टिपरको ठक्करबाट मोटरसाइकल चालकको र जिपको ठक्कबाट स्कुटर चालकको मृत्यु

Apr 25, 2025 05:26 PM Merolagani



 सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । टिपरको ठक्करबाट आज सुनसरी दुहबी–९ का ४० वर्षीय महमद हमिद मियाँको घटनास्थलमै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।

विराटनगर विराटचोक सडकखण्डअन्तर्गत हरैँचा बजारमा ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई बिहान ११ बजेतिर ठक्कर दिएको थियो । विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको टिपरले सोही दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनालगत्तै भेला भएका स्थानीयले विराटनगर विराटचोक सडकखण्ड अवरूद्ध बनाएर प्रदर्शन गरेका थिए । भिडले शवलाई सडकबाट उठाउन नदिएर घटनास्थलमा प्रदर्शन तथा सडक जाम गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास तथा हवाइफायर गर्नुपरेको कोशी प्रदेशका प्रहरी प्रवक्ता दाहालले उल्लेख गरे ।

हातमा भाला र लाट्ठीसहित प्रदर्शनमा उत्रिएका स्थानीयले आगजनीको प्रयास गर्दा टिपरमा क्षति पुगेको छ । घटनास्थलमा ठूलो सङ्ख्यामा नेपाल र सशस्त्र तथा ट्राफिक प्रहरी परिचालन गरिएको थियो । ट्राफिक प्रहरीले उक्त सडक खण्ड हुँदै चल्ने सवारीसाधनलाई ‘डाइभर्ट’ गरेका थिए । सडकमै शव राखेर प्रदर्शनमा उत्रिएको भिड तथा अफन्तले टिपरको तीव्र गतिका कारण दुर्घटना भएको उल्लेख गरेका छन् ।

दुर्घटनापछि प्रहरी र आफन्तबीच सहमति गरेर शव उठाइएको छ । मृतकका आफन्त र स्थानीयले भने टिपरले ब्याक गरेर किचेर मारेको बताएका छन् । आफन्तले टिपरमा आगजनी गर्न खोजेपछि केही समय स्थिति तनावपूर्ण बनेको थियो । टिपर चालकलाई नियन्त्रणमा लिइसकेको र घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ । 

यसैगरी, चितवनमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ५२ वर्षीया लक्ष्मी वाग्ले रहेकी छिन् ।

गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५च २६४४ नंको जिपले ना ४५प १७९५ नंको स्कुटरलाई आज ठक्कर दिँदा स्कुटर चालक वाग्लेको मृत्यु भएको हो । घाइते वाग्लेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।