जनप्रतिनिधिबीच लडाईको अखडा बन्दै पालिकाहरु, बजेट र योजना कार्यान्वयन भद्रगोल हुँदै

Jun 19, 2025 10:55 AM mero lagani



धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाबीच विवाद हुँदा मंगलबार झडपको स्थिति सिर्जना भयो । 

मेयर साम्पाङ स्वतन्त्रबाट जितेर अहिले पार्टी खोल्ने प्रयासमा छन् भने बेघा माओवादीका हुन् ।

नगर प्रमुख साम्पाङले श्रमदान भन्दै गरेको कामको डोर हाजिरी प्रमाणित गरेर भुक्तानी गर्न दबाब दिएपछि उपप्रमुख बेघाले कानुनी व्यवस्था नभएको भन्दै अस्वीकार गरेपछि विवाद बढेको हो । त्यसमाथि नगरपालिकाका सवारी साधन संचालनको विषयमा पनि मेयर र उपमेयरबीच विवाद हुँदै आएको छ ।

नगरपालिकाको डोजर, स्काभेटरको चाबी नगर प्रमुख साम्पाङ, उपप्रमुख र कार्यालय स्टोरमा १/१ वटा रहन्छ । प्रमुख तथा उनका समर्थकले जथाभाबी प्रयोग गर्न थालेपछि दुरुपयोग रोक्न केही दिनदेखि आफूसँग भएको र कार्यालयको चाबी कसैलाई दिन रोक लगाएको उनले बताए । साम्पाङले भने श्रमदान गर्ने नाममा नगरपालिकाको डोजरहरू आफू खुसी प्रयोग गर्दै आएका थिए ।

उपप्रमुख बेघाले बजेट तथा कार्यक्रममा नभएको, कार्यक्रम सम्झौता समेत नभएको र श्रमदानको भुक्तानी दिने कुनै कानुनी व्यवस्था नभएकोले श्रमदान भनेर गरिएको कामको भुक्तानी दिन नसक्ने जानकारी दिंदा प्रमुख साम्पाङको निर्देशनमा आफूमाथि कुटपिट गर्न खोजिएको आरोप लगाए ।

धरान उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १७ का वडा अध्यक्ष सूर्यप्रसाद भट्टराईले विधि र प्रक्रियाभन्दा बाहिर गएर मेयर धरानमा मुठभेडको अवस्था निम्ताएको बताए । प्रमुख साम्पाङले भने खोला कुनै पनि वडाको नहुने बताउँदै काम गर्ने मान्छेलाई उपभोक्ता समितिको अध्यक्ष बनाएको जिकिर गरेका छन् ।

त्यसो त अहिले केवल धरानमा मात्र होइन, देशका धेरै वटा पालिकाहरुमा जनप्रतिनिधिहरु एक आपसमै विवाद गरिरहेका छन्, लडिरहेका छन् । गाउँका सिंहदरवार भनिने पालिकाहरु जनताका दैनन्दिन समस्या समाधान गर्नु पर्नेमा निर्वाचित जनप्रतिनिधिहरु निहित स्वार्थको लागि आफू आफू बीचमा लड्दा स्थानीय तहमा हुनु पर्ने कामहरु ठप्प भएका छन् । विवाद भएकामध्ये अधिकांश पालिकाहरु भित्रका विवादको मुख्य कारण आर्थिक रहेको छ । चालु आर्थिक वर्षको अन्त्य हुन लाग्दा ‘हिसाब किताब मिलान’को कारण जनप्रतिनिधिहरुका बीचमै वा कर्मचारी र जनप्रतिनिधिबीच विवाद चर्किनु ‘अर्थपूर्ण’ छ ।

यसले एकातर्फ ती पालिकाहरुको दैनिक काम कारवाही प्रकृया अवरुद्ध भएको छ । भुक्तानी प्रणालीमै अवरोध सृजना हुँदा पालिकाहरुको आर्थिक सुशासनको पाटो झन भद्रगोल हुने निश्चित छ । त्यस्तै आउँदो आर्थिक वर्षका नयाँ नीति र कार्यक्रम तथा बजेट निर्माण प्रकृया नै अवरुद्ध भएको छ, त्यसले ती पालिकाहरुका आउँदो आर्थिक वर्षको समग्र काम कारवाही नै भद्रगोल हुने अवस्था सृजना हुने देखिएको छ ।

धरानसहित अहिले त्यसरी विवाद चर्किएका केही पालिकाहरु यी हुन्ः


एक अर्कालाई सिद्धाएरै छोड्ने मुडमा काठमाडाैं महानगरपालिकाः मेयर र प्रशासकीय अधिकृत

प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाईसंगको विवादको कारण काठमाडा‌ैं महानगरपालिका मेयर बालेन साह नयाँ आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम तयारी गर्न मात्र होइन, झण्डै ६ महिनादेखि रोकिएको नगरसभा राख्नसमेत सकिरहेका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित एक जना वडा अध्यक्ष बाहेक अरु कुनै जनप्रतिनिधिको साथ नपाएका बालेन पछिल्लो केही दिन यता उपमेयर सुनिता डंगोलसँग सम्वन्ध सुधारको प्रयास गरे पनि सफल हुन सकेका छैनन् ।

थोरै बोल्ने र समाजिक संजालबाट विरोधीहरुलाई जवाफ दिने स्वभावका बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईले पनि उनकै शैलीमा चुपचाप तरिकाले ‘काउण्टर’ दिन थालेका छन् । मेयर साहको सबैभन्दा ठूलो ‘हतियार’ मानिएका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई ६ महिना निलम्बन गर्नुको साथै साहको आदेश भन्दा उपप्रमुख डंगोलको निर्देशन अनुसार चल्न थालेका छन् । मेयर साह र प्रमुख प्रशासकिय अधिकृत गुरागाई बीच एक अर्कालाई ‘सिद्धाएरै छोड्ने’ अठोटले महानगरको नगरसभा, आउँदो आर्थिक वर्षका बजेट र नीति कार्यक्रम लगायतका धेरै कार्यक्रमहरु अनिश्चित र भद्रगोल बनेका छन् ।

 गौशालामा उपमेयरलाई कार्यालय प्रवेशमा रोक

महोत्तरीको गौशाला नगरपालिकामा मेयर दिपेन्द्र महतो र उपमेयर रेणुकुमारी महतोबीचको विवाद उत्कर्षमा पुगेको छ । मेयर महतोले उपमेयर महतोलाई कार्यालय प्रवेशमा रोक लगाइएका छन् ।

उपमेयर महतोले मेयर महतो र प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीको मिलेमतोमा दर्ता चलानीको कोलम खाली राखेर अनियमितता गरिरहेको आरोप लगाएकी छन् भने मेयर र प्रशासकीय अधिकृतले भने उपमेयर माथि कागजपत्र चोरी गरेको आरोप लगाएका छन् ।

मेयर र उपमेयर दुवै जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका हुन् । विवादका कारण नगरसभा, आउँदो आर्थिक वर्षका बजेट र नीति कार्यक्रम लगायतका धेरै कार्यक्रमहरु अनिश्चित र भद्रगोल बनेका छन् ।

जीतपुर सिमरामा मेयर–उपमेयरबीच सधै विवाद

बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा मेयर र उपमेयरबीच ‘सदावहार विवाद’ जारी छ ।
माओवादीबाट निर्वाचित मेयर राजन पौडेल र एमालेबाट निर्वाचित उपमेयर भोला प्रसाद अधिकारीबीच सफथ ग्रहण भएकै दिनदेखि कटुतापूर्ण सम्वन्ध रहेको छ । गत वर्ष कर्मचारी नियुक्ति र उपमहानगरपालिकाको बजेट निर्माणको विषयमा चर्किएको विवादले उग्ररुप लिएको थियो । त्यो विवाद वर्षैभरि चलिरह्यो । अझै पनि चलिरहेको छ । त्यसले पालिकाको समग्र काम कारवाही प्रभावित भइरहेको छ । तर, न मेयर गम्भीर देखिन्छन्, न त उपमेयर नै । साथै उनीहरुका पार्टीहरू र संघीय सरकारले समेत हस्तक्षेप गरेर उपमहानगरको काम कारवाहीलाई प्रभावकारीरुपमा अगाडि बढाउन कुनै चासो नदिनु अर्काे बिडम्बना हो ।

इटहरीमा पनि उस्तै ताल

इटहरी उपमहानगरपालिकाका कांग्रेसबाट निर्वाचित मेयर हेमकर्ण पौडेल र एमालेबाट निर्वाचित उपमेयर संगीताकुमारी चौधरीबीचको विवादले कहिले झडपको स्थिति त कहिले तालावन्दीको अवस्था सृजना हुने गरेको छ ।

गत माघ दोस्रो साता कर्मचारीको सरुवाको विषयलाई लिएर विवाद हुँदा उपप्रमुख चौधरीसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरूले प्रशासन शाखाका प्रमुख संजिव खड्काको कार्यकक्षमा तालाबन्दी गरेका थिए । त्यसक्रममा कैयौं दिनसम्म उपमहानगरपालिकाको काम कारवाही ठप्प भएको थियो ।

अहिले पनि मेयर उपमेयरबीचको सम्वन्ध मात्र होइन, एमाले र कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुको बीचमा पनि अन्यत्रको तुलनामा सुमधुर सम्वन्ध नरहेको ती पार्टीका नेताहरु नै बताउँछन् ।

क्षिरेश्वरनाथमा मेयर र उपमेयरबीच एक अर्कालाई विकास विरोधी देखाउने होड

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मेयर सुखदेव यादव र उपमेयर रचना माथेमाबीचको विवादले पालिकाको कामकाज प्रभावित भएको छ । मेयर यादव नेकपा एमालेका हुन् भने उपमेयर माथेमा नेपाली कांग्रेसकी हुन् ।

दुवै जनाको आन्तरिक द्धन्दले नगरपालिकाको विकास निर्माण कार्य ठप्पजस्तै भएको छ । दुवै जनाले एक अर्कामाथि विकासमा अवरोध सृजना गरेको आरोप लगाउने गरेका छन ।

मेयर यादवले उपमेयर उपमेयर तीन–तीन महिनामा मात्र तलब भत्ता बुझ्न कार्यालय आउने गरेको र अरु समय काठमाडौंमा बस्ने गरेको दावी गर्छन् । उपमेयर काठमाडौंमा बस्ने भएकैले उनले गर्ने धेरै कामहरु हुन नसकेर लथालिंग भएको उनको आरोप छ । उपमेयरको नेतृत्वमा रहने न्यायीक समितिले ३ वर्षको अवधिमा ३ वटा पनि मुद्दा फैसला गर्न नसकेको तर, तलव भत्ता बुझ्न पनि जहिले पनि हतारिने गरेको मेयर यादवको आरोप छ ।

उपमेयर माथेमाले भने आफूले मेयरबाट पाउनु पर्ने कुनै सहयोग नपाएको र फरक पार्टी भएकोले जहिले पनि अवरोध मात्रै हुने गरेको दावी गर्छिन् ।

विवादको कारण गत वर्ष पनि आर्थिक वर्ष सकिएको केही महिना पछि नयाँ बजेट र कार्यक्रम घोषणा गरिएको थियो । यसपटक पनि त्यस्तै अवस्था दोहोरिने देखिएको छ ।

 वीरगञ्जमा मेयर–उपमेयर विवादले काम ठप्प

वीरगञ्ज महानगरपालिकामा मेयर राजेशमान सिंह तथा उपमेयर इम्तियाज आलमबीचको महिनौ पुरानो विवाद अझै सकिएको छैन । त्यसले गर्दा महानगरपालिकाको काम कारवाही प्रभावित हुँदै आएको छ ।

मेयर सिंहले आफूलाई वेवास्ता गर्दै एकलौटी रुपले चलिरहेको आरोप उपमेयर आलमले लगाउने गरेका छन् । मेयर र उममेयर बीचको विवादकै कारण पटक पटक झडपको स्थिति पनि सृजना हुँदै आएको छ । विवादका कारण महानगरका घोषित धेरै कार्यक्रमहरु अलपत्र परेका छन् ।

मिथिला नगरपालिकामा मेयर र उपमेयरबीच पटक पटक विवा

धनुषाको मिथिला नगरपालिकामा कांग्रेसबाट निर्वाचित मेयर महेन्द्र महतो र एमालेबाट निर्वाचित उपमेयर सुनिता सिंह बुढाथोकीबीच पटक पटक हुने गरेको विवादले बेला बेलामा नगरपालिकाको दैनिक कार्य नै ठप्प हुने गरेको छ ।

केही समय अघि उपमेयर बुढाथोकीले प्रशासकीय अधिकृत र योजना शाखामा ताला लगाइदिएकी थिइन । मेयर महतो विधि प्रकृयालाई मिचेर मनोमानी गर्न खोजेको बुढाथोकीको आरोप छ । उनले लामोसमय देखि कार्यपालिका बैठक समेत बस्न नसकेको बताइन् ।

यी त केही नमुना घटना हुन् । यसबाहेक रौतहटको देवाही गोनाही नगरपालिका,सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका, कपिलवस्तुको शुद्धोधन गाउँपालिका, जुम्लाको गुठीचौर गाउँपालिका, मोरङको ग्रामथान गाउँपालिका धादिङको सिद्धलेक गाउँपालिका, झापाको कमल गाउँपालिका, बैतडीको डिलाशैनी गाउँपालिकाका आदी पालिकाहरुमा मेयर-उपमेयर वा अध्यक्ष उपाध्यक्ष बीचको विवादले पालिकाहरुको समग्र काम कारवाहीमै नकारात्मक असर पारिरहेको छ । नयाँ आर्थिक वर्षको लागि नयाँ बजेट र कार्यक्रम घोषणा गर्ने समयमा पनि जनप्रतिनिधिहरु बीचकै विवादको कारण ती पालिकाहरु अस्तव्यस्त बन्दै गइरहेका छन् ।