युवा बिदेसिए भन्ने होइन,फर्किदैनन् कि भन्ने चिन्ता छःविश्लेषक हरि शर्माकाे लेख

Jan 19, 2024 12:49 PM MEROLAGANI

हरि शर्मा

मैले दुई वर्षको उमेरबाटै विदेशमा बस्ने अवसर पाएँ । बुबा विदेशमा काम गर्नु हुन्थ्यो । मलाई सम्झना छ,म मलेसियामा वा हङकङमा हुर्कँदा नेपाली कम मात्र विदेश यात्रा गर्थे । नेपालबाट गएका मानिस भेट्दा रमाइलो लाग्थ्यो । बुबाले घरमा खाना खान बोलाउनु हुन्थ्यो ।

विमानस्थलको परिदृश्यमा परिवर्तन आएको छ; अहिले त्यहाँ घुइँचो छ । विदेशमा प्रशस्त नेपाली पुगेका छन् । आउजाउ मात्र होइन, उतै बसोबाससमेत गर्न थालिसकेका छन् ।

विगतमा विदेश जाने कुनै खास वर्ग, समुदाय हुन्थ्यो । ५०, ६० वा ७० को दशकमा पनि धेरैजसो मानिस ब्रिटिस आर्मी, इन्डियन आर्मीमा भर्ती भएर जाने चलन थियो । केही प्रोफेसनल मानिस पढ्न गएर वा तालिमको सिलसिलामा गएर उतै बस्ने प्रचलनसमेत थियो ।

१९८८ मा म अमेरिका जाँदा न्यूयोर्कमा ५०—१०० जना, वासिङटनमा त्यति नै संख्यामा मानिस बस्थे । ती सबै संघसंस्थामा काम गर्ने उच्च दक्ष मानिस थिए । कोही डाक्टर र इन्जिनियर पनि थिए । १९९० मा नेपालमा लोकतन्त्र आपछि १९९६—९७ तिर राहदानी (पासपोर्ट) जिल्लाबाटै लिन सकिने निर्णय भयो । पञ्चायती व्यवस्थामा विदेश जाने मानिस केका लागि जान्छ ? किन जान्छ ? भनेर नियन्त्रण हुन्थ्यो । राहदानी राजनीति नियन्त्रण गर्ने माध्यम थियो । राहदानीको सुगमतासँगै विदेश जाने क्रम बढ्यो ।

७० को अन्त्यतिर मलेसिया, थाइल्यान्ड, कोरियाजस्ता मुलुकमा आर्थिक विकासको क्रम सुरु भयो । खासगरी प्रविधि र पूर्वाधारका निकै काम थालियो । ८० को दशकमा आइपुग्दा खाडी मुलुकहरुको अर्थतन्त्र निकै माथि उठ्न पुग्यो । उनीहरुले सेवा क्षेत्रमा समेत लगानी गर्न थाले । त्यसपछि आप्रवासी कामदारका रुपमा नेपाली विदेश जाने क्रम सुरु भयो ।

नेपालसँग ठ्याक्कै कति मानिस श्रमका लागि र कति आफ्नो बुद्धि विवेक बेचेर आम्दानी गर्न विदेश जान्छन् भन्ने तथ्यांक छैन । मानिस अवसरको खोजीमा हुन्छ । श्रमको खोजी पनि अवसर नै हो । धेरै मानिसले भन्ने गर्छन्, यहाँ छैन । त्यसकारण जहाँ छ, त्यसको खोजीमा मानिस निस्कन्छ । पछिल्लो समय अर्को प्रवृत्ति देखिएको छ । १८—१९ वर्षदेखि २५—२६ वर्षसम्मको उमेरका युवा विदेश जाने ताँती छ । धेरैजसो पढ्न भनेर गइरहेको देखिन्छ । यसलाई अब बौद्धिक पलायन भन्ने बेला आएको छ । उनीहरुले श्रमका रुपमा अर्थतन्त्रलाई योगदान गर्न सक्छन् । तर, यो उमेरका मानिस बौद्धिक रुपमा योगदान गर्न तयार भइसकेका हुँदैनन् । ती पढ्न गएका मानिस उतै अलमलिन्छन् । अहिले श्रम र बौद्धिक पलायन उत्तिकै मात्रामा भइरहेको छ ।

कति मानिस पढ्न गएपछि विदेशमा साँच्चिकै पढ्छन् ? डिग्री पुरा गर्छन् ? र बौद्धिक रुपमा सबल र सक्षम हुन्छन् भन्ने कुनै तथ्यांक छैन । यसभन्दा पहिला भारत, विभिन्न छात्रवृत्ति र अन्य सिलसिलामा पढ्न जान्थे । आधारभूत शिक्षा नेपालमै लिएर उच्च शिक्षाका नाममा विदेश जाने र उतै काम खोजेर बस्ने प्रचलन थियो । आज आधारभूत शिक्षा नै नेपालमा नलिई बिदेसिने पछिल्लो पुस्ता हो । अहिले त बजारमा राम्रै काम गरिरहेका डाक्टर, नर्स, इन्जिनियरसमेत नेपालमा केही हुँदैन भनेर धमाधम पलायन भइरहेका छन् । कति मानिस बौद्धिक रुपमा पलायन भइरहेका छन् ? भन्ने तथ्यांकको खोज्ने बेला भइसकेको छ ।

पहिलो पुस्ता उच्च शिक्षाका लागि वा अझ राम्रो शिक्षाका लागि मात्र बिदेसिएको थियो । उच्च व्यवसायिक दक्षता हासिल गरेपछि उनीहरुका लागि नेपालमा फर्किएर यहीँ काम गर्ने ठाउँ थिएन । त्यसकारण विदेशमै अल्झिए । थोरै मात्र मानिस त्यसरी पलायन भएका थिए । अर्कातर्फ अमेरिकाको डिभी भरेर पलायन हुने र त्योभन्दा अर्को विश्वमा आएको उथलपुथलसँगै शरणार्थीका रुपमा पलायन हुने वर्गसमेत छ । त्यसकारण यसमध्ये बौद्धिक पलायन कति हो भन्ने तथ्यांकको खोजी हुनुपर्छ भनिएको हो । बिदेसिने एक सय जनामध्ये शारीरिक रुपमा सबै सक्षम हुन सक्छन्, तर सबै बौद्धिक रुपमा सक्षम नहुन सक्छन् । श्रम सबैले गर्न सक्छन् तर सबैले बौद्धिक श्रम गर्न सक्दैनन् ।

पछिल्लो समय कताकता बहस सुनिन्छ, स्नातक तह पढ्न विदेश जान दिनुहुँदैन । यो नियन्त्रित मानसिकता हो । मान्छेलाई स्वतन्त्र रुपमा आफूले चाहेको कदम चाल्न दिनुपर्छ । तर, को जाँदैछ, किन जाँदैछ भन्ने लेखाजोखा राख्नु जरुरी छ । मिानस्थलमा बिदाई गर्नेको घुइँचो छ । मानिस विमानस्थलमा टीका लगाएको हुन्छ, बालबच्चा रोइरहेका हुन्छन् । मनमा इच्छा आङ्काक्षा मनमा होला तर साथमा संशय छ, डर छ । खुसीले मान्छे विदेश गएको निकै काम मात्र देखिन्छ । हाम्रो संयन्त्र पनि यस्तै छ । मानिसलाई दुःख दिने नियतले मात्र सोधिन्छ । सहजीकरण गर्ने किसिमले काम गरिँदैन । यस्तो हेलाइ हुँदा पनि मानिस किन बिदेसिन्छ भन्ने कुराले निकै प्रश्न उब्जाइरहेको छ ।

खास समस्या

अहिलेको दशकमा विदेश गइरहेको युवा शारीरिक र बौद्धिक दुबै रुपमा तयार हुनुपर्ने वर्ग हो । यो मुलुकका लागि सबैभन्दा चिन्ताको विषय हो । पढेका मान्छे बाहिर गए भन्ने चिन्ताको विषय होइन । उनीहरु बाहिर जाँदा कमाउँछन्, आफु खुसी हुन्छन्, परिवारलाई खुसी राख्छन् । चिन्ता बाहिर गएर पनि भविष्य अनिश्चित हुन्छ कि भन्ने हो । उनीहरु सफल वा असफल ने पनि हुन सक्छन् । श्रमको सन्दर्भमा उनीहरुले रोजगार पाउलान् वा नपाउलान । पाउँदा जुन मुलुक गए त्यहीँ मुलुकको अर्थतन्त्रलाई फाइदा हुन्छ, हामीलाई घाटा । बौद्धिक क्षेत्रमा सफल भए भने उनीहरु नेपाल फर्कने वातावरण तयार छ कि छैन ? राजनीतिक, सामाजिक, आर्थिक, संरचनात्मक, संस्थागत पूर्वाधार तयार पारियो कि पारिएन ? यी तमाम प्रश्नको घेरामा आज हामी छौँ ।

अहिले समाजमा एउटा भाष्य स्थापित भएको छ, यहा केही पनि हुँदैन, बाहिर जानु पर्छ । हरेक मानिस यही सोचिरहेको छ । यसको जिम्मेवार को हो त ? मानिसलाई रोक्नु हुँदैन, ऐतिहासिक रुपमा मानिस घुमन्ते हो । प्रवृत्तिका हिसाबले पशु र मानिसमा फरक छैन । मान्छे भोको हुन्छ, त्यसलाई रोक्ने भनेको कठिन कुरा हो । तर, गर्नसक्ने भनेको उनीहरुलाई नेपालमा रोक्ने होइन कि विदेशबाट नेपाल फर्कने वातावरण बनाउने हो । हामी जहिले पनि राज्यका नीति निषेधात्मक बनाउँछौँ । यसलाई खुकुलो बनाएर मानिसलाई खुसीसाथ जन्मथलो फर्कने वातावरण बनाउनु पर्छ । जे कुरा गर्दा पनि बन्द गर, जान नदेऊ मात्र भनेको सुनिन्छ, त्यसो हो भने नेपालमा के दियौँ ? भन्ने पनि प्रश्न त उठ्छ ।

पढ्न जाने मान्छेमा शङ्का गर्नुहुँदैन । पढ्न गएका नेपालीलाई विदेशमा सहज छैन । पढ्दै केही गर्छु भनेर आँट बोकेका युवालाई हतोत्साही गर्ने काम राज्यले गर्नु हुँदैन । उत्साहित फर्कन गर्नु पछै । ‘तिमी जुन मुलुकमा गएर पढ्ने हो पढ, तर याद राख यो तिम्रो मुलुक हो, तिम्रो परिवार यहाँ छ, समाज यहाँ छ, तिमीलाई यहाँ स्थान छ’ परामर्श र विश्वासको वातावरण चाहिन्छ ।

सरकारमा हुनेले युवालाई रोक्नुपर्छ भन्ने तर्क सजिलै गरेको पाइन्छ । तर स्थान नदिने, सिर्जना नगर्ने, परिवेश नबनाउने अनि तर्क मात्र गरेर हुन्छ ? शिक्षाले मानिसलाई स्वतन्त्र बनाउँछ, शिक्षाले मान्छेलाई आफ्नाबारे सोच्ने बनाउँछ । जुन मानिसले आफ्नाबारे सोच्छ, उसले समाजबारे सोच्छ । समाजबारे सोच्ने मानिस स्वतः आफ्नो उद्देश्य पूरा गरेसँगै आफ्नो मुलुकमा फर्कन्छन् । तर, त्यसका लागि परिवेश सिर्जना गर्नुपर्छ । अहिले पनि विदेशमा भएका धेरै नेपाली मुलुकमा वातावरण बनाइदिने हो भने फर्कन चाहान्छन् । एउटा चरा सूर्योदयसँगै उड्छ । साँझ फर्केर आफ्ने गुँडमा आउँछ । तर, कोइलीको गुँडमा काग पस्यो भने कोइली आफ्नो गुँडमा कसरी फर्कन्छ ? त्यसकारण परिवेश चाहिन्छ ।

लाहुरे जहिले पनि घर फर्कन्थ्यो । हिजो लाहुरे भनेको नेपालबाट मुलुकबाहिर जाने मानिसको बिम्ब हो । ऊ जहिले पनि घर फर्कन्छ । हिजो लाहुरे रेडियो बोकेर आउँथ्यो, अब लाहुरे घर फर्कन छाड्यो, आजको यथार्थता यही नै हो । लाहुरे घर फर्केको छैन, किनकि हिजो उसको गाउँ थियो, परिवेश थियो, परिवार थियो, संस्कृति थियो, तर अहिले त्यो परिवेश जीवन्त राख्न हामीले सकिरहेका छैनौँ ।

मुख्य कुरा यो परिवेश कसरी सिर्जना गर्ने भन्ने नै हो । यसका लागि दृष्टिकोणमा परिवर्तन आवश्यक छ । अर्थमन्त्री डा. प्रकाश शरण महत नेपालबाट विदेश पढ्न जान रोक्नुपर्छ भन्नुहुन्छ तर, उहाँ नै अमेरिकाबाट पढेर फर्कनु भएको हो । उहाँले त देख्नुभएको छ; अनुभव गर्नुभएको छ । उहाँको परिवार राजनीतिमा थियो, परिवेश घर फर्कनु पर्ने थियो । के उहाँले विश्वविद्यालयमा पढेको विषय नेपालमा उपयोग गर्न पाउनु भयो ? के उहाँलाई जस्तै सबैलाई यति सहज परिवेश उपलब्ध छ त ? अवसर सिर्जना गरिदिनुहोस्, मानिस आफ्नै देशमा फर्कन्छ ।

परिवेश सिर्जना गर्ने सन्दर्भमा सुशासन सबैभन्दा महङ्खवपूर्ण पक्ष हो । प्रतिस्पर्धामा आधारित व्यवस्था हुनुपर्यो । पारदर्शी हुनुपर्यो । कोही मानिसले भनसुनका आधारमा सबै काम गर्न सक्छ; तर कसैले भने सीप छ, पढेको छ, जानेको छ, भने पनि अवसर पाउँदैन । यस्तो अवस्थामा कसरी मानिसले यहाँ बस्ने सपना देख्छ ? यो सबै विषय राजनीति अथवा भनौं शासकीय परिवेशमा निर्भर रहन्छ ।

सङ्कटमोचन

अब नैराष्यलाई चिर्ने समय आएको छ । केही सकारात्मक पहल र सामूहिक चिन्तनको जरुरी छ । सबैतिर सकारात्मक चिन्तनबारे चर्चा गर्न जरुरी छ । समाजको नैराष्य र राज्यमा रहेका विकृति हटाएर मुलुकभित्र स्पेस सिर्जना गर्नासाथ बौद्धिक वर्गलाई मुलुकमा सहजै फर्काउन सकिन्छ ।

हामी लोकतन्त्रको कुरा गर्छौँ तर व्यवहारमा मेरो मान्छे र तेरो मान्छे भनिरहेका हुन्छौँ । व्यवहारमा खुलापनः छैन । यो अवस्थामा मानिस जहाँ गएर पनि कामै गरेर खाने हो, ऊ विदेश नै बस्न खोज्छ । घर छाड्ने वा विस्थापन हुने कुरा निकै कठिन विषय हो । हेर्दा सहज लाग्छ, तर परिवेशले जब बाध्यतामा पार्छ, त्यो बेला निकै कठिन हुन्छ । नेपालमा अहिले भूकम्प गयो, विदेश बसेका आफन्त आत्तिएका छन् । यहाँ जमिन हल्लियो, त्यहा मन हल्लिएको छ । मान्छे जहिले पनि म कहाँबाट आए, कहाँ जाँदैछु भन्नेबारे सचेत रहन्छ । यसमा दुई वटा धारणा छ । एउटा एक पटक घर छाडेपछि पुनः घर छाड्न गाह्रो हुँदैन भनिन्छ । थातथलो छाड्न गाह्रो हुँदैन भनिन्छ । यो नैतिक व्यवहारमा पनि लागु हुन्छ । तपाईँ एक पटक चुक्नुभयो भने पटक पटक चुक्न गाह्रो हुँदैन । एक पटक घर छाडेको मान्छे घुमन्ते हुन्छ । तर, नेपालीको विशेषता यो होइन । हिजो जति टाढा पुगे पनि नेपालीहरु मुलुक फर्किएका हुन् । तर, अब फर्कने हुन कि होइनन्, अनिश्चित छ । अब फर्कने अवस्था सिर्जना गर्नुपर्छ ।

सम्भावित बौद्धिक जमात विदेशिनुबाट मुलुकको अर्थतन्त्रमा नकारात्मक असर गर्छ, यो त छर्लङ्ग भएको विषय हो । तर, अर्थतन्त्रमा विदेश गइरहेको युवाका कारण कस्तो प्रभाव परेको छ भन्नेबारेमा खै त तथ्यांक ? मानिसमा एउटा आङ्काक्षा थियो । अब नेपालमा प्रशस्त मात्रामा पूर्वाधार बन्नेछन् । नयाँ नयाँ सहर र घर बन्नेछन् । विकासले लहर लिनेछ । यसले जनतामा आशा जगाउँछ । मानिस यो हेर्न चाहन्छन् । अब हेरौँ, नेपालमा कति प्लम्बर नेपाली छन् ? कति इलेक्ट्रिसियन नेपाली छन् ? ठुल्ठूला डाक्टर, इन्जिनियर, न्युक्लियर वैज्ञानिकका कुरा छाडौँ, कलेजमा इकोनोमिक्स पढाउने मानिस छ कि छैन ? तथ्यांक खै ? आज पनि काठमाडौँमा प्लम्बरको खोजी गर्दा उडिसाका मानिस आउँछन् । तिनलाई नेपाली नागरिकबाट विस्थापन गराउन किन सकिएन ? हेर्दा देखिरहेको अवस्थाले पोलिरहेको छ, तर, समस्या कहाँ छ, कति गहिरो छ, यसको खोजी गर्न तथ्यांक चाहिन्छ ।

केही समय पहिला श्रमका लागि मात्र विदेशिने नेपाली क्रमशः सिप सिकेर विदेश जान थालेका छन् । यसले अब श्रमसँगै बोद्धिक पलायनको बाटो तय गरेको देखिन्छ । आजको जमानामा श्रम पलायन भनेकै बौद्धिक पलायन हो भन्न सकिन्छ । किनकि अबको काम सीपमा आधारित छ । अब अटोमेसनको जमाना छ । प्रविधिमा अभ्यस्त हुनुपर्ने छ ।

अहिले पढ्ने सिलसिलामा बिदेसिएका कम उमेरका व्यक्ति नफर्कने सक्ने सम्भावनालाई जोड दिने केही कारण छन् । एउटा त उनीहरुको उमेर कम छ, आफ्नो परिवेश आफै बनाउन सक्छन् । दोस्रो उनीहरुमा परिवारको दायित्व कम छ । तेस्रो मुलुकमा ‘यो मुलुकमा केही हुँदैन’ भन्ने भाष्य खडा गराइएको छ । वा अहिलेको नेतृत्वप्रति उनीहरुलाई विश्वास छैन । त्यसकारण उनीहरुले भविष्य देखेका छैनन् । नेपालमा केही हुँदैन भन्ने भाष्यकै कारण पढेलेखेको मान्छे र काम गर्न खोज्ने मानिस विदेश गइरहेको छ ।
पढ्नका लागि भारत जाने होस् वा कामका लागि कतार, कोरिया वा जापान जाने युवा, ऊ एउटा समयपछि नेपाल फर्कन्छ । तर, जो मान्छे क्यानडा वा अस्ट्रेलिया वा युरोप जान्छ, ऊ फर्कन सक्ने सम्भावना कम हुन्छ । त्यसकारण कुन युवा कहाँ जान खोजिरहेको छ र उसको भविष्यको चाहना के हो भन्ने जान्न समेत तथ्यांकको आवश्यकता पर्छ । मेरो मान्छे कहाँ जाँदैछ र किन जाँदैछ भन्ने बुझ्नु राज्यको दायित्व पनि हो । यो मामिलामा राज्य चुकेको हो । नियन्त्रण गर्ने नाममा नो अब्जेक्सन लेटर (एनओसी) गराउँछ, पैसा उठाउँछ, समस्या सिर्जना गर्छ । तर आजसम्म एनओसी नपाएर रोकिएको देखिँदैन । तर, धेरै दुःख दिन्छ । राज्यको काम नियन्त्रण गर्ने होइन, सरलीकरण गर्ने हो । जब राज्यले नागरिकलाई केयर गर्न थाल्छ, तब नागरिकसमेत आफ्नो राज्य खोजी खोजी फर्कन्छ । पलायनको बाटो रोज्दैन ।

अहिले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय वा नीति बनाउन बसेका पढेलेखेका मानिसले आफ्नै परिवेश हेर्नु पर्यो । उहाँहरु अधिकांश विदेशमा पढ्नु भएको हो । आज नेपालमा काम गरिरहनु भएको छ । उहाँहरु फर्कन जुन परिवेशले काम गर्यो, त्यही परिवेश अब आम नागरिकको हकमा समेत सिर्जना गरिदिनु पर्यो । यसको सिर्जना गर्ने भनेको अर्थतन्त्र सबल बनाएर हो र सुशासन कायम गरेर हो । यहाँ पावरवालाले जे गरे पनि हुन्छ, दण्ड हुँदैन भन्ने भाष्य छ । अदालतले एउटी महिलालाई न्याय दिनासाथ मात्रै पनि मानिसमा ठूलो आशा पलाएको अवस्थामा सुशासनले मानिसलाई मुलुकप्रति आस्थावान् बनाउँछ । त्यसकारण अहिलेको सरकारको सबैभन्दा ठूलो असफलता भनेकै नेपालमा केही हुँदैन भनेर बनेको भाष्यलाई चिर्न नसक्नु हो । मिलिजुली खाने, आफ्ना मान्छेले जति गल्ती गर्दा पनि जोगिने परिपाटीका बीच आम नागरिकले यहाँ केही हुँदैन भन्न थालेका हुन् ।

अर्कोतर्फ आज समाज चरम निरासामा छ । मेरो विश्वास थियो, समाज कहिले पनि निरास हुँदैन । समाजलाई नेतृत्वले समेत निरास हुनबाट बचाउँछ भन्ने थियो । तर अब समाजमा नैराष्य बढेको छ । त्यसबाट पनि माथि उठेर सबै उस्तै हुन, जो आए पनि केही हुँदैन भनेर समाज निष्कृय बन्न थालेको छ । यसले न राजनीतिलाई ऊर्जा दिन्छ, न अर्थ व्यवस्थालाई न त सामाजिक परिवेशमलाई नै । कतिपय मानिस अब यी सबै परिवेशबाट टाढा बसेर वास्ता गर्न छाडेका छन् । यसले समाजलाई निष्कृय बनाउँछ जसले गर्दा आम युवालाई घर फिर्तीको परिवेश बनाउनबाट रोक्छ । २०६२÷६३ ताका समाजमा रहेको ऊर्जा अब क्षयीकरण भएको छ । यो गम्भीर अवस्था हो । अब सकारात्मकता समाजमा पनि जरुरी छ ।

नेपाल बौद्धिक पलायन, श्रम पलायन र नैराष्यका बिचमा छ । नैराष्य आफैले पनि मानिसलाई पलायन गराउँछ । मानिस घरभित्र बस्न रुचाउँछ, अरुसँग कुरा गर्न खोज्दैन, बरु आफूमा रहेको नैराष्य चिर्न कसैसँग पनि गुनासो नगरी पलायनको बाटो रोज्छ । त्यसकारण पनि मानिस बाहिर गएको हुनसक्छ । अस्ट्रेलियामा नेपालीको आत्महत्याको दर बढ्दै गएकोप्रति अब गम्भीर बन्नु पर्ने देखिन्छ । नेपालमा बस्ने मानिस पनि निरासामा रहने र विदेश गएको नेपाली पनि निरास र हतास हुने हो भने यो कति गम्भीर परिस्थिति हो !

यसैबीचमा मानिसलाई अझ हतोत्साही बनाउने काम सामाजिक सञ्जालले गरिरहेको छ । व्यक्ति र संस्थाको व्यैयक्तिक गोपनीयता छैन । सामाजिक सञ्जालमा सबै छताछुल्ल भएको छ । कोही कसैसँग लुकेको छैन । यो हुने वित्तिकै अबको दुनियाँमा रत्नाकर ब्याधा वाल्मीकि हुने अवस्था अन्त्य भएको छ किनकि सामाजिक सञ्जालका माध्यमबाट रत्नाकरलाई वाल्मीकि हुने वातावरण नै दिइँदैन र निरन्तर लखेटिन्छ । व्यक्तिको सार्वजनिक र व्यक्तिगत जिन्दगी हुन्छ । सामाजिक उद्देश्यका लागि कसैले बोल्दा व्यक्तिगत जिन्दगीमा आक्रमण गर्न थालिन्छ, त्यसका लागि आज सामाजिक सञ्जाल माध्यम बनेको छ ।

त्यसकारण अब बोल्ने बेला आएको छ । नैराष्यलाई चिर्ने समय आएको छ । केही सकारात्मक पहलको खाँचो छ । सकारात्मक बोल्ने र समाजलाई सूसूचित गर्नेको एकै स्वर हुनुपर्ने बेला आएको छ । सामूहिक चिन्तनको जरुरी छ । विश्वविद्यालय, कलेज, सार्वजनिक फोरम र सञ्चार माध्यममा सकारात्मक चिन्तनबारे चर्चा गर्न समेत जरुरी छ । समाजको नैराष्य र राज्यमा रहेका विकृति हटाएर मुलुकभित्र स्पेस सिर्जना गर्नासाथ बौद्धिक वर्गलाई मुलुकमा सहजै फर्काउन सकिन्छ ।

-सेजन  स्मारिकाबाट साभार

 

(शर्मा अर्थ–राजनीतिक विश्लेषक हुन् )

 

 

comments powered by Disqus

राष्ट्र बैंक र एनआरएनलाई एक साता भित्र घर खाली गरिदिन बालेनको उर्दी, नमाने डोजर चलाउने

Feb 21, 2024 05:17 PM

काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूलाई सात दिन भित्र भौतिक रुपमा सो क्षेत्रबाट हट्न बुधबार सूचना जारी गरेको छ ।