शुक्रबार उद्घाटन हुने ६ लेनको सडक निर्माणको जस लिन एमाले, माओवादीबीच होड, अन्योलमा मेयर दाहाल

Apr 17, 2025 06:21 PM mero lagani



पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–हेटौंडा खण्डभित्र पर्ने भरतपुरको गोन्द्राङ्देखि पुल्चोकसम्मको ६ किलोमिटर सडक यतिखेर चर्चामा छ ।

निर्माण सम्पन्न भएर प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उदघाटन गर्न लागेको उक्त सडक भव्यताको कारण जति चर्चामा छ, त्यो भन्दा धेरै चर्चामा छ —सडक निर्माणको जस लिन एमाले र माओवादीबीच भैरहेको हानथाप ।

सुरुमा एक अर्ब १२ करोड रुपैयाँमा काम सक्ने गरी सडक विस्तारको सम्झौता भए पनि लागत बढेर एक अर्ब ७६ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको छ । अहिले सडक निर्माणको काम ट्राफिक लाइट जडान बाहेक सम्पन्न भएको छ ।

संयोग के छ ओलीले प्रधानमन्त्रीको अघिल्लो कार्याकालमा २०७७ माघ १७ मा सडक विस्तारको शिलान्यास गरेका थिए । संयोगवस बीचमा ३,४ पटक सरकार परिवर्तन हुंदासमेत प्रधानमन्त्रीको हैसियतमा उनले नै सडक उद्घाटन गर्दैछन् ।

२८ महिनाभित्र काम सक्ने गरी २०७७ असोज २६ मा ठेक्का सम्झौता भए पनि कोभिड माहामारी, निर्माण सामग्रीको अभाव, सरकारले बजेट निकासमा गरेको ढिलाइ, खानेपानीको पाइप लाइन तथा नारायणगढ बजार क्षेत्र तथा भरतपुर विमानस्थल अगाडिका घर टहरा भत्काउन भएको समस्याले गर्दा समयमा नै काम सम्पन्न गर्न नसकिएको निर्माण कम्पनी सगुन कन्स्ट्रक्सन प्रालिले जनाएको छ ।

यस्तो बनेको छ सडक

 

यसअघि दुई लेन मात्रै रहेको सडकलाई विस्तार गरेर बीचमा चार लेन र दुवै साइडतर्फ थप १/१ सर्भिस लेन बनाइएको छ । सडक विस्तारसँगै दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड गरिएको छ ।

सडकको दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्रे, त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ । सर्भिस लेनबाहिर दुवैतर्फ तीनदेखि चार मिटरको फुटपाथ बनाइएको छ । मेडियनमा दुबो र आर्कषक फूलका बिरुवा रोपिएको छ । सडकमा ट्राफिक चिह्न राख्ने, जेब्रा क्रसलगायत लाइनिङका काम गरिएको छ ।

सडक निर्माण भएसँगै यसको जस लिन चितवनमा नेकपा एमाले र नेकपा माओवादी होडबाजी गरिरहेका छन् । दुबै दलका जिल्लाका नेता कार्यकर्ताहरु सामाजिक सञ्जालमा सडक आफ्नो पार्टीले बनाएको भन्दै प्रचार गरिरहेका छन् ।

माओवादी केन्द्रले उक्त सडकको पहलकर्ता भरतपुर महानगर प्रमुख रेनु दाहाल भएको बताउंदै जसको सम्पूर्ण भागिदार दाहाल भएको दावी गरिरहेको छ । संघीय सरकारको बजेटमा सडक बनेको भए पनि व्यवहारिक रुपमा त्यसको पहल रेनु दाहाल मार्फत भएको उनको भनाइ छ ।

उता, नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलेको कार्यकालमा देशका जिल्लाका सदरमुकामहरु व्यवस्थित गर्ने योजनाअनुरुप भरतपुरमा ६ लेनको सडक बनेको बताइरहेको छ । एमालेले तत्कालीन ओली नेतृत्वको सरकारले अघि बढाएको बताउँदै उनले नारायणगढ बुटवल सडक खण्ड जस्तै पुल्चोक गोन्द्राङ् सडकखण्ड पनि राष्ट्रिय परियोजना भएकाले यसमा भरतपुर महानगरपालिका र रेनु दाहाल कतै पनि नजोडिने दावी गरिरहेको छ ।

दाहालले के गर्लिन् ?

नेकपा भित्रको विवाद उत्कर्षमा रहेको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सडक शिलान्यास गर्न आउँदा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उक्त कार्यक्रमलाई बहिष्कार गरेकी थिइन् ।  अहिले पनि एमाले र माओवादीबीच सुमधुर सम्वन्ध छैन । यस्तो अवस्थामा सुक्रबार हुने उद्घाटन कार्यक्रममा उनी उपस्थित होलिन् कि नहोलिन् ? सरोकारवाला सबैको मनमा चासो उत्पन्न भएको छ । कार्यक्रममा सम्वोधनको लागि दाहाललाई पत्र पठाइएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।   ‘नगए उक्त सडक निर्माणको जस लिन नपाइने डर, जाँदा आफ्नै पिता तथा माओवादी अध्यक्ष र आफूलाई समेत ओलीले गाली गर्ने डर, त्यसैले उहाँ अन्योलमा हुनुहुन्छ’ मेयर दाहाल निकट स्रोतले भन्यो ।

 




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।