तर अर्काथरी संस्थापक शेयरको कारोबार गर्न विभिन्न प्रक्रिया पुर्याउनु पर्छ।
HEIP, NIMBP र HIDCLP कसरी निर्बाध कारोबार हुन पाएनन् भन्ने जान्नु अघि तीन संस्थापक शेयर बाहेक अरू कम्पनी जस्तै बैंक वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीको संस्थापकले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्दा अपनाउनु प्रक्रिया बुझ्नु पर्ने हुन्छ। HEIP, NIMBP र HIDCLP बाहेक अरू संस्थापक शेयर बिक्री गर्नु पर्यो भने सबैभन्दा पहिले आफूले बिक्री गर्न लागेको संस्थापक शेयर जुन कम्पनीको हो। सोही कम्पनीमा शेयर बिक्री गर्ने इच्छा सहितको निवेदन सञ्चालक समितिमा दिनु पर्छ।
उक्त कम्पनीको सञ्चालक समिति बैठकले उक्त निवेदन उपर जाँचबुझ गरी बिक्री गर्न दिने निर्णय गर्छ। सञ्चालक समितिले बिक्री गर्ने निर्णय त गरिदिन्छ। तर उसले उक्त शेयर किन्ने सबैभन्दा पहिलो अधिकार सोही कम्पनीका शेयरधनीलाई दिने गर्छ। जसअनुसार बिक्रीकर्ताले आफूले उक्त कम्पनीको शेयर बिक्री गर्न चाहेको र सोही कम्पनीको कोही शेयरधनी इच्छुक भए सम्पर्क गर्न भन्दै ३५ दिने सार्वजनिक सूचना निकाल्नु पर्छ। उक्त अवधिमा सोही कम्पनीको शेयरधनीले किन्ने भए उसैलाई बिक्री गर्नु पर्छ। तर उक्त कम्पनीको कोही पनि शेयरधनी ३५ दिने सूचना निकाल्दा पनि किन्न नआए थप १५ दिन उक्त सूचना जारी गर्नु पर्छ। तर दोस्रो पल्ट सूचना निकाल्दा पनि कोही नआएमा सर्वसाधारणले पनि आवेदन गर्न सक्ने गरी लिलामी आह्वान गरिन्छ। उक्त लिलामीमा शेयर किन्ने र बेच्ने दुवै राजी हुने स्थित बने मात्रै शेयर किनबेच प्रक्रिया अघि बढ्छ। शेयर किन्ने र बेच्ने राजी भएपछि नेपाल स्टक एक्सचेन्ज मार्फत उक्त शेयर किनबेच गराइन्छ।
तर यहाँ बुझ्नु पर्ने कुरा के हुन्छ भने जब नेप्सेमा शेयर किनबेच गर्ने बेला आउँछ त्यसबेला किन्ने र बिक्री गर्नेको टिएमएसमा संस्थापक शेयर किन/बेच गर्ने अप्सन ब्रोकर कम्पनी खोलिदिन्छन्। त्यस पछि मात्रै शेयर किनबेच हुन्छ।
यदि कुनै पनि लगानीकर्ताको टिएमएसमा संस्थापक शेयर कारोबार गर्ने अनुमति ब्रोकर कम्पनीले दिएका छैनन् भने कुनै पनि संस्थापक शेयर किन/बेच गर्न सकिँदैन। हो यही नेर HEIP, NIMBP र HIDCLP शेयर कारोबारमा समस्या हुने गरेको हो। ब्रोकरले संस्थापक शेयर किन्ने अनुमति टिएमएसमा उपलब्ध गराएपछि भने सबै कम्पनीको संस्थापक शेयर किन/बेच गर्न सकिन्छ।
समस्या यही हुने गरेको छ। सामान्य लगानीकर्ताले ब्रोकर कम्पनीमा HEIP, NIMBP वा HIDCLP किन्छु भनेर उक्त अप्सन खोलिदिन अनुरोध गर्छन्। तर कारोबार गर्ने बेलामा भने ती तीन बाहेकको संस्थापक शेयरमा पनि अर्डर बसिदिन्छन्। उता नेप्सेको टिएमएसले माथि उल्लेखित संस्थापक शेयर किन्ने अनुमति समेत साधारण लगानीकर्तालाई दिन्छ। जसले कारोबार बिग्रिन पुग्छ। जसले गर्दा त्यो कारोबार रद्द नै गर्नु पर्ने हुन्छ।
माथि उल्लेखित ३५ दिने प्रक्रिया पुरा नगरी उक्त संस्थापक शेयर साधारण लगानीकर्ताले किन्न पाउँदैन। यसरी लगानीकर्ताले संस्थापक शेयर कारोबार नै रद्द गर्नु पर्ने अवस्था सिर्जना गरिदिएका कारण ब्रोकर कम्पनीले साधारण शेयर कारोबारीको संस्थापक शेयर किन/बेच गर्न पाउने टिइएमएसको फिचर बन्द गरेर राखिदिने गर्छन्। जसले गर्दा HEIP, NIMBP र HIDCLP को शेयर किन्न चाहनेले पनि आफूले भनेको बेलामा खरिद आदेश राख्न सक्दैन। उसले आदेश राख्न ब्रोकर नै गुहार्नु पर्ने हुन्छ। ब्रोकरले पनि तीन तीन बाहेक अरूको संस्थापक शेयरमा खरिद आदेश राख्दिन भन्ने प्रण गरेपछि मात्रै उक्त फिचर खोलिदिने गर्छन्।
HEIP, NIMBP र HIDCLPको शेयर किन/बेच गर्न हरेक पटक ब्रोकर कम्पनीको अनुमति लिनु पर्ने भएकोले उक्त कम्पनीको शेयर निर्बाध कारोबार हुन पाउँदैन। जसले गर्दा कम्पनीको फेयर भ्यालु निस्कन सकिरहेको छैन। नेप्सेले ती तीन कम्पनीको संस्थापक शेयर अरू साधारण शेयर जस्तै गरी कारोबार गर्न मिल्ने नबनाइदिएको कारण अहिले पनि नियमित संस्थापक शेयर कारोबारमा अवरोध देखिदै आएको छ।
जबकि ती तीन कम्पनीको संस्थापक र अरू कम्पनीको संस्थापकलाई नेप्सेको सिस्टमले एकै देख्ने भनेकोले यस्तो समस्या आइरहेको हो। जसलाई तत्काल प्राविधिक परिवर्तन गरेर नेप्सेको टिएमएसले HEIP, NIMBP र HIDCLP र अरू संस्थापकलाई फरक तरिकाले चिन्ने बनाउनु आजको चरम आवश्यकता हो। तर नेप्सेले यति सामान्य परिवर्तन पनि अहिलेसम्म गरेको छैन। जसलाई तुरुन्तै परिवर्तन गर्नु पर्ने आम सर्वसाधारण लगानीकर्ताको माग छ। जुन परिवर्तनले HEIP, NIMBP र HIDCLP को कारोबारमा भइरहेको अवरोध समाप्त पार्ने छ।