स्टान्डर्ड चार्टर्ड बैंकले समयमै किन स्पष्ट गरेन यस्तो सूचना ?

Oct 24, 2016 Merolagani

तिलक कोइराला

स्टान्डर्ड चार्टर्ड बैंक(SCB)ले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ र त्यसमा आर्जन हुने प्रिमियम रकम समेत जोडेर कम्तिमा तीन अर्ब ३० करोड रुपैयाँ बराबरको थप नयाँ साधारण  सेयर ( एफपीओ) जारी गरिने कुरा स्पष्ट पारेको छ । तर उसले आफुले समयमै स्पष्ट कुरा  जानकारी नगराउँदा लगानीकर्ताले भोग्नु परेको क्षति र हैरानीबारे जिम्मेवारीबोध भने गरेको छैन । 

बैंकले आफ्नो वेभसाईटमा राखेको पूँजी योजनामा उल्लेखित एफपीओबारे सेयर बजारका लगानीकर्ताका बीचमा अन्योल उत्पन्न भएको अबस्थामा मेरोलगानी डटकमसँग कुरा गर्दै बैंकका एक बरिष्ठ अधिकारीले भने - त्यति रकम पूँजीमा समाबेश गर्न मिल्ने गरी कति प्रिमियममा कति सेयर जारी गर्नुपर्छ भन्ने कुरा यकिन गर्न लागेका छौ । 

तीन अर्ब ३० करोड रुपैयाँ बराबरको नयाँ साधारण सेयर (एफपिओ) निष्कासन गर्ने भन्दै पूँजी योजना वेभसाईटमा राखेपछि सेयर बजारका लगानीकर्तामा अन्योल छाउँदा बजारमा सो कम्पनीको सेयर मूल्य दोस्रो दिनको प्रारम्भिक चरणमा पनि तल झरेको थियो । धेरै लगानीकर्ताले के बुझे भने तीन अर्ब ३० करोड रुपैयाँको तीन करोड ३० लाख कित्ता एफपीओ आउने हो र यसबाट बैंकको साधारण सेयर संख्या धेरै हुन गई भाऊ तल झर्नेछ । कतिपयले स्टान्डर्ड चार्टर्डको पूँजी योजनालाई फरक ढंगले ब्याख्या गरे । 

बैंकले आफ्नो वेभसाइट मार्फत पुँजी वृद्धि योजना सार्वजनिक गर्दे प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने जनाउँदा कत्ति कित्ता कति मूल्यमा भन्ने कुरा स्पष्ट पारेको थिएन । बैंकले एफपिओ र बोनस शेयर जारी गरेर राष्ट्र बैंकले तोकेको आठ अर्ब पुँजी पुर्याउने जनाएको छ तर बैंकले सरल भाषामा स्पष्ट कुरा नलेख्दा लगानीकर्ताले बेकारको हैरानी र अन्योल सामना गर्नुपर्यो । 

विश्वब्यापी मान्यता प्राप्त बैंक भए पनि सेयरधनीप्रतिको दायित्व निर्बाह र पारदर्शिता अबलम्बनमा नेपालको स्टान्डर्ड चार्टर्ड निकै पछि परेको देखिन्छ ।  

स्टान्डर्ड चार्टर्डको पूँजी योजनाबारे स्पष्ट पार्न मेरोलगानी डटकमले आईतबार बैंकका अधिकारीसग बारम्बार सम्पर्कको प्रयास गरे पनि कसैले पनि बोल्न चाहेका थिएनन् । सोमबार बिहान ११ बजे मात्र बल्ल -बल्ल एक अधिकारी सम्पर्कमा आए तर आफ्नो नाम खुलाउन चाहेनन् । 

बैंकका प्रबक्ताको भुमिका निर्बाह गर्ने दिवाकर पौडेल हाल बिदेश भ्रमणमा रहेकाले आफुहरुले औपचारिक रुपमा बोल्न नमिलेको बताउने ती अधिकारीले भने - तीन अर्ब तीस करोड रुपैयाँ बराबरको फेस भ्यालु र प्रिमियमसहितको रकम जम्मा पारेपछि प्रिमियम वापतको रकमबाट बोनस सेयर दिएर चुक्ता पूँजी पु्रयाउने हाम्रो योजना हो । प्रिमियम बढी भएमा जम्मा हुने रकम तीन अर्ब ३० करोड भन्दा बढी पनि हुनसक्छ ।

धितोपत्र बोर्डले तोकेको मापदण्ड पुरा गर्दा कति प्रिमियममा कति सेयर जारी गर्नुपर्छ भन्ने कुरा त्यसपछि तय हुने भएकाले तत्काल सेयर संख्या र प्रिमियम मूल्य नतोकिएको - ती अधिकारीको भनाई छ । उनले यसरी एफपीओ जारी गर्दा सेयर संरचना मै फेरबदल हुनसक्ने पनि बताएका छन् ।

प्रिमियम वापतको रकमलाई समेत हिसाब गरिएकोले प्रिमियम पहिले जगेडा कोषमा जानेछ र त्यसपछि चालु आर्थिक बर्षको चौथो त्रैमासको बित्तीय बिबरण प्रकाशित गरेपछि बोनस सेयर बितरणको प्रस्तावमा मात्र सो कुरा खुलाउनु पर्ने हुन्छ । स्टान्डर्ड चार्टर्डले तीन अर्ब तीस करोड रुपैयाँलाई संकेत चिन्ह दिई त्यसबाट आर्जित हुने प्रिमियममा बोनस सेयर दिएर पूँजी बढाउने उल्लेख गरेको देखिन्छ । यसलाई प्राबिधिक रुपमा सही मान्न सकिदैन । 

हाल स्टान्डर्ड चार्टर्डको चुक्ता पूँजीमा ७५ प्रतिशत बिदेशी साझेदारको र २५ प्रतिशत सर्बसाधारणको हिस्सेदारी रहेकोमा एफपीओ जारी पछि त्यसमा फेरबदल हुनेछ ।

बैंकको गत असोज ३ मा बसेको संचालक समितिको बैठकले फर्दर पब्लिक अफारिंग (एफपीओ) निष्काशन गर्ने निर्णय गरेको थियो ।

दुई अर्ब ८१ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले गतआर्थिक बर्षको मुनाफाबाट ३३.३३ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरिसकेको छ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्ता पूँजी तीन अर्ब ७५ करोड पुग्नेछ । एफपीओको सेयर संख्या गणना यही रकमबाट हुनेछ ।

स्टान्डर्ड चार्टर्डको यो शैलीलाई बिदेशी लगानी भएका एभरेष्ट बैंकले समेत पछ्याउने सक्ने आँकलन गरिएको छ । स्टान्डर्ड चार्टर्ड र एभरेष्ट दुबै बैंकले बिगतमा बोनस सेयर भन्दा नगद लाभांशमा बढी जोड गर्दा अहिले पूँजी बढाउनु पर्ने राष्ट्र बैंकको निर्देशनको मार खेपेका छन् । त्यसका संस्थापकहरु आफुले पैसा थप्ने भन्दा पनि सर्बसाधारणबाटै पैसा उठाउने र बैंकले कमाउने रकम चाँही नगद लाभांश खाने दाउमा रहेको देखिन्छ । 

स्टान्डर्ड चार्टर्ड र एभरेष्ट बैंकले राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउने योजनालाई आनाकानी गर्दै निकै ढिलो सार्वजनिक गरेका हुन् ।

साख जोगाउनै मुस्किल

बिदेशी लगानी र राम्रो छवि भएको बैंक भनेर स्टान्डर्ड चार्टर्ड बैंकमा लगानी गरेका लगानीकर्ता गत बर्षको खुद नाफा हेरेर झस्किएको अबस्था छ । अरु बाणिज्य बैंकले खुद नाफा बढाएर प्रति शेयर आम्दानी पनि उल्लेखनीय रुपमा बढाईरहेको बेला स्टान्डर्ड चार्टर्डको चाँही ह्वात्तै घट्यो ।

निक्षेप समेत घटाउनु र बैंंकको आम्दानीमा प्रतिकुल असर पर्दा समेत स्टान्डर्ड चार्टर्डको ब्यवस्थापन गंभीर नहुनुले नेपालबाट उसले लगानी झिक्न अनेक बहानाबाजी गरेको आशंका पनि पैदा भएको छ । 

स्टान्डर्ड चार्टर्डले अघिल्लो आर्थिक बर्षमा एक अर्ब २९ करोड खुद नाफा गरेकोमा गत बर्ष जम्मा एक अर्ब २६ करोड मात्र कमायो । खुद नाफा घट्नु र गत बर्ष दिएको बोनस शेयर थपिदा पूँजी बढेकाले प्रतिशेयर आम्दानी पनि ५७ बाट ४५ रुपैयाँमा झर्यो ।

ब्याज आम्दानी र संचालन मुनाफामै गिरावट आएपछि स्टान्डर्ड चार्टर्डले आफ्नो बिराशत थाम्ने गरी प्रगति बिबरण पस्कन नसकेको देखिएको छ । बिदेशी मुद्राको कारोबारबाट त राम्रो गर्नुपर्ने थियो तर त्यसमा पनि आशलाग्दो प्रगति गरेन । निस्क्रिय कर्जा अनुपात सामान्य रुपमा घटाएर जोखिम कोषमा राखेको रकम ल्याएर नाफामा जोडे पनि कोषमा झन् धेरै रकम राख्नु परेको छ ।

बैंकले निक्षेप घटाएको छ तर कर्जा बिस्तार निकै मन्द छ । दुई अर्ब ८१ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ४० करोड रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले तय गरेको ८ अर्ब चुक्ता पूँजी कायम गर्न आनाकानी गरेर गत बर्ष नगद लाभांश लाभांश समेत बाँडेको थियो । चुक्ता पूँजी कम हुँदा नै प्रति शेयर आम्दानी खुम्चदै गएको बैंकको यसै बर्ष चुक्ता पूँजी ८ अर्ब भएमा प्रति शेयर आम्दानी कति तल झर्ला सहजै अनुमान गर्न सकिन्छ ।

मूल्य आम्दानी अनुपात नै ८० गुणा भन्दा बढी रहेको कम्पनीलाई किन प्रति कित्ता महंगो मूल्यमा  किन्ने भन्ने प्रश्न उठ्ने नै भयो । कति कित्ता एफपीओ कति मूल्यमा आउँछ भन्ने यकिन नभईसकेको अबस्थामा झन् मूल्य उचालिएर त किन्नै हुँदैन । तर अहिले  सेयर धारण गरेकाहरुले पनि बेच्न हतारिनु भन्दा धैर्यसाथ बैंकको थप निर्णयहरु पर्खनु बेश हुन्छ । 

मेरोलगानी डटकमको अनुमति बिना अरु मिडियाले यस समाचारको प्रयोग नगर्नुहोला । 

सम्बन्धित समाचार 

स्टान्डर्ड चार्टर्ड बैंकले तीन अर्ब ३० करोडको एफपिओ गर्ने,प्रिमियम मूल्य कति ?

स्टान्डर्ड चार्टर्ड बैंकले ३३ प्रतिशत बोनस र एफपीओ पनि जारी गर्ने तर कति ?

स्टान्डर्ड चार्टर्डः नामले मात्रै अब काम चल्ने देखिएन, प्रति शेयर आम्दानी घट्याघट्यै...

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।