लगानीकर्ताको हकमा कुरा गर्ने हो भने १० कित्ता शेयर, विभिन्न निकायले गरेको कमाईको तथ्य हेर्नुहोस् ।
तथ्य केलाउनका लागि लघुवित्तको आईपिओको विवरण :
सामुदायिक लघुवित्तले एक सय रुपैयाँ अंकित दरमा ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपिओ निष्काशन गरेको थियो । लघुवित्तको ७ करोड रुपैयाँको चुक्ता पूँजी आईपिओ निष्काशन पश्चात १० करोड रुपैयाँ कायम भएको छ ।
लघुवित्तको आईपिओमा २ लाख ५५ हजार ३ सय १६ आवेदन परेकोमा २७ हजार ३ सय जना सर्वसाधारणले १० कित्ताका दरले शेयर पाएका छन् । संस्थाका कर्मचारी तथा सामुहिक लगानी कोषलाई छुट्याइएको ३० हजार कित्ता शेयर पाउनेहरुको विवरण यो सामग्रीमा समेटिएको छैन ।
कुन निकायले आईपिओका बेला कति रकम आम्दानी गर्छन् भन्ने आधारमा यहाँ तथ्य केलाउन खोजिएको छ । विभिन्न निकायले आईपिओका बेला गर्ने आम्दानीका शिर्षकहरुको सामग्री यस अघि प्रकाशित भैसकेको छ ।
...[एउटा कम्पनीको साधारण शेयर निष्काशन गर्दा कुन निकायले कति गर्छन् आम्दानी ?]...
अब हेरौं सामुदायिक लघुवित्तको आईपिओमा कसले कति कमायो ?
शेयर निष्काशन तथा बिक्री प्रबन्धक, नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गकाे आम्दानी :
- कम्पनीसँगको सम्झौता अनुसार निष्काशन शुल्क १ लाख ५० हजार रुपैयाँ ।
- आस्वा सदस्यले संकलन गरेको २ लाख ५५ हजार ३ सय १६ आवेदनको १० रुपैयाँका दरले २५ लाख ५३ हजार १ सय ६० रुपैयाँ ।
- उल्लेखित दुई शिर्षकबाट एसबिआई मर्चेण्ट बैंकले कूल २७ लाख ३ हजार १ सय ६० रुपैयाँ आम्दानी गरेको छ ।
- उल्लेखित आम्दानीको ५ प्रतिशतले हुने १ लाख ३५ हजार १ सय ५८ रुपैयाँ धितोपत्र बोर्डलाई एसबिआई मर्चेण्ट बैंकिङ्गले बुझाउनुपर्छ ।
- सो पश्चात एसबिआई मर्चेण्टको आम्दानी २५ लाख ६८ हजार २ रुपैयाँ हुन आउँछ ।
प्रत्याभुतकर्ता मर्चेण्ट बैंक, नेपाल एसबिआई मर्चेण्ट बैंकरको आम्दानी :
- सम्झौता अनुसार कमिशन निर्धारण गर्ने प्रचलन छ । सामुदायिक लघुवित्तको १ लाख ५० हजार कित्ता आईपिओलाई नेपाल एसबिआई मर्चेण्ट बैंकरले नै प्रत्याभुत गरेको छ। सम्झौता अनुसार कम्पनीले एसबिआई मर्चेण्ट बैंकरलाई आईपिओ प्रत्याभुत गरे वापत १ लाख ५० हजार रुपैयाँ कमिशन दिने उल्लेख छ ।
- उल्लेखित रकमको ५ प्रतिशतले हुने ७ हजार ५ सय रुपैयाँ धितोपत्र बोर्डलाई बुझाउनु पर्छ ।
- सो पश्चात एसबिआई मर्चेण्ट बैंकरको प्रत्याभुत कमिशन वापतको आम्दानी १ लाख ४२ हजार ५ सय रुपैयाँ हुन आउँछ ।
आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुको आम्दानी :
- धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाले प्रति आवेदन एक सय रुपैयाँ शुल्क लिन सक्ने व्यवस्था छ । तर आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाले निक्षेप आफ्नो बैंकबाट बाहिरिन नदिन फरक दर रेटमा आवेदन संकलन गरिरहेका छन् ।
- अहिले सबै बैंक तथा वित्तीय संस्थाले प्रतिआवेदन कम्तिमा २५ रुपैयाँ शुल्क लिँदै आएका छन् । यो रकमबाट प्रति आवेदन १० रुपैयाँ बिक्री प्रबन्धकलाई बुझाउनुपर्छ ।
- यस आधारमा ६३ आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्तको आईपिओमा आवेदन गर्ने २ लाख ५५ हजार ३ सय १६ जनाबाट १५ रुपैयाँका दरले ३८ लाख २९ हजार ७ सय ४० रुपैयाँ शुल्क आर्जन गरेका छन् ।
- जसमा सबैभन्दा धेरै हिस्सा ग्राहक संख्या तथा सि-आस्वा प्रयोगकर्ताका आधारमा एनआईसी एशिया बैंक तथा नेपाल इन्भेष्टमेण्ट बैंकको हिस्सामा धेरै पर्न आउँछ ।
केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) को आम्दानी :
- आईपिओ निष्काशनका दौरान सिडिएससीले आस्वा सफ्ट्वेयर शुल्क वापत २० हजार रुपैयाँ शुल्क सामुदायिक लघुवित्त कम्पनीबाट लिन्छ ।
- त्यसै गरि मर्मत सम्भार शुल्क २० हजार रुपैयाँ पनि सिडिएससीलाई कम्पनीले बुझाउनुपर्छ ।
- प्रशोधन तथा प्रमाणिकरण शुल्क वापत आईपिओका २ लाख ५५ हजार ३ सय १६ आवेदकबाट २ रुपैयाँका दरले ५ लाख १० हजार ६ सय ३२ रुपैयाँ सिडिएससीले शुल्क लिन्छ ।
- बाँडफाँडमा शेयर पाउने २७ हजार ३ सय आवेदकको खातामा शेयर जम्मा गरिदिने तथा प्रशोधन गरिदिने शिर्षकमा सिडिएससीले थप ७ रुपैयाँका दरले १ लाख ९१ हजार १ सय रुपैयाँ संकलन गर्छ ।
- उल्लेखित प्रकृया पश्चात सिडिएससीमा कम्पनीको आईपिओ दर्ता गर्दा १० करोड रुपैयाँ चुक्ता पूँजीको ०.०७५ प्रतिशतले हुने ७५ हजार रुपैयाँ शुल्क लाग्छ ।
- साथै सिडिएससीले कम्पनीबाट वार्षिक शुल्क वापत पहिलो वर्षको ५० हजार रुपैयाँ पनि लिन्छ ।
- उल्लेखित सबै शिर्षकबाट सिडिएससीले कूल ८ लाख ६६ हजार ७ सय ३२ रुपैयाँ आम्दानी गर्ने देखिन्छ । यो आम्दानीको ५ प्रतिशत रकम अर्थात ४३ हजार ३ सय ३७ रुपैंया सिडिएससीले नेपाल धितोपत्र बोडर्डलाई बुझाउनुपर्छ ।
- सो पश्चात सिडिएससीको आम्दानी ८ लाख २३ हजार ३ सय ९५ रुपैयाँ हुन आउँछ ।
नेपाल स्टक एक्सचेञ्जको आम्दानी :
- सूचीकरण निवेदन दस्तुर वापत नेप्सेले पहिलो चरणमा कम्पनीबाट १५ हजार रुपैयाँ लिनेछ ।
- सूचीकरण गर्दा चुक्ता पूँजी १० करोड रुपैयाँको ०.१० प्रतिशतले १ लाख रुपैयाँ हुन आए पनि सूचीकरण सम्बन्धमा गरिएको व्यवस्था अनुसार न्युनतम १ लाख ५० हजार रुपैयाँ नेप्सेले लिन्छ ।
- वार्षिक शुल्क वापत पहिलो वर्षको ५० हजार रुपैयाँ पनि नेप्सेले कम्पनीबाट लिनेछ ।
- उल्लेखित तीन शिर्षकबाट नेप्सेले कुल २ लाख १५ हजार रुपैयाँ शुल्क संकलन गरि धितोपत्र बोर्डलाई १ प्रतिशतले हुने २ हजार १ सय ५० रुपैयाँ बुझाएर २ लाख १२ हजार ८ सय ५० रुपैयाँ आम्दानी गर्छ ।
नेपाल धितोपत्र बोर्डको आम्दानी :
- निवेदन तथा दर्ता दस्तुर वापत बोर्डले कम्पनीबाट २० हजार रुपैयाँ शुल्क दिने गरेको छ ।
- त्यसै गरि बोर्डले प्रशोधन शुल्क वापत २५ हजार रुपैयाँ लघुवित्तबाट लिन्छ ।
- निष्काशित शेयर मूल्यको ०.२ प्रतिशत बोर्डमा बुझाउनु पर्ने व्यवस्था छ । तर चुक्ता पूँजी बराबरको शेयर बोर्डमा दर्ता हुँदा चुक्ता पूँजीका ०.२ प्रतिशत शुल्क बोर्डले संकलन गर्दै आएको छ । यस आधारमा लघुवित्तको १० करोडको चुक्ता पूँजीको ०.२ प्रतिशतले हुने २ लाख रुपैंया बोर्डको आम्दानी हो ।
- शेयर निष्काशन तथा बिक्री प्रबन्धक एसबिआई मर्चेण्टले आस्वा सदस्यबाट संकलन गरेको प्रति आवेदन १० रुपैयाँको ५ प्रतिशतले हुने १ लाख २७ हजार ६ सय ५८ रुपैयाँ पनि बोर्डलाई बुझाउँछ ।
- लघुवित्तको आईपिओलाई एसबिआई मर्चेण्ट बैंकरले नै प्रत्याभुत गरेको थियो । सो वापत एसबिआई मर्चेण्टले पाएको कमिशनको ५ प्रतिशतले हुने ७ हजार ५ सय रुपैयाँ धितोपत्रमा जान्छ ।
- लघुवित्त र एसबिआई मर्चेण्ट बैंकरका बीचमा शेयर निष्काशन सम्बन्धमा भएको सम्झौता अनुसारको निष्काशन शुल्कको ५ प्रतिशतले हुने ७ हजार ५ सय रुपैयाँ पनि बोर्डमा जान्छ ।
- विभिन्न शिर्षकमा सिडिएससीको आम्दानीमा उल्लेख भएको रकमको ५ प्रतिशत रकम वापत ४३ हजार ३ सय ३७ रुपैयाँ धितोपत्र बोर्डले आम्दानी गर्छ ।
- नेपाल स्टक एक्सचेञ्जले पनि आईपिओ सूचीकरण तथा दर्ता र वार्षिक शुल्कबाट हुने आम्दानीको १ प्रतिशतले हुने २ हजार १ सय ५० रुपैयाँ धितोपत्र बोर्डलाई बुझाउँछ ।
- उल्लेखित सबै शिर्षकहरुबाट धितोपत्र बोर्डले ४ लाख ३३ हजार १ सय ४५ रुपैयाँ आम्दानी गरेको देखिन्छ ।
माथि उल्लेखित सबै निकायले आईपिओ निष्काशनका दौरानमा गर्ने कामको लागतले धितोपत्र बोर्ड तथा नेप्से बाहेकका संस्थाको खुद आम्दानीको आकारमा संकुचन आउन सक्छ ।
यति कुरा गरेपछि ३ करोडको आईपिओ निष्काशन गर्दा सामुदायिक लघुवित्तको खर्च कति भयो भन्ने विषय पनि महत्वपूर्ण हुन्छ । माथि उल्लेख गरिएका सबैजसो शिर्षकमा सामुदायिक लघुवित्तको खर्च हुन्छ ।
आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट संकलन हुने आवेदन दस्तुर भने लघुवित्तले नभई लगानीकर्ताले व्यहोर्नुपर्छ । यस आधारमा आस्वा सदस्य बैंकले गर्ने आम्दानी तथा सोही शिर्षकमा एसबिआई मर्चेण्ट बैंकरले गर्ने आम्दानीमा लघुवित्तको कुनै योगदान हुँदैन ।
कम्पनीले गर्ने खर्चको सूची हेरौं :-
नेपाल एसबिआई मर्चेण्ट बैंकरलाई :
- निष्काशन शुल्क १ लाख ५० हजार रुपैयाँ ।
- प्रत्याभुतकर्ता कमिशन १ लाख ५० हजार रुपैयाँ।
- जम्मा ३ लाख रुपैयाँ ।
केन्द्रीय निक्षेप प्रणाली सिडिएससीलाई :
- आस्वा सफ्ट्वेयर शुल्क २० हजार रुपैयाँ ।
- मर्मत सम्भार शुल्क २० हजार रुपैयाँ ।
- आवेदन प्रशोधन तथा प्रमाणिकरण शुल्क ५ लाख १० हजार ६ सय ३२ रुपैयाँ ।
- शेयर पाउने आवेदकको खातामा शेयर जम्मा तथा प्रशोधन शुल्क १ लाख ९१ हजार १ सय रुपैयाँ ।
- आईपिओ दर्ता शुल्क ७५ हजार रुपैयाँ ।
- वार्षिक शुल्क वापत पहिलो वर्षको ५० हजार रुपैयाँ ।
- जम्मा ८ लाख ६६ हजार ७ सय ३२ रुपैयाँ ।
नेपाल स्टक एक्सचेञ्जलाई :
- सूचीकरण निवेदन १५ हजार रुपैयाँ ।
- शेयर सूचीकरण शुल्क १ लाख ५० हजार रुपैयाँ ।
- वार्षिक शुल्क वापत पहिलो वर्षको ५० हजार रुपैयाँ ।
- जम्मा २ लाख १५ हजार रुपैयाँ ।
नेपाल धितोपत्र बोर्डलाई :
- निवेदन तथा दर्ता दस्तुर २० हजार रुपैयाँ ।
- प्रशोधन शुल्क २५ हजार रुपैयाँ ।
- शेयर दर्ता शुल्क २ लाख रुपैयाँ ।
- जम्मा २ लाख ४५ हजार रुपैयाँ ।
सामुदायिक लघुवित्तले ३ करोड रुपैयाँको शेयर निष्काशन गर्दा उल्लेखित निकायलाई प्रत्यक्ष रुपमा जम्मा १६ लाख २६ हजार रुपैयाँ भुक्तान गर्नुपर्ने देखिन्छ । यसबाहेक विविध शिर्षकहरु : विज्ञापन, विवरण पत्र तथा आह्वानपत्र छपाई लगायतमा हुने ठूलो खर्चको आँकडा यहाँ समावेश गरिएको छैन ।
उल्लेखित सबै तथ्याङ्क सामुदायिक लघुवित्तको ३ करोडको आईपिओमा मात्र आधारित छन् ।
यसै अनुपातमा माथिल्लो तामाकोशी, मध्य भोटेकोशी जलविद्युत आयोजना लगायतका ठूला कम्पनीको आईपिओ निष्काशनमा अत्याधिक रकम शुल्कको रुपमा मात्र परिचालन हुने देखिन्छ ।
उल्लेखित जलविद्युत आयोजनासँगै नेपाल बैंक, एनएमबी बैंक, बुटवल पावर कम्पनीको एफपिओमा सिडिएससी, नेपाल स्टक एक्सचेञ्ज र धितोपत्र बोर्डको कमाई करोडको आकारबाट माथि गएको आँकलन गर्न सकिन्छ ।
प्रिमियममा साधारण शेयर निष्काशनको तयारीमा रहेको शिवम् सिमेन्टको शेयर अहिले कै व्यवस्था अनुसार निष्काशन भएको खण्डमा पनि नियामक निकायहरुले करोडौं रुपैयाँ आम्दानी गर्ने देखिन्छ ।
बिक्री प्रबन्धकको हकमा मौसमी रुपमा यस्ता शेयर निष्काशनले राम्रै आम्दानीको बाटो दिए पनि नियमित आम्दानी मान्न सकिन्न । त्यसमा पनि फरक फरक मर्चेण्ट बैंकरले शेयर निष्काशन गर्ने हुँदा यस्तो आम्दानी धेरै वटामा बाँडिने गर्दछ ।