नागढुङ्गामा प्रहरीले २ किलो सुनसहित ३ जना पक्राउ, दुई दिनमा १६ किलाे सुन बरामद

Dec 08, 2023 05:50 PM Merolagani



काठमाडौँको नागढुङ्गामा प्रहरीले दुई किलो सुन बरामद गरेकाे छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीले शुक्रबार नागढुङ्गाबाट दुई किलो सुनसँगै तीन जनालाई पनि पक्राउ गरेको छ ।

उक्त सुन पिकअप स्काेर्पियोको गियर बक्समा लुकाएर ल्याइएकाे थियाे । प्रहरीले नागढुङ्गाबाट सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको हो । रसुवा गोसाइँकुण्ड गाउँपालिकाका २६ वर्षका विरु तामाङ, २८ वर्षका ग्याल्सेङ तामाङ र २१ वर्षका सुनिल भुजेल पक्राउ परकेा हुन्। 

प्रहरीका अनुसार सुन रसुवा नाकाबाट भित्र्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको तथा यस विषयमा थप अनुसन्धान भइरहेको छ । २ दिनमा नेपालबाट १६ किलाे सुन बरामद गरिएकाे छ ।

यसअघि बिहीबार राति त्रिभुवन विमानस्थलमा १४ किलो सुन बरामद भएको थियाे । दुबईबाट आएका गोरखाका चन्द्र घले बिहीबार राति करिव १४ किलो सुनसहित पक्राउ परेका थिए । उनीसँगै सुन ल्याउन लगाउने मिन घलेलाई पनि प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको छ।

यस विषयमा छानबिन गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले समिति बनाएको छ । भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको उक्त समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा रहेका छन्।