नयाँ लघु बीमा कम्पनीहरु एनएमआईसी र क्रेस्टको मूल्य कतिसम्म पुग्ला ?

May 07, 2025 06:00 AM MeroLagani



बाबुकृष्ण महर्जन

पछिल्लो समय शेयर बजारमा भर्खरै आईपीओ निष्काशन गरेर सूचीकृत भएका कम्पनीहरुले राम्रो मूल्य पाउन थालेका छन् । नेपाल बीमा प्राधिकरणले ७ वटा कम्पनीलाई लघु बीमाको कारोबार गर्न अनुमति दिएकोमा अहिले तीन वटा कम्पनीको आईपीओ निष्काशन भएर दोस्रो बजारमा कारोबार भइरहेको छ ।

अहिले नेप्सेमा गार्डियन माइक्रो लाइफ इन्स्यारेन्स (GMLI), नेपाल माइक्रो इन्स्योरेन्स (NMIC) र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स (CREST) गरी तीन वटा कम्पनीको कारोबार भइरहेको छ । तीन मध्ये दुई महिना अगाडि नै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको कारोबार शुरु भएको हो भने करिब तीन हप्ता अगाडिबाट नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको कारोबार हुन थालेको हो ।

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये लघु बीमा कम्पनीहरु लगानीकर्ताको लागि नयाँ क्षेत्रको कम्पनी हो । लगानीकर्ताहरुले त्यही क्षेत्रका अन्य कम्पनीहरुलाई तुलना गरेर लगानी गर्ने गर्दछन तर गार्डियन माइक्रा लाइफ नेप्सेमा सूचीकृत हुने पहिलो कम्पनी हुँदा यसको तुलनात्मक अध्ययन गर्ने कुनै अर्को कम्पनी थिएन । नेप्सेमा पछिल्लो समय तुलनात्मक रुपमा ‘लो शेयर सप्लाई’ भएका कम्पनीहरुको शेयर मूल्य उच्च हुने गरेको छ । सबै लघु बीमा कम्पनीको चुक्ता पुँजी ७५ करोड हुने प्रावधान अनुसार त्यसको ३० प्रतिशतले हुन आउने साढे २२ करोड रुपैयाँ बराबरको साढे २२ लाख कित्ता मात्रै सर्वसाधारणमा आईपीओ जारी भएको थियो ।

धितोपत्र बोर्डले सबैलाई १० कित्ता शेयर बाँड्ने नीति अनुसार गोलाप्रथाले शेयर बाँड्दा करिब २ लाख २५ हजार जना लगानीकर्ताले मात्रै शेयरस पाउने स्थिति छ । धेरै लगानीकर्तासँगै थोरै शेयर हुने र शेयर संख्या पनि कम हुँदा पछिल्ल्लो समय १८–२० लाख कित्ता मात्रै आईपीओ निष्काशन गरेका कम्पनीको शेयर उच्च मूल्यमा कारोबार हुने गरेको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर पनि २७ सय ७८ रुपैयाँसम्मको उच्च मूल्यमा कारोबार भयो । गार्डियनको सवालमा २ हजारको हाराहारीमा शेयर मूल्य पुगेपछि बजारमा आम लगानीकर्ताले शेयर किन्न पाएका थिए ।

मंगलबार गार्डियनको शेयर २३ सय १६ रुपैयाँ ३० पैसामा बन्द भयो । गार्डियन लाइफलाई हेरेर नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको शेयर मूल्य पनि २ हजार भन्दा माथि नै पुग्ने प्रक्षेपण लगानीकर्ताहरुले गर्दै गर्दा अहिलेसम्म पनि दैनिक २ हजारभन्दा कम नै कारोबार भइरहेका छन् । मंगलबार नेपाल माइक्रो इन्स्योरेन्सको १९ औ पटक अप्पर सर्किट लागेर १८४६.५० रुपैयाँ र क्रेस्टको १७ औं पटक अप्पर सर्किट लागेर १५२६.५० रुपैयाँमा अन्तिम कारोबार भयो । नेपाल माइक्रो इन्स्योरेन्सको १९ औं कारोबार दिनसम्म आइपुग्दा जम्मा १२ हजार ४ सय २७ कित्ता मात्रै कारोबार भएको छ भने क्रेस्टको १७ कारोबार दिनसम्म आइपुग्दा जम्मा ८ हजार ८ सय १० कित्ता मात्रै शेयर कारोबार भएको छ । थोरै कित्ता मात्रै शेयर कारोबार हुँदा यी कम्पनीका लगानीकर्ता अझै शेयर बेच्न अनिच्छुक रहेको देखाउँछ ।

नयाँ कम्पनी हुँदा कुन विन्दुबाट बजारमा लगानीकर्ताले शेयर बेच्न थाल्छन् भन्ने यकिन नभए पनि नेपाल माइक्रो र क्रेस्टको शेयर मूल्य गार्डियनको हाराहारीमा पुगेपछि लगानीकर्ताहरुले शेयर बेच्न थालेको आँंकलन जानकारहरुले गरेका छन् । ‘क्रेस्ट र नेपाल माइक्रोका लगानीकर्तालाई तुलना गर्नको लागि केही महिना अगाडि सुचीकृत भएको गार्डियन माइक्रो लाइफ मात्रै छ । गार्डियनको मूल्य २३ सयदेखि २५ सयको बीचमा अडिरहेको छ । अहिले शेयर बिक्री गर्ने अधिकांश आइपीओमा शेयर पारेका लगानीकर्ता मात्रै हुन । तिनीहरुलाई अहिलेको जुनसुकै मूल्यमा बेचे पनि फाइदा भए पनि सबैले उच्च मूल्यमै बेच्ने चाहना राख्छन । गार्डियनलाई हेरेर धेरैले २ हजार माथि नै बेच्न खोजेकाले शेयरको खासै सप्लाई नआएको हो ।’–शेयर बजारबारे जानकारी एक लगानीकर्ताले मेरो लगानीलाई भने ।

तथ्यांक हेर्दा गार्डियन लाइफ इन्स्योरेन्सको छैठौं कारोबार दिनमै १ हजार कित्ताभन्दा बढीको कारोबार भइसकेको थियो भने १३ औं कारोबार दिनमा पुग्दा ३२ हजारभन्दा बढी कित्ताको कारोबार भएको थियो । १९ औं कारोबो दिनसम्म पुग्दा त दैनिक साढे २ लाख कित्ताभन्दा बढीको कारोबार भइसकेको थियो । गार्डियनको सवालमा एउटै ब्रोकर कम्पनीबाट धेरै शेयर होल्ड भएको देखिन्थ्यो । मेरो लगानीको डाटा एनालाइटिक्सका अनुसार गार्डियन माइक्रो लाइफ १९ औं कारोबार दिनसम्म आउँदा ५५ नम्बर ब्रोकरले २ लाख ४७ हजार कित्ता होल्ड गरेको देखिन्थ्यो । फुलोर सिट विश्लेषण गर्ने लगानीकर्ताले यही होल्डिङलाई हेरे पनि आक्रामक रुपमा यो कम्पनीको छिरेको जानकारहरु बताउँछन ।

नयाँ दुई लघुबीमाको सवालमा भने अहिलेसम्म उल्लेख्य शेयरको कारोबार नै नभएकाले गार्डियनकै मूल्यमा पुगेपछि मात्रै शेयर बेच्ने मनस्थितिमा लगानीकर्ता रहेको विश्लेषण गर्न सकिने ती जानकारले मेरो लगानीलाई बताए । अहिलेसम्म १९ औं कारोबार दिनसम्म आउँदा नेपाल माइक्रो लाइफ इन्स्योरेन्सको जम्मा १२ हजार ४ सय २७ कित्ता कारोबार भएको छ भने ब्रोकर होल्डिङ हेर्दा ५३ नम्बर ब्रोकरले १५ सय ९० कित्ता मात्रै होल्ड गरेको देखिन्छ जुन उल्लेख्य कित्ता होइन । नेपाल माइक्रो सँगैसँगै मूल्य बढदै गरेको अर्को लघु बीमा कम्पनी क्रेस्ट माइक्रो लाइफको अहिलेसम्म १७ औं कारोबार भएको छ । १७ कारोबार दिनमा जम्मा ८ हजार ८ सय १० कित्ता शेयरको कारोबार भएको छ भने ब्रोकर होल्डिङ हेर्दा ६४ नम्बरको ब्रोकरले १६ सय कित्ता होल्ड गरेको देखिन्छ ।

‘बजारमा यथेष्ट मात्रामा कारोबार नै नभएको हुँदा एक दुई हजारको ब्रोकर होल्डिङले कुनै अर्थ राख्दैन । बजारमा क्रेता लगानीकर्ताले किन्न पुग्ने गरी शेयरको सप्लाई आइसके पछि मात्रै अर्को चरणको मूल्य अनुमान गर्न सकिन्छ । अहिलेलाई धेरैले गार्डियनलाई नै रिफरेन्स लिएर कुरिराखेको हुनसक्छ ।’–एक लगानीकर्ताले भने ।