शेयर बजार अर्थात लज्जावतीको झार !

Jul 29, 2018 Merolagani

- आनन्द कुमार भट्टराई (उपसचिव,अर्थ मन्त्रालय) ।

आर्थिक वर्ष २०७४/०७५ मा नेपाल सरकारले शेयर कारोबारबाट प्राप्त गर्ने पूँजीगत लाभकर अघिल्लो आर्थिक वर्षको तुलनामा ९६ करोड रुपैयाँले घटेको छ । सरकारले आ.व. २०७३/७४ पूँजीगत लाभकर वापत १ अर्ब ४६ करोड रुपैयाँ राजस्व प्राप्त गरेकोमा गत आ.व. २०७४/०७५ मा करिब ५० करोड रुपैयाँ मात्र प्राप्त गरेको हो ।

आर्थिक वर्ष २०७३/७४ को तुलनामा लगानीकर्ताको संख्यामा वृद्धि तथा मोफसलमा समेत ब्रोकरहरुको शाखाहरु खुल्न गई शेयर कारोबारमा दूर-दराजका लगानीकर्ताको समेत सहज पहुँच पुगेकाे अवस्था छ ।

तर यसकाे बावजुद पनि कारोबारमा उल्लेख्य कमी आउनु नै पूँजीगत लाभकर कम उठ्नुको मुख्य कारण हो भन्दा अतिशयोक्ती हुँदैन ।

आर्थिक वर्ष २०७३/७४ को ४०९ अर्ब रुपैयाँको कारोबार (खरिद र बिक्री) को तुलनामा २०७४/७५ मा २४२ अर्ब रुपैयाँको मात्र कारोबार भई ४०.७७ प्रतिशतको गिरावट आएको देखिन्छ । कारोबार रकम घट्दा लाभकरमा समेत उल्लेख्य गिरावट आउन पुग्यो । लाभकर मात्रै होईन कारोबारमा गिरावट आउँदा ब्रोकर कमिशनबाट प्राप्त हुने १५ प्रतिशतको कर (TDS) मा समेत कमी भएको छ ।

ब्रोकरको संख्या बढ्नुको साथै लगानीकर्ताको संख्यामा समेत बढोत्तरी हुँदा पनि लाभकर घट्नु निश्चय पनि चिन्ताको विषय मान्नुपर्छ ।

लज्जावतीको झार

लज्जावतीको झार, जसलाई छुईमुई, संवेदनशील झार, सुत्ने झार तथा स्थान विशेष अनुसार अन्य विभिन्न नामले समेत चिनिन्छ, एउटा बहु-उपयोगी वनस्पती हो । 

यसलाई छुने बितिक्कै यसले आफ्नो सबै पातहरुलाई खुम्च्याएर रक्षात्मक अवस्थामा रहने हुनाले नै यसलाई लज्जावतीको झार भनिएको हो । डायरिया, मधुमेह, छला रोग तथा पाईल्स जस्ता अनेक रोगको घरेलु उपचारमा यसको प्रयोग गरिन्छ ।

शेयर बजार

समग्र अर्थतन्त्रको ऐनाको रुपमा लिईने शेयर बजार पनि एउटा बहुउपयोगी क्षेत्र हो । यद्यपी कतिले नबुझेर यसलाई जुवाघरको संज्ञा दिन पछि परेका छैनन् ।

छरिएर रहेको स सानो पूँजीलाई संकलन गरी पूँजी निर्माण गर्ने, रोजगारीको अवसर प्रदान गर्ने, सिनियर सिटिजन्स (अवकाश प्राप्त कर्मचारी समेत) लाई सक्रिय तुल्याउन सहयोग पुर्याउने तथा सरकारको लागि राजस्वको जोहो गरिदिने लगायतको बहुआयामिक योगदानले गर्दा नै आज हरेक देशमा यसको विकासमा सरकारले भरमग्दुर प्रयास गरिरहेको हुन्छ ।

यो क्षेत्र समग्रमा बहुउपयोगी हुनुको साथै अति संवेदनशील समेत छ । स-सानो विधायिकी परिवर्तनको साथै सानोतिनो हल्लाले पनि यसलाई गम्भिर रुपमा असर गरिरहेको हुन्छ । त्यसैले यसलाई लजावतीको झारसँग तुलना गर्न खोजिएको हो ।

कारोबार विश्लेषण

गत आर्थिक वर्षमा आ.व. २०७३/७४ को तुलनामा कारोबार घटे पनि सामूहिक लगानी कोषको योगदान बढेर ५५४ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ जुन अघिल्लो वर्ष सोही अवधिको २७६ करोड रुपैयाँ बराबरको कारोबारको तुलनामा शतप्रतिशत बढी हो ।

तर गत वर्ष सामूहिक लगानी कोषको कारोबार बढ्नुमा नयाँ सामुहिक लगानी कोषको बजार प्रवेश मुख्य कारणलाई मान्न सकिन्छ । गत आर्थिक वर्षमा सामुहिक लगानी कोषको भुमिका बढेको भए पनि व्यक्तिगत र संस्थागत लगानीकर्ताको भूमिका भने खुम्चिएको छ ।

आ.व. २०७३/७४ मा ४१० करोड रुपैयाँको कारोबार गरेका संस्थागत लगानीकर्ताले गत आ.व. मा जम्मा २२१ करोड रुपैयाँको कारोबार गरेका थिए जुन ४६.१४ प्रतिशतले कम हो ।

त्यसैगरि व्यक्तिगत लगानीकर्ताले आ.व. २०७३/७४ मा ३६५ अर्ब रुपैयाँको कारोबार गरेकोमा गत आ.व. मा २१५ अर्ब रुपैयाँ बराबरको कारोबार गरेका थिए जुन अघिल्लो वर्षको तुलनामा ४१.२३ प्रतिशत कम हो ।

समग्र कारोबारमा संस्थागत र व्यक्तिगत लगानीकर्ताको भूमिकाको विश्लेषण गर्दा गत वर्ष दोस्रो बजारमा २४२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो। जसमा सामुहिक लगानी कोषको भुमिका २.२९ प्रतिशत देखिएको छ ।

त्यसैगरी संस्थागत लगानीकर्ताको भुमिका समग्र कारोबारमा ९.१२ प्रतिशत देखिएको छ भने व्यक्तिगत लगानीकर्ताको भूमिका ८८.५९ प्रतिशतमा रहेको छ । जुन अघिल्लो वर्ष क्रमश ०.६७, १०.०३ र ८९.३० प्रतिशत रहेको थियो ।

कारोबार घट्नुलाई सरकारले चिन्ताको रुपमा लिनुपर्छ

समग्र अर्थतन्त्रको ऐनाको रुपमा रहेको शेयर बजारको कारोबार घटनुलाई चिन्ताकै रुपमा लिनुपर्छ । रोजगारीको न्यून अवसर भएको हाम्रो जस्तो देशमा यसले युवाहरुको लागि रोजगारीको राम्रो अवसर प्रदान गरेको छ ।

संगठित क्षेत्रमा अवसर नपाउने र पाए भने पनि साह्रै न्यून तलब सुविधा हुने तथा विदेशमा जान पनि सक्षम नभएका कतिपय युवाहरु यस क्षेत्रमा आकर्षित भएर आफ्नो रोजीरोटी चलाएको उदाहरण हाम्रो सामु छर्लङ्ग छ ।

बजारको स्थायित्वको लागि सामुहिक लगानी कोषको भुमिका वृद्धि हुँदै जानु आफैँमा राम्रो भए तापनी संस्थागत लगानीकर्ताको भुमिका खुम्चीनुलाई राम्रो मान्न सकिँदैन ।

एकातिर संस्थागत लगानकर्ताले १० प्रतिशत लाभकर तिरिरहेका हुन्छन् भने अर्कोतर्फ तिनले वार्षिक आय विवरण कर कार्यालयमा पेश गर्दा प्राप्त हुने समग्र नाफामा कर्पोरेट ट्याक्सको रुपमा ३० प्रतिशत कर तिर्नुपर्ने हुन्छ जुन १० प्रतिशत भन्दा बढी नै हो ।

अत: सरकारले संस्थागत लगानीकर्तालाई शेयर कारोबारमा प्रोत्साहित गर्नुपर्ने आवश्यकता देखिन्छ । अर्को तर्फ कारोबार घट्दा लाभकरमा नकारात्मक प्रभाव पर्न गई सरकारको राजस्व लक्ष्यमा समेत गम्भिर असर पर्छ ।

किन घटीरहेको छ शेयर कारोबार रकम ?

शेयर बजारमा लगानीकर्ताको आत्मविश्वासले ठूलो भुमिका खेलेको हुन्छ । आत्मविश्वास डगमगाएको अवस्थामा शेयरमूल्य जति नै सस्तो भए पनि खरिद गर्न नचाहनुको कारणले नै कारोबारमा कमी आउन जान्छ ।

शेयरमूल्यको आंकलन अन्तर्राष्ट्रिय रुपमा चलेको केही सुत्रको आधारमा सहजै गर्न सकिन्छ । त्यसैले होला घट्दो बजारमा पनि राम्रा कम्पनीको शेयर खरिद भएकै हुन्छ । त्यस्ता शेयर उठाउने लगानीकर्ता जाने बुझेकै हुन्छन् तथा तिनले सोही सुत्रको आधारमा खरिद गर्दा अल्पकालमा नभए पनि दीर्घकालमा घाटा हुँदैन भन्ने कुरामा उ ढुक्क भएको हुन्छ ।

उदाहरणको लागि कुनै पनि कम्पनीले विगतमा गरेको प्रगति तथा आगामी बर्षको गर्ने पर्फरमेन्स, प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात, जगेडा कोष, नेटवर्थको आधारमा यति सम्मको मुल्य उपयुक्त हुन्छ भन्ने आंकलन गर्न सकिन्छ । तर बजारमा अधिकांश लगानीकर्ता यो तथ्यलाई बिर्सेर हल्लाको पछि लाग्दा पनि खरिद चाप बढ्न नसकी बजार उल्टो लय अर्थात वियरिस ट्रेण्डमा गएको छ ।

अर्कोतर्फ बजारमा शेयर अधिक आपूर्ति (सप्लाई) भएको तथ्यलाई नकार्न सकिँदैन । अर्थशास्त्रको सिद्धान्त अनुसार पनि मागको तुलनामा सप्लाई बढी हुँदा बजारमूल्य घट्छ ।

हकप्रद र थप सार्वजनिक निष्काशन (एफपीओ) को रुपमा बजारमा थपिएको सप्लाईको बाढीलाई अहिलेको बजारको दायराले खपत गर्न सक्दैन । त्यसैले यसको कारणले बजार केही घट्नु स्वभाविकै हो ।

तर श्रावण लागि सकेपनि बजार घट्नुमा लगानीकर्ताको घट्दो आत्मविश्वासलाई अझै डगमागएर सस्तोमा शेयर उठाउने केही खेलाडीको चाललाई आम लगानीकर्ताले बुझ्नु जरुरी छ ।

लगानीकर्तामा आत्मविश्वास घटनुको कारण

अति संवेदनशील शेयर बजारलाई सानो सानो घटनाले पनि असर गरिरहेको हुन्छ । हरेक जसो देशमा बजेट प्रस्तुत हुने बेला र मौद्रिक नीति आउनु अगाडि शेयर बजारमा अनुमानको आधारमा घटबढ हुने प्रवृति हुन्छ । तर बजेट प्रस्तुत भैसकेपछि र मौद्रिक नीति आईसकेपछि त्यसले गरेको व्यवस्था अनुरुप बजारले केहि दिन आफ्नो प्रतिक्रिया ब्यक्त गर्छ र त्यस उप्रान्त बजार आफ्नो स्वभाविक गतिले अगाडि बढ्दै जान्छ ।

यसो हुनुमा अब सरकारले एक वर्षभित्र शेयर बजारलाई प्रत्यक्ष असर पार्ने कुनै पनि नीति ल्याउँदैन भन्ने मनोविज्ञानले काम गरेको हुन्छ । तर हाम्रो सन्दर्भमा त्यसो हुन सकेको छैन र त्यही कारणले आत्मविश्वास डगमगाएको अवस्था छ । आ.व. २०७५/७६ को बजेटले केही नीतिगत कुराहरुमा सम्बोधन गरेको छ । तर त्यस्ता नीतिगत व्यवस्थाको प्रभाव तुरन्त परिलक्षित नभई तिनले केहि समय लिन्छ नै ।

लगानीकर्तामा बजेट तथा मौद्रिक नीतिले ब्यक्त गरेको व्यवस्थाले बजार आजको भोलि नै भ्यगुता उफ्रे जस्तो उफ्रियोस् भन्ने मानसिकताले जरो गाडेको हुनाले नै बजारप्रतिको प्रतिक्रिया सुस्त हुन गएको छ । 

अर्को तर्फ बजेटले व्यक्तीगत लगानीकर्ताको लागि लाभकरमा ५० प्रतिशत वृद्धि गरेको कारणले बजारमा त्यसको प्रभाव केहि दिनसम्म रहन्छ । तापनी विस्तारै लगानीर्ताले त्यसलाई पचाएर बजार अगाडि बढिरहेको अवस्थामा पुन: बोनस र हकप्रद शेयरको आधार मूल्यको विवादले बजारलाई फेरि पछाडि फर्कन बाध्य पार्यों ।

यद्यपी त्यो ब्यवस्था हाललाई लागू नभई छलफलको क्रममै छ र भोलि के हुन्छ भन्ने कुरा गर्भमै छ तर यसले लगानीकर्तामा एउटा नराम्रो मनोवैज्ञानिक प्रभाव पार्यो र भोलि सरकारबाट यस्तै अन्य कुनै मुद्धा उठ्दैन भन्ने कुरामा विश्वस्त हुन नसक्नाले उनीहरुको आत्मविश्वास लज्जावतीको झार झैँ खुम्चीएको अवस्थामा छ ।

सरकार र आम लगानीकर्ता दुबैलाई बेफाईदा

यी समग्र परिदृष्यलाई विचार गर्दा यसबाट फाईदा भन्दा बेफाईदा बढी भएको छ । चालु आ.व. मा सरकारले ९ खर्ब रुपैयाँभन्दा बढीको राजस्व लक्ष्य लिएको छ । यही उदेश्य पूरा गर्न लाभकरमा वृद्धि गरिएको छ ।

लाभकर बढाएकाले नै लगानीकर्तको आत्म विश्वास डगमगाएको हुनाले श्रावण लागेपछि कारोबार र सूचक दुबै बढ्नुपर्ने अवस्थामा सूचक क्रमश: घट्दो छ भने कारोबार रकम औसतमा २५ करोडमा खुम्चीन गएको छ । यो अवस्थाको निरन्तरताले लाभकरको रुपमा सरकारले प्राप्त गर्ने राजस्वमा ठूलो गिरावट आई राजस्वको लक्ष्य प्राप्तीमा केहि भए पनि असर गर्छ ।

गत आ.व. २०७४/७५ को श्रावण १ गते देखिको ८ कारोबार दिनको जम्मा कारोबार ७८१ करोड रुपैयाँको तुलनामा चालू आ.व. २०७५/७६ को ८ कारोबार दिनको कारोबार २०० करोडमा सीमित भई ७४ प्रतिशतले घटेको छ । याे अवस्थालाई विचार गर्दा बजारमा कुनै सुधार हुन नसकेमा लाभकरमा गत आ.व. को तुलना उल्लेख्य कमी आउने अवश्यम्भावी छ । यसरी यो क्षेत्रबाट प्राप्त हुने राजस्व क्रमश बढ्दै जानु पर्नेमा घट्दै जानु अवश्य पनि शुभ संकेत होईन ।

यसरी लगानीकर्ताको संख्यामा भएको वृद्धि तथा मोफसलमा ब्रोकरको शाखा सञ्चालनमा आउनुको बावजुद गत आ.व. २०७४/७५ मा अघिल्लो आ.व.को करिब १ अर्ब ४६ करोडको तुलनामा ५० करोड रुपैयाँ मात्र उठ्न गएको तथ्यलाई मध्यनजर राख्दा चालू आ.व. को श्रावण लागेपछिको कारोबारको प्रवृतिको आधारमा लाभकरमा पुन गिरावट आउँदैन भनेर भन्नसक्ने अवस्था छैन । यसको साथै ब्रोकरको कमिशनमा लाग्ने (TDS) मा पनि कमी आउन जान्छ ।

अर्कोतर्फ लगानीकर्तामा आत्मिवश्वासको कमीले गर्दा बजार क्रमश घट्दै जाँदा आम लगानीकर्ता बजारबाट पलायन हुने अवस्था आउँछ जसलाई राम्रो मान्न सकिँदैन । बढ्दो आपूर्तिलाई खपत गर्न लगानीकर्ता थपिँदै जानुपर्नेमा झन् घट्दै जानु तथा सुशुप्त रहनुलाई सरकारले चिन्ताको रुपमा लिनैपर्छ। किनकी यसले कारोबारको मात्रामा प्रत्यक्ष असर गरी राजस्वको लक्ष्य प्राप्तीमा नकारात्मक प्रभाव पार्छ ।

ठूला तथा खेलाडी लगानीकर्तालाई मात्र फाईदा

ठूला लगानीकर्ता तथा खेलाडी लगानीकर्ता बादशाह अकबरका बुद्धिमान मन्त्री बिरवल जस्तै हुन् जसले समुद्रको छाल गनेर पनि पैसा कुम्ल्याउँछन् । यसको उदाहरणको रुपमा अहिले घटिरहेको बजारमा समेत बजारलाई झनै घटाएर सोझा साझा लगानीकर्तालाई शेयर बिक्री गर्न लगाई आफैँले खरिद गर्नुलाई लिन सकिन्छ ।

त्यस्ता खेलाडीले राम्रा कम्पनीको शेयर घटाएर खरिद गर्ने र पुन: केही समयपछि बढाउन लगाएर बिक्री गर्छन् । अनि फेरी घटाई खरिद गर्छन र बढाई बिक्री गर्छन् ।

अर्थमन्त्रीको राजीनामा आउने हल्ला चलाएर बजार १८ बिन्दुले बढाएर बिक्री गर्नु र पुन: त्यो त हल्ला मात्र हो भन्ने सन्देश प्रेषित गरेर बजार घटाउनुलाई यसैको उदाहरणको रुपमा लिन सकिन्छ । काठमाण्डौ केन्द्रित तथा सोझा लगानीकर्ताको बाहुल्यता भएको हाम्रो शेयर बजारमा त्यस्ता खेलाडीहरुको समूहले बजारलाई आफू अनुकूल चलाउन सफल भई फाईदा त लिएकै हुन्छन् ।

के गर्दा उत्तम हुन्छ त ?

अधिक आपूर्तीको कारणले बजार सूचक घट्नु स्वभाविक भए पनि अहिलेको घटाई स्वभाविक देखिँदैन । आत्मविश्वास बलियो हुँदा वियरिस ट्रेन्डमा पनि कारोबार उल्लेख्य भएको हुन्छ ।

अहिले विभिन्न कारणले लगानीकर्ताको आत्मविश्वासमा पहिरो गएको हुनाले सरकारले तिनको भयलाई निर्मूल गरी आत्मविश्वास पुरानै अवस्थामा ल्याउन प्रयास गर्नु उपयुक्त हुन्छ । यसबाट सबै पक्षलाई फाईदा हुन्छ भन्ने कुरामा शंका गर्नुपर्ने कारण देखिँदैन ।

हालसम्म प्रकाशित गत आ.व.को वित्तीय विवरण, तरलतामा भएको वृद्धिले आगामी दिनमा बैङ्क ब्याजदरमा कमी आउने, बैङ्कहरुले अन्तर्राष्ट्रिय बैङ्क तथा वित्तीय संस्थाबाट पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न ऋण लिने कार्यको शुरुवात भैसकेकाे छ ।

अनलाईन ट्रेडिङ्ग छिट्टै कार्यान्वयनमा आउनु तथा बैङ्कहरुबाट निकट भविष्यमै ब्रोकरको सेवा उपलब्ध गराईनु तथा समग्र अर्थ व्यवस्थाको सूचकहरु सकारात्मक हुनुजस्ता तथ्यहरुको आधारमा शेयर बजारको आगामी चाल सकारात्मक नै हुने देखिन्छ ।

यो तथ्यलाई मनन् गरी आम लगानीकर्ताहरुले बाली भित्र्याउने बेलामा संयमित भई ब्यवहार गरेमा ठूला खेलाडीको चंगुलमा फसेर सम्पत्ती गुमाउनुपर्ने अवस्था आउँदैन । धैर्य गर्न नसक्ने अनि हल्लाको पछि आँखा चिम्लेर कुद्ने प्रवृतिका लगानीकर्तालाई कठै भन्नु बाहेक अरु विकल्प देखिँदैन ।

(माथिकाे लेख अर्थ मन्त्रालयका उप सचिव लेखक भट्टरार्इकाे निजी विचार हाे ।)

comments powered by Disqus

अब निक्षेप सदस्यबाटै घरयासी नामसारी हुने, यस्ता छन् आवश्यक कागजात

Oct 20, 2018

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावलीलाई तेस्रो पटक संसोधन गर्दै शेयर नामसारी प्रणालीलाई सहज बनाएको छ। शेयर लगानीकर्ताले घरयासी र मृत्यु नामसारीका लागि आफूले हितग्राही खाता खाेलेकाे लाइसेन्सप्राप्त निक्षेप सदस्य (डीपी) बाटै आवश्यक प्रक्रिया पूरा गरेर नामसारी सेवा लिनसक्ने सिडिएससीले जनाएको छ ।