नेप्सेमा सुचीकृत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेक अन्य कम्पनीको हकमा साधारण शेयर बाँडफाँड भएको मितिले ३ वर्षपछि मात्रै संस्थापक शेयर सर्वसाधारण सरह कारोबार हुने व्यवस्था छ । पछिल्लो समय वित्तीय संस्था र बीमाबाहेकका कम्पनीहरुमा लगानीकर्ताहरुले यही प्रावधानलाई ध्यानमा राखेर शेयर कारोबारीले यस्तै कम्पनीहरुलाई चलाउने गरेका छन् । सेबोनको प्रावधान अनुसार न्यूनतम १० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गरेर बाँकी कित्ता शेयर संस्थापकले राख्न सक्छ । अधिकांश हाइड्रोपावरले औसतमा ३० प्रतिशतसम्म शेयर सर्वसाधारणमा बिक्री गर्ने गरेका छन् । ३ वर्षसम्म संस्थापक शेयरधनीको शेयर बिक्री वितरण गर्न पाइँदैन । ३ वर्षपछि भने संस्थापक शेयरधनीको सबै शेयर सर्वसाधारण सरह नै किनबेच गर्न पाइन्छ ।
मेरो लगानीले संकलन गरेको तथ्यांक अनुसार लकिङ खुल्क बाँकी ४५ कम्पनीमध्ये सबैभन्दा कम कित्ता सर्वसाधारण शेयर रहेको कम्पनी कुथेली बुखारी स्मल हाइड्रोपावर रहेको छ । कम्पनीका २ लाख ६८ हजार १ सय ९ कित्ता शेयर मात्रै सर्वसाधारण शेयर छन् । कुल १३ लाख ४० हजार ५४३ कित्ता मध्ये बाँकी १० लाख ७२ हजार ४३४ कित्ता शेयर संस्थापकसँग छ । वित्तीय अवस्था ठिकैको मात्रै रहेको कम्पनीको शेयर मूल्य भने २५ सय रुपैयाँभन्दा माथि छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
त्यसैगरी ६ लाख कित्ता मात्रै सर्वसाधारण शेयर रहेको शुभम पावरको शेयर मूल्य सोमबार ९ सय ७० रुपैयाँमा अन्तिम कारोबार भयो भने ७ लाख कित्ता सर्वसाधारण शेयर रहेको बाराही हाइड्रोपावर ८ सय ७४ रुपैयाँ ९० पैसामा सोमबार अन्तिम कारोबार भयो । ८ सय ४० हजार कित्ता सर्वसाधारण शेयर रहेको रावा इनर्जीको शेयर मूल्य ८ सय ३ रुपैयाँ छ भने ८ लाख ७० हजार कित्ता सर्वसाधारण शेयर रहेको अप्पर स्याङे हाइड्रोपावर ८ सय ९९ रुपैयाँमा कारोबार भइहरेको छ । ९ लाख कित्ता पब्लिक शेयर रहेको सयपत्री हाइड्रोपावर ८ सय १२ रुपैयाँ छ भने १० लाख ७० हजार कित्ता मात्रै पब्लिक शेयर रहेको सुपरमाई हाइड्रोपावर १ हजार ८७ रुपैयाँमा कारोबार भइरहेको छ । एसियन हाइड्रोपावरको शेयर ७ सय ४० रुपैयाँमा कारोबार हुँदा यो कम्पनीको पब्लिक शेयर ११ लाख ८० हजार कित्ता मात्रै रहेको छ भने चिरख्वा हाइड्रोपावर ७ सय ६६ रुपैयाँमा कारोबार हुँदा यसको सर्वसाधारण शेयर भने १२ लाख कित्ता मात्रै रहेको छ । यता थ्रिस्टार हाइड्रोपावर १२ लाख ३१ हजार २ सय ५० कित्ता पब्लिक शेयर छँदा शेयर मूल्य भने ८ सय ६८ रुपैयाँ छ ।
यही क्रमले पब्लिक शेयरको कित्ता बढ्दै जाँदा विस्तारै त्यो कम्पनीको शेयर मूल्य भने उच्च विन्दुमा पुग्न नसकेको देखिएको छ । झन्डै १ करोड कित्ता पब्लिक शेयर रहेको सानिमा मिडल तमोर हाइड्रोपावरको शेयर मूल्य ५ सय २८ रुपैयाँमा कारोबार भइरहेको छ भने ८० लाख कित्ता पब्लिक शेयर रहेको पिपल्स हाइड्रोपावर ५ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । ६८ लाख ७५ हजार कित्ता पब्लिक शेयर रहेको ग्रिन भेञ्चर ५ सय ६० रुपैयाँमा तथा ५७ लाख ४८ हजार ६ सय ८० कित्ता साधारण शेयर रहेको सगरमाथा जलविद्युत कम्पनी ५ सय ६१ रुपैयाम कारोबार भइरहेको छ ।
तथ्यांक विश्लेषण गर्दा ३३ लाख कित्तासम्म पब्लिक शेयर भएका कम्पनीको शेयर मूल्य अहिले १ हजार रुपैयाँभन्दा माथि छ । ‘जति थोरै कित्ता पब्लिक शेयर छ, त्यति नै धेरै शेयर मूल्य’ भन्ने भाष्य अनुसार नै शेयर कारोबारीहरुले हाइड्रोपावरको शेयरमा कारोबार गरिरहेका छन् । लाभांशलाई हेर्ने हो भने गत वर्षको नाफाबाट अहिलेसम्म अधिकतम १६ प्रतिशतभन्दा बढी लाभांश दिने कुनै पनि हाइड्रोपावर कम्पनी छैन । अहिले शेयर लगानीकर्ताले कम्पनीको लाभांशभन्दा पनि त्यो कम्पनीको पब्लिकमा भएको शेयर संख्या र त्यसको लकिङ पिरियड सकिने अवधिलाई ध्यानमा राखेर नै कारोबार गर्न थालेको एक शेयर लगानीकर्ताले मेरो लगानीलाई बताए जसको कारण झन्डै ३ लाख मात्रै पब्लिक शेयर भएको कुथेली बुखारी जस्तो हाइड्रोपावर कम्पनी २५ सय रुपैयाँमा कारोबार भएको हो ।
मेरो लगानीले संकलन गरेको ४५ वटा लकिङ खुल्न बाँकी कम्पनीमध्ये बलेफी हाइड्रोपावर र मोदी इनर्जी मात्रै अहिले ५ सय रुपैयाँभन्दा मुनिको मूल्यमा कारोबार भइरहेको छ । सोमबारको बजार बन्द हुँदा बलेफी हाइड्रोपावर ३ सय ८४ रुपैयाँ ५० पैसामा र मोदी इनर्जी लिमिटेड ३ सय ३३ रुपैयाँमा कारोबार भइरहेको छ । बलेफि हाइड्रोपावरको ७३ लाख ११ हजार ८८० कित्ता सर्वसाधारण शेयर छ भने मोदी इनर्जीको ७२ लाख ५० हजार कित्ता पब्लिक शेयर छ ।
६ महिनामा ५ हाइड्रोपावरको लकिङ खुल्दै
तथ्यांक अनुसार सन् २०२५ को ६ महिनाभित्र ५ वटा कम्पनीको लकिङ खुल्ने भएको छ । ग्रिन भेन्चर्स लिमिटेडको अबको एक महिना भित्रै लकिङ खुल्ने देखिएको छ भने बलेफी हाइड्रोपावरको अप्रिल ११ मा, रिभर फल्स पावरको मे २२ मा, विन्द्यबासिनी हाइड्रोपावरको जुन १६ र दोर्दी खोला जलविद्युत कम्पनीके जुन २१ मा लकिङ पिरियड खुल्नेछ । लकिङव पिरियड सकिएपछि भने संस्थापक शेयर पनि सर्वसाधारण सरह नै कारोबार हुने प्रावधान छ ।