गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा अर्थविद् विश्व पौडेल र पूर्व गभर्नर विजयनाथ भट्टराई सम्मिलित गभर्नर सिफारिस समिति गठन भएको थियो। समितिमा पूर्व गभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा पौडेल सदस्य थिए।
समिति बनेको लामो समय बितिसक्दा पनि एउटा पनि बैठक नबसेको तथा समितिको भूमिकालाई अवमूल्यन गरेको जनाउँदै पूर्व गभर्नर भट्टराईले राजीनामा दिएका हुन ।
राष्ट्र बैंक ऐनअनुसार गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त हुनुपर्ने व्यवस्था छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिएको हो।
गत चैत्र ११ गते गभर्नर सिफारिस समिति गठन भएर १७ गते मात्रै सदस्यहरुले पत्र बुझेका थिए । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेबीच कसलाई गभर्नर बनाउने भन्ने विषय टुंगोमा नपुग्दा समितिको बैठक बस्नेको नसकेको बताइएको छ ।
नयाँ गभर्नर नियुक्तिमा ढिलाइ भएपछि अर्थमन्त्री पौडेलले डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनालाई कार्यवाहक (कामु) गभर्नरको जिम्मेवारी दिएका छन् ।