नव नियुक्त शिक्षामन्त्री पन्तले आन्दोलनरत शिक्षकसँग वार्ता गर्न सक्लान ?

Apr 24, 2025 05:32 PM Merolagani



नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार मन्त्री पन्तलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका थिए । एमालेबाटै शिक्षामन्त्री बनेकी विद्या भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको असहयोग र उपेक्षाका कारण सोमबार राजीनामा दिएपछि उक्त पदमा पन्तलाई ल्याइएकाे हाे ।

यता विद्यालय शिक्षा विधेयकको माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । तीन साता यता शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा बिरोध जारी राखेका हुन् ।

उनीहरुले विद्यालय शिक्षा विधेयक जारी नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै आएका छन् । सरकारले वैशाख १२ गते बजेट अधिवेशन बोलाएको छ । शिक्षकका मागहरु बजेट अधिवेशनबाट विद्यालय शिक्षा विधेयक ल्याएर पूरा गर्ने आश्वानस दिएपनि जारी नगरेसम्म आन्दोलन नरोक्ने शिक्षकहरुको अडान छ ।

शिक्षकहरुको आन्दोलका कारण वैशाख ११ गतेबाट शुरु हुने भनिएको कक्षा १२ को परीक्षा पनि स्थगित भएको छ । सरकारले वैशाख महिनाभित्र शिक्षकहरुको माग पूरा गर्ने विद्यालय शिक्षा विधेयक पनि पारित गर्ने आश्वासन दिएको छ । तर शिक्षकहरु सरकारको आश्वासनप्रति विश्वस्त हुन सकिरहेका छैनन् । यस्ताे बेलामा शिक्षा मन्त्रीकाे जिम्मेवारी पन्तले सम्हालेका छन् । उनले आन्दोलनरत शिक्षकसँग वार्ता गर्न सक्लान ?