वित्तीय विवरणमा देखिएकाे असर सर्ट टर्म हो, यसलाई रिकभर गरेर हामी अघि बढ्छौः नबिल बैंकका अध्यक्ष उपेन्द्र पाैडेलसँगकाे अन्तरवार्ता (भिडियाेसहित)

Jan 26, 2024 05:04 PM merolagani



दाेश्राे त्रैमासमा वाणिज्य बैंककाे वित्तीय विवरणमा नाफा घटेकाे छ । वाणिज्य बैंककाे वित्तीय विवरणलाई अर्थव्यवस्थाकाे सूचककै रूपमा हेरिने गरेकाे छ ।

किन घट्याे त बैंककाे नाफा ?  तात्कालिक या यसमा दीर्घकालीन कारणले हाे । यिनै प्रश्नहरू लिएर हामी निकै अनुभवी बैंकर उपेन्द्र पाैडेलसमक्ष पुगेका छाै ।

सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौडेलले एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत कुशलतापूर्वक निर्वाह गरेका थिए। एनएमबी बैंककाे प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएपछि नबिल बैंक छिरेका उनी सञ्चालक हुँदै हाल अध्यक्षको जिम्मेवारीमा छन्। हालैमात्र उनी बैंक तथा वित्तीय संस्थाहरूकाे संगठन सिबिफिनका अध्यक्ष बनेका छन् । पाैडललाई मेराे लगानीका उप सम्पादक सुवास निराैला साेध्छन् 

भर्खरै मात्रै दोस्रो त्रैमास समाप्त भयो। दोस्रो त्रैमास समाप्त हुँदै गर्दा बैंक वित्तीय संस्थाले  वित्तीय विवरण सार्वजनिक गरे। जसमा वाणिज्य बैंकको नाफा औसतमा १० प्रतिशत घटेको देखियो। किन घट्यो नाफा ?

हामी के कुरामा युज टु भयौँ भने बैंक वित्तीय संस्थाले धेरै नाफा दिन्छन्। यस अघि बैंक वित्तीय संस्थाले दिँदै आएको प्रतिफलका कारण पनि हामी त्यसमा युज टु हुँदै गएका हौं।

यसका लागि अलिकति पृष्ठभूमि हेराैँ। ८० को दशकमा वाणिज्य बैंकहरु आए। त्यसबेला त्यही स्तरको पूँजी लिएर आएका थिए। त्यसपछि क्रमशः पूँजी पनि बढ्दै गयो। त्यसले लगानीको क्यापसिटी पनि बढाउँदै लग्यो। जति बेला वाणिज्य बैंकहरु आएका थिए, उदाहरणकै लागि भन्नु पर्दा नेपाल इन्डाेस्वेज बैक,स्टयान्डर्ड चार्टर्ड बैक र नबिल बैक जोइन्ट भेन्चरमा आएका थिए। पछि गएर प्राइभेट सेक्टरका बैंकहरु पनि आए। त्यो समयमा एक लेभलमा बिजनेस पनि थियो। अरू किसिमका चुनौतीहरू कम थिए। जस्तै तरलताका समस्याहरू कम थिए। त्यो बाहेक कन्जुमर प्रोटेक्सनका कुराहरूमा त्यति धेरै अवेरनेस थिएन। 

अब हामी हाम्रो रियालिटीमा आउनु पर्छ। याे बेला अर्थतन्त्र चाहिँ राजनीति, नीतिगत अस्थीरता र वल्ड वाइड रिसेसनमा गइरहेको अवस्थामा छ। यी सबै भाेग्दै जाँदा पहिलेका कुरालाई एक्सपेक्ट गरिराख्न हामी सक्दैनौ। 

नेपालको बैकिङ सेक्टरले जहिले पनि च्यालेन्जिङ इन्भाइराेमेन्टमा काम गर्नु पर्‍यो। जस्तै माओवादी द्वन्द्व काल, भूकम्प,नाकाबन्दी,कोभिड, रसा युक्रेन वार।  त्यसको असर अहिले आएर एसेटको क्वालिटीमा देखिइरहेको छ। मुलुकको अर्थतन्त्रको ८० प्रतिशत हिस्सा प्राइभेट सेक्टरले ओगटेको छ। त्यो सेक्टर अहिले अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ। त्यो क्षेत्र चलायमान भइराखेको छैन।

अगाडि देखिका घटना क्रमले जसरी च्याप्दै च्याप्दै ल्याइरहेको थियो। त्यसलाई बैंकिङ सेक्टरले एक लेभलसम्म सस्टेन गर्दै लगेको थियो। तर अहिले प्राइभेट सेक्टर मात्रै नभएर समग्र अर्थतन्त्रसँग जोडिएकाहरूको कन्फिडेन्स लुज भएको अवस्था छ। उपभोक्तादेखि उत्पादकसम्मको कन्फिडेन्स लुज भएको अवस्था छ। यस्तो अवस्थामा बैंक एक्लैले थेग्न सक्ने अवस्था रहेन। जसले गर्दा त्यसको असर अहिले बैंकिङ क्षेत्रमा देखिरहेको छ।

पहिले अरू क्षेत्रमा असर आउँछ। व्यक्तिमा आउँछ, इन्टर प्राइजेजहरुमा आउँछ अनि अलि पछि बैकिङमा आउँछ। अब त्यो बैंकिङमा आउने क्रम सुरु भयो। यति बेला व्यवसाय ठिक ठिकै अवस्थामा रहेको भएपनि अहिले आएर कर्जाको गुणस्तरमा छुन गर्न थालेको छ। जसले गर्दा बैंकले लोन लसको लागि गर्नु पर्ने प्रोभिजनिङ रकम गत वर्षदेखि क्रमशः बढ्दै गइरहेको छ। नबिल बैंककै हकमा पनि त्यस्तो देखिएको छ। तर हामीले के गरेका छैनौ भने भएको एउटा तर देखाउने अर्कै भने गरेका छैनौ। माथि हामीले जति पनि कुरा गर्‍यौ त्यसैको कारणले नाफा घट्यो भन्ने निष्कर्ष निकाल्न सक्छौ।

अहिले माथि भएका कुरा भन्दा फरक हामीले के गर्‍यो भने क्यापिटल रिक्वायरेमेन्ट बढायौ। पहिले ५० करोडका वाणिज्य बैंक थिए। त्यसपछि एक करोड बन्यो भने लगत्तै दुई अर्ब पुग्यो। दुई अर्ब सबैले नपुर्याउदै ८ अर्ब पुर्‍याउनु पर्‍यो। यसले के गर्‍यो भने पूँजी त बढ्यो। तर बढेको पूँजीले सोही अनुसारको नाफा जेनेरेट गर्न सकेन। त्यसका लागि त लगानीका क्षेत्रहरू पनि बढ्दै जानु पर्ने हुन्छ। त्यही अनुसारको क्रेडिट डिमाण्ड पनि हुनु पर्छ। बढेको पूँजी अनुसार सर्भिस गर्न नसक्दा अहिले आएर पहिलेको लेभलमा हामीले रिटर्न दिन सकेका छैनौ।

तर एउटा कुराचाँहि के मान्नु पर्छ भने जुन अहिले हामीले लोन लस प्रोभिजनिङको कुरा गर्छाै वा नन् प्रफमिङ लोनका कुरा आए त्यो अरू आउट साइड कन्ट्रीको तुलनामा निक्कै कम छ। संसारका अरू देशमा यो फिगर देखाउँदा उनीहरू ठिकै छ भन्छन्। त्यसले गर्दा निक्कै भयावह अवस्थामा हामी छैनौ। एक लेभलमा हामीले म्यानेज गरेकै हो। बैंक र बैंकरहरुले यसमा मेहनत गरेकै हुन्। तर त्यो बाहेक हाम्रोमा बरोअरहरुको जुन कल्चर छ। त्यो चाहिँ केही हदसम्म कायमै छ। उनीहरू अहिले पनि ऋण लिएपछि तिर्नु पर्छ नै भन्छन्। तर एक तप्काका बरोअरहरु फाइदा लिनका लागि भनौँ वा साँच्चै समस्यामा परेर हो, उनीहरूले धमिलो पानीमा माछा मार्न खोजेको जस्तो देखिन्छ। जसरी हामी पहिले कन्फिडेन्सका साथ कन्जुमर बिहेबियर असाध्यै राम्रो रहेको भन्दै आइरहेका थियौ। त्यसमा अहिले कहिन कहीँ परिवर्तन आइराखेको छ। मैले त्यो अनुभव गरिरहेको छु। यसले गर्दा पनि पैसा नतिर्ने क्रम बढिरहेको देखि रहेका छौ। त्यसले पनि समस्या पारिरहेको छ। तर यो सर्ट टर्म हो। कुनै न कुनै दिन उहाँहरुले रियलाइज गर्नु  नै हुने छ।

यो प्रश्नको अन्तिममा म के भन्न चाहन्छु भने अहिलेको अवस्थामा नकारात्मक रुपमा सोच्नु पर्ने,निराश हुनु पर्ने कुनै कारण छैन। किन छैन भन्दा हामी आजको दिनमा पनि बैंकिङ सिस्टम बलियो लेबलमा छ। अहिलेको  तर यति भन्दा भन्दै त्यति बेलाको ५०/६० प्रतिशतको रिटर्नको जुन अपेक्षा गरिरहेका छौ। त्यो बेला एक्सट्रा अडिनरी अवस्था थियो। त्यति बेला हनिमुन पिरियड थियो। अहिले हामी रियलस्टिक सिचुएसनमा आएका छौ। त्यसले गर्दा अब १० प्रतिशत भन्दा बढी अपेक्षा गर्नु हुँदैन।

तपाईले यस्तो समयमा समेत नेपालका बैंकहरुको खराव कर्जा निक्कै कम भएको भन्नु भयो। अन्य देशको तुलनामा निक्कै राम्रो रहेको समेत भन्नु भयो। तर यही कुरालाई आइएमएफले विश्वास गर्न सकिरहेको छैन। उसले अहिले पनि अडिटको माग गरिरहेको छ। यसमा तपाई के भन्नु हुन्छ ?

उनीहरूले जुन विश्वास नगरिरहेको कुरा छ नि त्यसको कारण के हो भने उनीहरू त विश्वका धेरै जसो देशलाई हेर्छन्। संसारमा यस्तो अवस्था निक्कै कम देख्छन्। त्यसकारण उनीहरूले विश्वास गर्न नसकेका हुन्। नेपाल हेर्दाचाहिँ अन्डर डेभलप कन्ट्री। फेरि सबैतिर समस्या छ भन्छन्। पहिलेदेखि पोल्टिकल स्ट्याबिलिटी छैन। पोलिसि स्ट्याविलिटी छैन। सधैँ च्यालेन्जिङ इनभारमेन्टमा काम गर्नु परिराखेको छ। यस्तो अवस्थामा उहाँहरुले त्यस्तो सोच्नु न्याचुरल हो।

तर तपाईले पहिलो प्रश्नको उत्तरमा आफैले एसेटको गुणस्तर घट्दै गइरहेको स्वीकार्नु भएको छ। तपाईले अर्को कुरा के पनि भन्नु भयो भने यति बेलासम्म बैंकहरुले एक लेभल सम्म धान्दै आइरहेका थिए। तर सबैतिर कन्फिडेन्स लुज भएको कारण त्यसको अन्तिम असर बैंकमा देखिन थाल्यो। मैले सोझै भन्दा बैंकले एनपिएल मेन्टेन गर्न लुकाउँदै आएको विषय अब विस्फोट हुन लागेको हो ?

विस्फोट नै त नभनौँ तर त्यो विषय बिस्तारै एडजस्ट भइरहेको छ। एकै चोटी भइदिएको भए धेरै ठूलो समस्या पर्थ्यो होला। आइएमएफ कै प्रेडिक्सनको कुराहरूमा त्यही बेला पनि मैले भन्थे कि हाम्रो इकोनमी स्थीर छ। बरोअरहरुको बिहेबियर पोजेटिभ छ।  उनीहरूले अप्ठ्यारो अवस्थामा पनि  लोनहरू तिरिरहेका छन्। त्यसकारण तिमीहरूले चिन्ता गर्नु पर्ने कुरा छैन। तर तपाईले भनेका कुरा पुरै असत्य होइनन्। सर्टएन लेभलमा एभर ग्रिनिङका काम भएका होलान्। तर त्यसको प्रतिशत धेरै कम हुनु पर्छ। हामीले अहिलेसम्म गरेका छैनौ। यो काम गर्नु पनि हुँदैन।

तपाई लामो समय बैंकमा बिताउनु भयो। बैंकले जुन शीर्षकमा ऋण प्रवाह गर्छ। ऋण लिनेले त्यही शीर्षक अन्तर्गत रहेर खर्च गर्छ ? तपाईको अनुभवले के भन्छ ?

गर्दैन। तर मेरो अनुभवमा चाँहि गर्छ। त्यो कुरा गर्ने र गराउनेमा भर पर्छ। जसले मनिटरिङ पार्टलाई गम्भीरतापूर्वक लिएर काम गर्छ। उसले गराउँछ।

मैले तपाईलाई मेरै एउटा अनुभव सुनाउँछु। मैले सुरुवाती दिनमा काम गर्दा एउटा लोनमा समस्या भएको थियो। मैले त्यो बैंक छोडिसकेको थिए। उसलाई हामीले १० लाख रुपैयाँ दिएका थियौ। जस मध्ये दुई लाख ९१ हजार असुल गर्न बाँकी थियो। त्यस बापतको सेक्युरिटी एसेट पनि हामी सित थियो। तर त्यो बिक्री भई राखेको थिएन। तर पछि मलाई त्यहीको साथीले फोन गरेर त्यो ऋण असुल भएको सूचना दियो। यही उदाहरणबाट तपाईले के बुझ्न सक्नु हुन्छ भने नेपालका बैंक कसरी चलेका रहेछन्।

हामीले अहिलेसम्म व्यवस्थित,अनुशासित ढङ्गबाट नै बैंकलाई अघि बढाउँदै लगेका छौ। हामी पछि आएका पुस्तालाई पनि हामीले त्यही वातावरणमा काम गर्न प्रेरित गर्दै आइरहेका छौ।

तर यति भन्दा भन्दै पनि कहीँ बिग्रन सक्छ। कति कुरामा कुन कल्चरबाट आएको हो। त्यसले पनि फरक पार्छ। त्यस्तै कल्चरबाट आएको व्यक्तिले गरेका काममा ट्रान्सपरेन्सी नहुन सक्छ। जुन एभर ग्रिनिङ भएको भन्ने कुरा आएका छन्। त्यो भएको हुन सक्छ। तर त्यो खतराकाे घण्टी बज्ने अवस्थामा छैन, कुनै संस्थामा बज्ने पनि हुन सक्ला। तर ओभरअलमा भन्दा त्यो लेभलको छैन। तर हाम्रो बैकिङ सिस्टम उति बलियो छ कि त्यस्ता किसिमका झड्कालाई हाम्रो बैकिङ सिस्टमले थेग्न सक्छ। 

तपाईको भनाईको आशय के रह्यो भने बैंकले प्रवाह गरेको ऋण जसरी पनि असुल गर्छन् गर्छन्। यहीनेर मैले अर्को प्रश्न जोडेँ इकोनमिक ग्रोथमा बैंकको भूमिका कस्तो हुन्छ ?

समग्र रुपमा भन्नु पर्दा यो नङ र मासुको सम्बन्ध जस्तै नै हुन्छ। बैंकरहरु यस्ता एजेन्ट हुन् उनीहरू बिना ग्रोथ सम्भव छैन। हाम्रो जिडिपीमा प्राइभेट सेक्टरको भूमिका ८० प्रतिशत माथि छ। त्यो प्राइभेट सेक्टरले गर्ने फाइनेन्सिङमा ७० देखि ८० प्रतिशत बैंकको फाइनेन्सिङ हुन्छ। १५ देखि ३० प्रतिशत लगानी मात्रै उहाँहरुको हो। यसले के देखाउँछ भने बैंक जुन डिरेक्सनमा जान्छ, देशको इकोनमी त्यही डिरेक्सनमा जान्छ।

कुनै समय जलविद्युतमा बैंकले लगानी नै गर्दैन थिए। मैले नै कुनै हाइड्रो पावरको प्रेजेन्टेसन सुनेर पनि यसमा लगानी गर्नु हुँदैन भनेर छोडेको थिए। पछि राष्ट्र बैंकले पनि गर्नु पर्छ भन्यो। हाम्रो माइन्ड सेट पनि बदलिँदै गयो। आज हाइड्रो पावर सेक्टरले कति प्रगति गर्‍यो ?  कुनै समय सिमेन्टको पेमेन्ट बैंक ड्राफ्टबाट गर्नुपर्थ्यो। त्यसबेला त्यो पेमेन्ट गर्दा मन कुटुक्क खान्थ्यो। यति धेरै पैसा बाहिर गएकोमा निक्कै चिन्ता हुन्थ्यो। तर अहिले हामीले लगानी गर्न थालेपछि अहिले निर्यात गर्ने अवस्थामा आइपुगेका छौ। यो सबै कसले गरेको भन्दा बैकिङ सिस्टमले नै गरेको छ।

आजका दिनमा नेपालमा जति पनि  ठुला बेजनेश र बिजनेस म्यान भनेर चिन्छौ। ती सबै बैकिङ सिस्टमको सपोर्ट बिना त्यहाँ पुगेका हुन्। मैले एउटा उदाहरण नै दिन्छु। मैले १९८८ मा दुई जना भाइहरूलाई तीन लाख रुपैयाँ धागो कटाइको लागि ऋण दिएको थिए। अहिले उहाँहरु अर्बौँको कारोबार गर्ने हुनु भएको छ।

बनाउने र बिगार्ने दुवै काम बैंकले गर्छ। त्यही भएर आज म के भनिरहेको छु भने  बैंक र बैँकरले अनुशासित ढङ्गले काम गर्नु पर्छ।

बैकले इकोनमीलाई डोर्याउछ। बैंकले जता लगानी बढाउँछन् त्यसै बढ्छ। जति धेरै कर्जा लगानी भयो त्यति नै बढी ग्रोथ हुन्छ। तर नेपालमा २७ प्रतिशत क्रेडिट ग्रोथ हुँदा पनि इकोनमी ग्रोथमा त्यसको प्रभाव देखिएन। मैले सोध्न खोजेको बैंकले कसलाई सपोर्ट गरिरहेको छ। कसलाई ऋण दिईरहेका छन् ?

यसमा अर्को पाटो छ। बैकले जब रियल इकोनमीमा लगानी गर्छ। तब मात्रै त्यसको इम्प्याक्ट इकोनमीमा पर्छ। अगि मैले उदाहरण दिए सिमेन्टमा गरेको लगानी,जलविद्युतमा गरेको लगानी कार्पेटमा गरेको लगानी,यी सबै रियल इकोनमिमा गरिएको लगानी थियो। त्यसको इम्प्यक्ट आउँछ। यता नेपाल राष्ट्र बैंकले यति प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुस् भन्ने निर्देशन नै दिएको छ। ती क्षेत्रमा गरिएको लगानीको प्रतिफल आउँछ। तर जब हामी रियल इकोनमिमा फोकस नगरीकन अरू खालको इकोनमिमा सपोर्ट गर्दै जान्छौ।त्यति बेलासम्म बैंकले गरेको लगानीबाट इकोनमीमा जुन किसिमको इम्प्याक्ट आउनु पर्ने हो त्यो आउन सक्दैन।

भनेपछि बैंकले इकोनमी ग्रोथलाई सपोर्ट गर्ने क्षेत्रलाई प्राथमिकतामा राखेको छैन ?

पहिला तपाई हाम्रो इकोनमिको स्टक्चर हेर्नुस्। हाम्रो आयात र निर्यात मै आकाश जमिनको फरक छ। इन्डष्ट्रिको लागि आएको आयातले त राम्रै इम्प्यक्ट पार्ला तर ट्रेडिङले त त्यो किसिमको इम्प्याक्ट दिँदैन। ट्रेडिङ मै पनि बैंकहरुले एक लेभलमा किन सपोर्ट गर्नुपर्छ भने हामी अहिले सबै कुरामा आत्मनिर्भर छैनौ। त्यो हाम्रो आवश्यकता पनि हो। यति भन्दा भन्दै पनि इस्यु कहाँ छ भने हाम्रो रियल इकोनमिलाई सपोर्ट गर्ने फिसकल पोलिस छन् कि छैनन्। मनिटरि पोलिसिहरु छन् कि छैनन्। त्यो कुरा पनि हेर्नु पर्‍यो। हाम्रो फिसकल पोलिसिमा इस्यु के आइरहेको छ भने पेट्रोलियम पदार्थ आयात गरेर आएको राजस्वबाट हामी बजेटको मेजर कोर्स फुलफिल गर्छौ। 

अब सरकारको लेभलमै रियल इकोनमिलाई फोकस गरेर काम अघि बढाउनु पर्छ। त्यसपछि बैंकको लगानी त्यतातिर गई हाल्छ नि।

अर्को एउटा खतरनाक कुरा मैले के देखिरहेको छु भने हिजो २० लाख रुपैयाँ आना पर्ने जग्गाको मूल्य अहिले दुई करोड पुगेको छ। दुई करोड पुग्नलाई इकोनमिमा के कस्तो चेन्ज भयो त ? त्यो चेन्ज त देखिँदैन।

बैंक र व्यवसायी बिच तिक्तता बढ्दै गइरहेको देखिन्छ। एकथरि व्यवसायी बैंकलाई असाध्यै मन पराउँछन्। अर्काथरि बैंकलाई देख्नै सक्दैनन्। यो किन भएको हो ?

यो कुरा प्रस्ट छ हेर्नुस्। ओभरअल व्यवसायीहरू जो चाहिँ बैंकको फण्डहरु मिस युज गरिरहेका छन्। मिस युज गर्न चाहन्छन्  तिनलाई जब बैंकले कस्छ तब उनीहरू बैंकलाई मन पराउँदैनन्।

राम्रोसँग पैसा चलाउनेले जहिले पनि बैंकलाई मन पराउँछन्। मैले अघि नै भने तीन लाख रुपैयाँ ऋण लिने अहिले अर्बको कारोबार गर्ने हैसियतमा किन पुग्यो भन्दा बैंकको सपोर्टले।

उनीहरू के आरोप लगाउँछन् भने बैकमा उनीहरूकै लगानी छ। जस कारण बैंक उनीहरूको इसारामा चल्छन्।

त्यो कुराचाँही कस्तो भने नाच्न नजान्ने आँगन टेढो भनेको जस्तै हो। आजको दिनमा राष्ट्र बैंकले जस्तो किसिमको सर्कुलर गरिरहेको छ र त्यसलाई हामीले कसरी फलो गरिरहेका छौ भन्ने कुरा धेरैले बुझेको जस्तो लाग्दैन। त्यसरी मिस युज गर्न कसैले पनि सक्दैन। आज मेरो बैंकको कुनै पनि संस्थापकलाई दुई पैसा पनि लोन दिएको भेट्नु हुन्छ भने, यो बैंक भोलि नै बन्द गरिदिन्छु।

राष्ट्र बैंककै नियम अनुसार आफ्ना संस्थापकलाई ऋण दिनै पाइँदैन। तर उनीहरू के भन्छन् भने एक आपसमा मिल्नेएउटाले अर्को बैंकबाट चलाउने सहमति हुन्छ ।

त्यसको के मतलब भयो भने अर्को बैंकले दिँदै छ भने त्यो रिस्क उसको भयो। फेरि त्यो बैंकले यसको प्रोजेक्टमा रिस्क देख्दा देख्दै कसरी ऋण दिन्छ ? दिँदै दिँदैन नि। दुईचार वटा अपवादका कुरा हुन सक्छन्। हाम्रो नेपालमा के छ भने अपवादका कुरालाई रिफ्रेन्स लिएर जनरलाईज गरिदिने प्रचलन छ। अपवादका कुरालाई जनरलाईज गरिदिनु हुँदैन।

यहाँ नलेखिएका केही प्रश्न र त्यसका उत्तर सुन्न तलको भिडियोमा हेर्न नबिर्सनुहोला 

              




comments powered by Disqus