ब्रोकरले आफ्नै लागि गर्ने शेयर किन/बेचलाई “लिगल” बनाउने नेप्सेको तयारी, कत्तिको ठिक ?

Apr 18, 2025 11:06 AM merolagani



सुवास निरौला

शेयर बजारमा शेयर किनबेच गर्न ब्रोकर कम्पनीले मध्यस्थता गर्नुपर्छ। ब्रोकर कम्पनीको मध्यस्थकर्ताको भूमिका बिना शेयर कारोबार गर्न सकिन्न। हाल लगानीकर्ताले अनलाइनबाटै शेयर कारोबार गर्ने गरेका भए पनि उनीहरूको मध्यस्थकर्ताको भूमिका ब्रोकर नै हुने गर्छन्।

लगानीकर्ताको शेयर किनबेचमा ब्रोकर कम्पनीको मध्यस्थकर्ताको भूमिका अनिवार्य भए पनि ब्रोकर कम्पनी आफैले आफ्नो लागि भने शेयर कारोबार गर्न पाउँदैनन्। तर दोस्रो बजारमा हुने कारोबारमा ४० प्रतिशत कारोबार ब्रोकर कम्पनी र उसका कर्मचारीको नै हुने गरेको छ।

एक पुराना ब्रोकर कम्पनीका सञ्चालकका अनुसार ब्रोकर कम्पनीले ४० प्रतिशत भन्दा बढी कारोबार गर्ने भए पनि यो कारोबारले कानुनी वैधता पाउँदैन। किनकि ब्रोकर कम्पनीले आफ्नै टिएमएस प्रयोग गरेर आफ्नो र आफ्नामा काम गर्ने कर्मचारीको नाममा शेयर किन्न पाउँदैनन्। धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली,२०६४ ले उक्त कार्यलाई बन्देज गरेको छ। नियमावलीको नियम २७ मा धितोपत्र दलाल र धितोपत्र व्यापारीले गर्न सक्ने काम सम्बन्धी व्यवस्था छ। उक्त व्यवस्थाको उपनियममा “यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि धितोपत्र दलालले आफ्नो शेयर धनी,कार्यकारी प्रमुख,कर्मचारी र निजहरूको एकाघर परिवारको सदस्यका लागि धितोपत्रको दलाली सेवा उपलब्ध गराउन सक्ने छैन” भनिएको छ। जसले गर्दा उनीहरूले शेयर किन्न बेच्न नपाएका हुन्।  

नियमले आफैले आफ्नो लागि किनबेचमा प्रतिबन्ध लगाएको भए पनि शेयर नै किनबेच गर्न नपाउने गरी कतै किटान गरेको छैन। सोही कारण ब्रोकर कम्पनीले आफ्नो लागि आफैले शेयर किनबेच गर्दैनन्। तर उनीहरूले शेयर किनबेच गर्नु परे अर्को ब्रोकर कम्पनी मार्फत गर्ने गर्छन्। जुन कारोबारको जानकारी बजार सञ्चालक नेप्सेलाई दिनु पर्ने नियम छ। सोही नियम अनुसार ब्रोकर कम्पनीले शेयर किनबेच गर्ने गर्छन्।

तर गएको धेरै वर्ष यता कुनै पनि ब्रोकर कम्पनीले शेयर किनबेच गर्दै गरेको जानकारी नेप्सेलाई दिएका छैनन्। यस आधारमा गएको धेरै वर्षदेखि कुनै पनि ब्रोकर कम्पनीले शेयर किनबेच गरेका छैनन् भन्न सकिन्छ। तर ब्रोकर कम्पनीले आफ्नो लागि शेयर किनबेच गर्न छाडेका छैनन्। बरु उनीहरूले त्यस्तो कारोबारको जानकारी भने नेप्सेलाई दिन छाडेका हुन्। नियममा जानकारी दिनु पर्ने भएपनि नेप्सेले सूचना दिए नदिएको चासो राख्न छाडेको छ। उता नेप्सेले नै चासो राख्न छाडेपछि यता ब्रोकरले पनि जानकारी दिन छाडेका हुन्।

यसरी ब्रोकर कम्पनीले शेयर किन/बेच गर्ने भएपनि उनीहरूले जानकारी नदिनु र नेप्सेले पनि चासो नराखेको विषयलाई भने नेप्सेमा आएका नयाँ प्रमुख कार्यकारी अधिकृतले गम्भीरता पूर्वक लिएका छन्। यसरी आफूखुसी शेयर बिन/बेच हुनु भन्दा त्यसलाई कानुनी दायरमा ल्याउने योजनामा नयाँ प्रमुख कार्यकारी अधिकृत छन्। “ ब्रोकर कम्पनीले शेयर किनबेच गर्ने गरेको कतैबाट छिपेको विषय होइन। त्यसकारण यसलाई कानून बनाएर नै दिने भन्ने योजनामा नव नियुक्त सिइओले कुरा अघि बढाउन लाग्नु भएको छ। अब प्रोप्राइटरि ट्रेडिङलाई चाँडै लिगलाइज गरिने छ ” नेप्से उच्च स्रोतले मेरो लगानीसँग भन्यो।

त्यसको लागि केही प्राविधिक परिवर्तनहरू गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिले खरिद आदेश आम सर्वसाधारणको हुने र त्यस पछि मात्रै ब्रोकरको आदेश दाखिला गर्न मिल्ने जस्ता अन्तर्राष्ट्रिय प्रोप्राइटरी ट्रेडिङ नियम छन्। जुन नियम अनुसार प्राविधिक परिवर्तन गर्नु पर्ने हुन्छ। त्यस्ता परिवर्तन पछि ब्रोकर कम्पनीले शेयर किन्न अर्को ब्रोकर कम्पनीको टिएमएस चलाउनु पर्ने छैन। आफ्नै टिएमएसबाट उनीहरूले शेयर किनबेच गर्न सक्ने छन्।  

पछिल्लो समय अनलाइनको विकास भएसँगै ब्रोकर कम्पनीलाई समेत शेयर किनबेच गर्न सहज बनाएको छ। अर्को ब्रोकर कम्पनीको टिएमएस प्रयोग गर्दै ब्रोकर कम्पनीले आफ्नै कार्यालयबाट शेयर किनबेच गर्ने गर्छन्। जसले गर्दा ब्रोकर कम्पनीले आफ्नै लागि शेयर किन्न नपाउने प्रतिबन्धको अहिले कुनै उपदेयता छैन। तत्कालीन अवस्थालाई मध्यनजर गर्दै बनाइएको उक्त नियमको उपदेयता अनलाइन कारोबार आएसँगै समाप्त भइसकेको छ। यसको उपदेयता मात्रै समाप्त भएको छैन दिन प्रतिदिन ब्रोकर कम्पनीहरूको आफ्नै कारोबार समेत बढ्दै गइरहेको छ।

ब्रोकर कम्पनीले बैंक वित्तीय संस्थासँग लिएको मार्जिन सुविधासँगै राफसाफको लागि क्लियरिङ बैंकले उपलब्ध गराउँदै आएको पाँच करोड भन्दा बढीको राफसाफ ओडी समेत ब्रोकर कम्पनीको शेयर किन्ने मुख्य स्रोत हुने गरेको छ। जुन स्रोतले ब्रोकर कम्पनीले निर्बाध शेयर कारोबार गर्ने गर्छन्। जुन कारोबार नियामक दायरा भन्दा बाहिर रहनु भन्दा नियम भित्र भए त्यसले बजारलाई थप पारदर्शी बनाउने भन्दै उनीहरूलाई शेयर किन/बेच गर्न दिन लागिएको बताइएको छ।  

छिमेकी राष्ट्र भारत मै पनि ब्रोकर कम्पनीलाई कारोबार गर्न दिने प्रचलन छ।