राष्ट्र बैंक स्रोतका अनुसार पहिलो चरणमा पौडेलको हस्ताक्षर भएका रु ५० र १,००० दरका नयाँ नोट छाप्ने प्रक्रिया अगाडि बढाइएको छ । ती नोटहरु आउँदो दशैंसम्म बजारमा आइसक्ने बताइएको छ ।
नेपाल राष्ट्र बैंकले हाल ५, १०, २०, ५०, १००, ५०० र १००० दरका नोट छाप्दै आएको छ । विगतमा छाप्ने गरिएका १ र २ का नोटहरु भने हाल छाप्न बन्द गरिएको छ ।
राष्ट्र बैंक स्रोतका अनुसार सामान्यतया दुईतीन वर्षका लागि कति नोट चाहिन्छ भन्ने अनुमानको आधारमा एकैपटक छपाइ गरिन्छ । तर, गभर्नर नियुक्ति उनको ध्यान वा मुख्य रहर नै आफ्नो हस्ताक्षर भएको नोट छपाईमा हुने र अवकास हुने क्रममा रहेका गभर्नरको ध्यान पनि त्यसमै केन्द्रित हुने भएकोले कतिपय समय नोटको व्यवस्थापन मिलाउन गाह्रो हुने राष्ट्र वैंकका अधिकारीहरुको अनुभव छ ।
‘पदवाहाली गरेका गभर्नरले नोटमा हस्ताक्षर गर्न हतारिने र कार्यकाल सकिन लागेका गभर्नरले पनि बजारमा २-४ वर्ष आफ्नो नामको नोट रहोस् भन्ने चाहानाले कहिले हरेक पटक नयाँ गभर्नरको नियुक्ति र अवकाशको बेला नोट छपाईको चटारो हुने गर्छ । यसपटक पनि त्यस्तै हुँदैछ’ ती अधिकारीले मेरो लगानीसँग भने ।
सामान्यतया दशैंको बेला राष्ट्र बैंकले नयाँ नोट जारी गर्ने गर्छ । तर, गतवर्ष दशैं पर्व र नयाँ नोटको बीचमा कुनै सम्वन्ध नभएको, दशैंको दक्षिणामा नयाँ नोट दिनै पर्ने गलत संस्कारको विकास भएको भन्दै राष्ट्र बैंकले नयाँ नोट छापेको थिएन । दशैं पछि बल्ल नोटहरु छापेको थियो । मंसिरमा रु. १० का नयाँ नोट छापिएको थियो । तत्कालिन गभर्नर महाप्रसाद अधिकारीले अवकाश पाइसकेपछि उनकै हस्ताक्षरमा गत बैशाख २ गतेदेखि रु. ५ का १० लाख प्रति नोट बजारमा पठाएको छ । अधिकारीले अवकाश पाएपछि बजारमा पठाइए पनि उनको कार्यकालमै नोट छपाइ प्रकृया सकिएको र प्राविधिक कारण नयाँ बर्षपछि बजारमा पठाइएको राष्ट्र बैंकका अधिकारीहरुको दावी छ ।
नोट छपाई नेपालमा हुँदैन, विदेशमा छापेर ल्याइन्छ । पहिले पहिले इण्डोनेशिया लगायतका देशमा नोट छाप्ने गरिए पनि पछिल्लो ११ वर्षयता भने अधिकाँश नेपाली नोटको छपाइ चीनमा हुँदै आएको छ । रु. ५० का नोट फ्रान्समा र रु १०० का नोट बेलायतमा र बाँकी ५, १०, २०, ५०० र हजार दरका नोट चीनको सरकारी वैंक ‘चाइना ब्याङ्क नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पाेरेशन’बाट छापिदैँ आएको छ । नयाँ छाप्ने तयारी गरिएका नोटहरु कहाँ छापिन्छ भन्ने यकिन भइनसके पनि विगतमा झैं ५० को नोट फ्रान्समा र १००० को नोट चीनमै छापिने सम्भावना रहेको अधिकारीहरु बताउँछन् । एउटा नोटको छपाईका लागि राष्ट्र बैंकले करिब सात रुपैँयासम्म खर्च गर्दै आएको छ ।
अहिले राष्ट्र बैंकले ७ खर्ब ५५ अर्ब रुपैयाँबराबारका नोटहरू बजारमा निष्कासन गरेको छ । नोटको आयु कति हुन्छ भन्ने बारेमा यकिन नभए पनि राष्ट्र वैंकले २ वर्षसम्म चल्न सक्ने अनुमानको आधारमा नयाँ नोट छपाईको तयारी गर्छ ।