लगानीकर्ताले भेटे कामु गभर्नर ढुङ्गानालाई

May 19, 2025 12:21 PM Merolagani



नेपाल शेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा. केशवप्रसाद श्रेष्ठको नेतृत्वमा पदाधिकारी टोलीले नेपाल राष्ट्र बैङ्कका कामु गभर्नर डा. नीलम ढुङ्गानासँग औपचारिक परिचयात्मक भेटघाट सम्पन्न गरेको छ।

यो भेटघाटको मुख्य उद्देश्य संघको गतिविधि, लक्ष्य र योजनाहरूबारे जानकारी गराउनुका साथै शेयर बजारको विकास र लगानीकर्ता हितका लागि राष्ट्र बैङ्कसँग सहकार्यको सम्भावना खोज्नु रहेकाे स‌ंघकाे भनाइ छ ।

उक्त अवसरमा अध्यक्ष डा. श्रेष्ठले संघको स्थापना, उद्देश्य र दीर्घकालीन योजनाहरूबारे विस्तृत रूपमा प्रकाश पारेका थिए । उनले विशेषगरी लगानीकर्ताहरूलाई वित्तीय साक्षरता प्रदान गर्ने, शेयर बजारसम्बन्धी सूचना प्रवाहलाई प्रभावकारी बनाउने र बजारमा पारदर्शिता तथा विश्वसनीयता कायम गर्ने कुरालाई संघको प्राथमिकतामा राखिएको बताए। साथै, शेयर बजारलाई आम लगानीकर्ताका लागि सुरक्षित र समावेशी बनाउन संघले रचनात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

भेटका क्रममा संघका संस्थापक महासचिव रबिन कँडेलले कामु गभर्नर डा. ढुङ्गानालाई संघको औपचारिक पत्र हस्तान्तरण गरे। उनले हालको शेयर बजारको अवस्था, यसमा देखिएका चुनौतीहरू र सम्भावनाहरूबारे चर्चा गरे। साथै, अर्थतन्त्रमा नेपाल राष्ट्र बैङ्कको नियामकीय भूमिका र यसले शेयर बजारमा पार्ने प्रभावबारे आफ्नो धारणा राखे। उनले संघले लगानीकर्ताको हित संरक्षण र बजारको स्थायित्वका लागि राष्ट्र बैङ्कसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरे।

कामु गभर्नर डा. ढुङ्गानाले संघको प्रयास र लगानीकर्ता शिक्षाप्रति देखाएको प्रतिबद्धताको प्रशंसा गरिन। उनले नेपालको शेयर बजारलाई थप समृद्ध बनाउन वास्तविक अर्थतन्त्रको विस्तार र उत्पादनमूलक क्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन्। हाल शेयर बजारमा बैङ्क तथा वित्तीय संस्थाहरूको ६०५ भन्दा बढी हिस्सा रहेको उल्लेख गर्दै उनले उत्पादनमूलक कम्पनीहरूको सहभागिता बढाउन र वित्तीय क्षेत्रको प्रभुत्व क्रमशः घटाउन आवश्यक रहेको बताइन्।

डा। ढुङ्गानाले नेपाल राष्ट्र बैङ्क शेयर बजारको प्रत्यक्ष नियामक नभए पनि मौद्रिक नीति र ब्याजदरले बजारको गतिशीलतामा महत्त्वपूर्ण प्रभाव पार्ने स्पष्ट पारिन। संघको वित्तीय साक्षरता र लगानीकर्ता शिक्षासम्बन्धी पहललाई सकारात्मक रूपमा लिँदै उनले यस्ता प्रयासहरूमा राष्ट्र बैङ्कले सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन। उनले संघलाई लगानीकर्ताहरूको हितमा थप रचनात्मक कार्य गर्न प्रोत्साहन गरिन।

संघले आम लगानीकर्ताको हकहित संरक्षण र शेयर बजारको समग्र विकासमा आफूलाई समर्पित गर्ने दृढ सङ्कल्प दोहोर्‍याएको छ। उक्त भेटघाटमा संघका अध्यक्ष डा. केशवप्रसाद श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष  किशोर पौडेल, महासचिव रबिन कँडेल, सचिव भुबन ढकाल, कोषाध्यक्ष मछिन्द्र बस्नेत, सदस्यहरू विवेक श्रेष्ठ, सुदर्शन गौतम र  मिना भट्टको सहभागिता रहेको थियो।

यो भेटघाटले संघ र नेपाल राष्ट्र बैङ्कबीच भावी सहकार्यका लागि महत्त्वपूर्ण आधार तयार गरेको दावी गरिएकाे छ। संघले आगामी दिनमा पनि लगानीकर्ताको हित र शेयर बजारको सुधारका लागि यस्ता रचनात्मक संवादलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।