यी घटनाहरुका कारण सिर्जित यातायात अवरोध, पेट्रोलियम लगायत बस्तु तथा सेवामा भएको मुल्य वृद्धि, सो मुल्य वृद्धिका कारण केन्द्रीय बैंकले ब्याजदरमा गरेको वृद्धि, ब्याजदर वृद्धिका कारण व्यवसायमा आएको संकुचन नै आर्थिक मन्दीको प्रमुख कारण देखिन्छ ।
नेपालको सन्दर्भमा माथि उल्लेखित तथ्यहरुका कारण केहि हदसम्म रहेको हुनाले धेरै आयात हुने छिमेकी मुलुक भारतको अर्थतन्त्रबाट प्रत्यक्ष प्रभाव पर्दछ । भारतमा मन्दीको खासै प्रभाव परेको देखिदैन । भनिन्छ, भारतमा यो आर्थिक बर्षमा ८ प्रतिशत भन्दा बढीको आर्थिक वृद्धी हुँदैछ । तर, यसको विपरित नेपालमा अर्थतन्त्र सिथिल छ । यहाँको अर्थन्त्रमा आएको सिथिलताको कारण विदेशी भन्दा आन्तरिक मामिला नै प्रमुख देखिन्छ ।
नेपाल राष्ट्र बैंकबाट आयात पक्षलाई निरुत्साहित गर्दा बाह्य क्षेत्र सबल देखिएपनि आन्तरिक अर्थतन्त्र सुस्त हुनुको प्रमुख कारण सेयर बजार र घर जग्गा उद्योगको चलाएमान नै प्रधान देखिन्छ । बिशेषगरी रेमिट्यान्सबाट आएको रकम र बैंक वित्तीय संस्था र सहकारीबाट विभिन्न शिर्षकमा प्रवाह भएको ऋण लगानी अधिकांश जग्गामा गएको छ । पछिल्लो समय जग्गाको भाउमा आएको उछालका कारण थप लगानी हुन सकेको छैन ।
चार बर्षअघि कर्जा/जिडिपी रेसियो ४० प्रतिशत हाराहारीमा थियो, जुन हाल १०० प्रतिशत नाघेको अवस्था छ । यति धेरै रकम ऋणको रुपमा प्रवाह हुँदा पनि देशमा औद्योगिक वातावरण बन्न नसक्नुको साथै रोजगारी वृद्धि हुन नसक्नु र जग्गाको भाउ दिन दुई गुणा, रात चैगुणा बढ्नुले माथिको कुरा थप स्पष्ट हुन्छ ।
यी तथ्यलाई मनन् गरेर नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा गएको लगानीलाई नियन्त्रण गर्न भन्दै २०७८ बाट कसिलो मौद्रिक नीति लागु गर्यो । जसको फलस्वरुप घडेरी उद्योग ठप्प जस्तै छ भने शेयर बजारको वियरिस यात्रा सुरु भयो । नेप्से इन्डेक्समा झन्डै ४४ प्रतिशतको गिरावट आएर १८०६ सम्म पुग्यो । तर, यहाँ राष्ट्र बैंकको नीतिमा कमी कमजोरी देखिन्छ ।
घडेरी उद्योग र शेय बजारलाई एउटै डालोमा हाल्नु किमार्थ सहि होइन । सेयर बजारमा किनबेच हुने प्रत्येक स्क्रिप्टको पछि एउटा सिंगो कम्पनी हुन्छ, जसले धेरै व्यक्तिलाई रोजगारी दिएरहेको हुन्छ र सरकारलाई कर तिरिरहेको हुन्छ।
राष्ट्रको सम्मुनत विकासको लागि पूँजी संकल तथा पूँजी परिचालन महत्वपूर्ण हुन्छ । शेयरबजार त्यो ठाउँ हो, जहाँ प्रत्येक व्यक्ति आ–आफ्नो गच्छे अनुसार आफूले रोजेको कम्पनीको मालिक हुन पाउँछ भने कम्पनीका संचालकहरुले पनि व्यवसाय विस्तार गर्न र थप नयाँ कम्पनी खोल्न पनि अतिरिक्त पूँजी प्राप्त गर्न सक्छन् ।
नेपाल धितोपत्र बोर्डको तथ्याङक अनुसार विगत दुई आर्थिक बर्षमा मात्र ७४ वाटा कम्पनीकाे आईपीओ आएको देखिन्छ । ती कम्पनीहरुमा हजारौं नेपालीले प्रत्यक्ष राजगारी पाएका छन भने अन्य दशौं हजार व्यक्तिहरु अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन । विगतमा १८ घण्टासम्म लोडसेडिङ भएको मुलुक आज विद्युत निर्यात गर्न सकेको तथ्य पनि यहाँ सारगर्मित हुन्छ । पूँजी बजारबाट रकम संकलन गरेर नै भारतमा रिलायन्स इन्डस्ट्रिजको स्थापना भएको थियो ।
संसारमा ठूला ठूला कम्पनीहरुको विकास र विस्तार हुनुमा पूँजी बजारको ठूलो भूमिका रहेको हुन्छ । जुन देशमा विकसित पूँजी बजार हुन्छ त्यही देशमा औधोगिकरण बढी भएको देखिन्छ । त्यसैले पूँजी बजारलाई अर्थतन्त्रको ऐना पनि भनिन्छ ।
नेपालमा पनि ठूला ठूला हाइड्रपावर तथा अन्य पूर्वाधार निर्माण गर्ने कम्पनीको स्थापना पूँजी बजारबाट रकम संकलन गरेर गर्न सकिन्छ । यो कुरा आईपीओमा पनि धेरै गुणा आवेदन परेको बाटै थाहा हुन्छ । यसको लागि विदेशीको मुख ताकिरहनुपर्ने आवश्कता छैन । यसरी स्थापित कम्पनीहरुमा लाखौं नेपालीले रोजगारी प्राप्त गर्न सक्ने छन । सरकारले पनि अबौं राजश्व संकलन गर्न सक्ने छन । तर, यहाँ सरकारमा बस्नेहरुले पूँजी बजारलाई अनुत्पादक भन्दै हतोत्साहित गर्न खोज्छन ।
समग्रम शेयरमा गरिएको लगानी अनुत्पादक होइन । नेपालको हालको आर्थिक सूस्तताबाट मुक्ति पाउन तथा राष्ट्रको समग्र विकासको लागि शेयर बजारको विकास गर्नु पहिलो आवश्यकता हो । जहाँसम्म दोस्रो बजारमा हुने मूल्य घटबढको सवाल छ, दोस्रो बजारबाट नाफा हुने भएकोले नै प्राथामिक बजारमा लगानी गर्ने हो । यदि दोस्रो बजारमा नाफा सुरक्षित हुँदैन भने आईपीओमा पनि कसैले लगानी गर्नेवाला छैन ।
पूँजी बजारको वर्तमान अवस्थामा सुधार आउन नसकेको खण्डमा आगामी बैशाखमा हुने भनिएको लगानी सम्मेलनबाट पनि खासै उपलब्धी हुने देखिदैन । विदेशी लगानीकर्ताहरुले पक्कै पनि नेपाली शेयर बजारमा हेर्ने छन । आन्तरिक लगानीकर्ताहरु सबै चुर्लुम्म डुबेको बजारमा लगानी गर्न कोही बिदेशी लगानीकर्ता आउने छैनन् । ढुक्क भए हुन्छ ।