रतिशत कायम गर्नुपर्ने मुख्य माग भएपनि पहिलो त्रैमासिक समीक्षाबाट केही हदसम्म भएपनि लगानीकर्ताको माग सम्बोधन भएको बताए ।

राष्ट्र बैंकले ४–१२ करोडको कर्जा नीतिलाई विस्तारै संशोधन गर्दै पहिलो ४ करोडको सीमा हटायो भने पछि १२ करोडको सीमालाई १५ करोड पुर्यायो भने संस्थागत लगानीकर्तालाई २० करोड रुपैयाँसम्म मार्जिन कर्जा दिने नीति ल्यायो । त्यस्तै १५० प्रतिशत रहेको मार्जिन कर्जाको जोखिम भारलाई १ सय २५ मा झारेर विस्तारै बन्देज खोल्दै गएको बताए । अहिलेको मौद्रिक नीतिलाई पूर्ण रुपमा स्वागत गर्न नसकिए पनि यसले शेयर लगानीकर्तालाई केही राहत मिलेको उनले प्रतिक्रिया दिए ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पनि लगानीकर्ताले उठाएको सबै माग सम्बोधन नभए पनि आंशिक माग सम्बोधन भएकाले ‘नहुनु मामा भन्दा कानो मामा ठिक’ जस्तो भएको प्रतिक्रिया दिइन् । ऋणको ब्याज घट्ने र अर्थतन्त्र चलायमान हुने गरी समीक्षा आएको हुँदा यो समीक्षा सन्तोषजनक नै रहेको उनले बताइन् ।