वित्तीय विवरणलाई तराजुमा राखेर हेर्दा होटल तथा पर्यटन समूहका कम्पनीको प्रगति कसकाे कस्तो ?

May 14, 2025 06:34 PM Merolagani




नेप्सेमा सूचीकृत होटल तथा पर्यटन समूहका कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त समूहमा सूचीकृत ६ कम्पनीमध्ये प्रायः सबै कम्पनीको  नाफामा सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सोल्टी होटल, सिटी होटल्स, तारागाँउ रिजेन्सी होटल्स र चन्द्रा गिरी हिल्सको खुद नाफा बढेको छ ।

यस अवधिमा होटल कम्पनीहरुले औसत १३ करोड ३९ लाख रुपैयाँ बराबरको नाफा गरेका छन । जस मध्येमा सोल्टी होटलको नाफा सर्वाधिक बढेको देखिन्छ । सोल्टीको नाफा १३.३६ प्रतिशतले बढेर ४१ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यसैगरी, सिटी होटलको नाफा १३.०८ प्रतिशतले बढेको छ भने तारागाँउ रिजेन्सी होटल्स र चन्द्रा गिरी हिल्सको नाफा सामान्य बढेको हो ।
यस अवधिमा ओरिन्टल होटलको नाफा ३२.१६ प्रतिशतले घटेको छ भने कालिन्चोक दर्शन १७ करोड ३८ लाख रुपैयाँले नोक्सानीमा रहेको छ ।

जगेडा कोषमा को बलियो ?

दोस्रो बजार सूचीकृत भएका होटल तथा पर्यटन समूहका कम्पनी मध्येमा ओरियन्टल होटल्सको जगेडा सर्वाधिक बलियो देखिएको छ । यस कम्पनीको जगेडा कोषमा २ अर्ब ७३ करोड ३४ लाख रुपैयाँ संञ्चित छ । गत आर्थिक वर्षको तुलनामा ओरियन्टलको जगेडा कोष १.६३ प्रतिशतले बढेको हो ।

त्यसैगरी, सोल्टी होटलको जगेडा कोषमा १४.४० प्रतिशतले बढेर एक अर्ब ५४ करोड ९६ लाख रुपैयाँ छ । तारागाउँको जगेडा कोषमा एक अर्ब १० करोड रुपैयाँ जम्मा छ । तारागाउँको जगेडा कोष ४१.४० प्रतिशतले बढेको हो । साथै, चन्द्रा गिरी हिल्सको जगेडा कोषमा तीन करोड ८१ लाख रुपैयाँ छ भने कालिन्चोक दर्शनको जगेडा कोषमा दुई करोड २७ लाख रुपैयाँ संञ्चित छ । सिटी होटल्सको जगेडा कोष भने ऋणात्मक छ । सिटीको जगेडा कोष ३३ करोड ५९ लाख रुपैयाँले ऋणात्मक छ ।

इपीएस र बुक भ्यालुमा को बलियो ?

नेप्सेमा सूचीकृत होटल तथा पर्यटन समूह मध्येमा सबै भन्दा बलियो नेटवर्थ ओरियन्टल होटल्स रहेको छ । यस कम्पनीको प्रतिशेयर नेटवर्थ ३३८ रुपैयाँ ४२ पैसा छ । यद्यपि होटलको नाफामा गिरावट आएसँगै प्रतिशेयर नेटवर्थ र प्रतिशेयर आम्दानी घटेको छ । यस अवधिमा ओरियन्टलको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ०३ पैसामा सिमित भएको छ ।

त्यसैगरी, तारागाउँ रिजेन्सी होटल्सको प्रतिशेयर आम्दानी सबै भन्दा धेरै छ । यस होटलको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९३ पैसा छ । तारागाउँ रिजेन्सीको प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ५९ पैसा छ । चन्द्रागिरी हिल्सको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ४९ पैसा छ । चन्द्रागिरीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४५ पैसा छ ।

कालिन्चोक दर्शनको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ९३ पैसा छ भने प्रतिशेयर आम्दानी ४ रुपैयाँ २० पैसा छ । सोल्टीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १० पैसा छ भने प्रतिशेयर नेटवर्थ २५ रुपैयाँ १७ पैसा छ । सिटी होटलको प्रतिशेयर आम्दानी ऋणात्मक रहेको छ । यस अवधिमा सिटी होटलको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८४ पैसा नोक्सानीमा छ भने प्रतिशेयर नेटवर्थ ७९ रुपैयाँ ९३ पैसा छ ।