अष्ट्रेलियाको आप्रवासन सम्बन्धी नयाँ नीतिका कारण सरकारले आप्रवासी कामदार र विद्यार्थीको संख्यामा कटौती गर्न लागेकाे छ। जसकारण नेपाली विद्यार्थीहरू यस नीतिबाट प्रभावित हुने भएका हुन् ।
अष्ट्रेलियाकी गृहमन्त्री क्लेर ओ नीलले सरकारको दश वर्षे आप्रवासन रणनीति सार्वजनिक गरेकी छिन् । सोमबार एक पत्रकार सम्मेलन गर्दै उनले पछिल्लाे समय अष्ट्रेलियामा आप्रवासी कामदार र विद्यार्थीको संख्या बढेकाे कारणले काेठामा भाडामा पाउन समस्या, सार्वजनिक सवारी साधनकाे अभाव तथा अन्य भौतिक पुर्वाधारले नधान्ने भएपछि नयाँ नीति जारी गरिएको बताइन् । बीबीसीका अनुसार यसअघिको सरकारले बसाइँसराइ प्रणालीलाई छिन्न भिन्न पारेको भन्दै अब लयमा फर्काउन खोजिएको पनि उनले बताएकी छिन् ।
विद्यार्थी भिसासँगै अब पर्यटक भिसामा समेत कडाइ गरिने भएकाे छ नयाँ नीतिअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अङ्ग्रेजी भाषाको परीक्षामा कडाइ हुने भएको छ । अब अष्ट्रेलिया जाने विद्यार्थीहरूले पढ्न चाहेकाे विषयले उनीहरूको शिक्षाकाे उद्देश्य वा करिअरलाई अगाडि बढाउने कुरा प्रमाणित गर्नुपर्नेछ ।
अष्ट्रेलियाकाे सरकारले अबकाे २ वर्षभित्र आप्रवासीको संख्या आधा घटाउने घाेषणा गरेकाे छ। अब आप्रवासीको संख्या अब साढे २ लाखमा झारिने भएकाे छ । हाल ५ लाख बढीको संख्यामा आप्रवासी रहेका छन् । तर विदेशी विद्यार्थीको संख्या भने ६ लाख भन्दा बढी रहेकाे छ ।