विसं २०८० का प्रमुख आर्थिक घटना, ०८१ मा के होला ?

Apr 13, 2024 10:55 AM Merolagani


विसं २०८० सकिएको छ र अब २०८१ शुरु भएकाेछ । एउटा वर्ष सकिएर अर्काे वर्ष सकिनु प्राकृतिकरुपमा नियमित घटना हो, तर देशको सामाजिक आर्थिक र राजनीतिक र पारिवारिक घटनाक्रम तथा व्यक्तिगत विकासको लागि वर्ष परिवर्तन हुनु सामान्य विषय मात्र होइन ।

किनकी हरेक पटक नयाँ वर्षको लागि केही न केही नयाँ काम गर्ने प्रतिवद्धताहरु व्यक्त गरिन्छन् । ती प्रतिवद्धताहरु कति कसरी पुरा भए र कति किन पुरा भएनन् ? त्यसको वस्तुपरक लेखा जोखाले मात्रै नयाँ वर्ष कसरी वित्छ भन्ने स्पष्ट हुन्छ ।

देशको अर्थतन्त्रको आधारमा हेर्दा आर्थिक वर्ष सकिन अझै ३ महिना बाँकी छ । चालु आर्थिक वर्षको ९ महिना मात्र वितेको छ ।  आर्थिक वर्षको अन्तिम तीन महिना भनेको सरकारको खर्च र भुक्तानी प्रणालीमा ‘चमत्कार’ हुने महिना हुन् । आर्थिक क्षेत्रका विज्ञहरु सरकारी कार्यालयहरुको लागि आर्थिक वर्षको ९ महिनासम्म सुतेर बस्ने, १० औं महिना अर्थात बैशाख उठेर काम गर्नको लागि शरिर तन्काउने र ११ औं तथा बाह्रौं महिना अर्थात जेठ र असार ‘काम गर्ने र खर्च गर्ने’ महिनाको रुपमा रहने गरेको बताउछन् ।

खर्च र भुक्तानीको महिना भएकोले पनि आर्थिक क्षेत्रमा जति पनि ठूला अपराध र गैरकानुनी काम हुन्छन्, त्यो यिनै दुई महिना जेठ, असारमा हुन्छन् । त्यसमाथि आउँदो आर्थिक वर्षको बजेट पनि यही बेला घोषणा हुने भएकोले अर्थतन्त्रमा बास्तविक चाप यही बेला पर्छ । मूल बाटो र चोर बाटोबाट राजनीतिक र प्रशासनिक तथा व्यापारिक क्षेत्रबाट हुने ‘निर्णायक खेल’हरु यही बेला हुन्छन् । त्यसैले आर्थिक वर्षका अन्तिम दुई, तीन महिना देशको विकास (यथार्थमा भन्दा चांही बर्बादी)का लागि सबैभन्दा महत्वपूर्ण समय हुन् ।

त्यो आधारमा विश्लेषण गर्दा सुक्रबार मध्यरातबाट सकिने विसं २०८० मा आशा जगाउने गरि आर्थिक क्षेत्रमा सम्भवतः एउटै पनि उल्लेख्य घटना भएन । बरु आर्थिक क्षेत्रमा निराशाका घटनाहरु चरमरुपमा देखा परे।२०८० मा भएका केही मुख्य आर्थिक घटनाहरुलाई यसरी सूत्रवद्ध गर्न सकिन्छ।

१. शेयर बजार

शेयर बजारको लागि विसं २०८० फगत ‘नियमित आकस्मिकता’ बाहेक केही बनेन । २०७९ को अन्तिम नेप्से परिसूचक १९३४ थियो भने २०८० को अन्तिम परिसूचक २०२५ रहेको छ । अर्थात २०७९ को तुलनामा २०८०मा नेप्से परिसूचक ९१ अंकले बढ्यो, जुन आफैमा कुनै ठूलो घटना होइन । यसै पनि शेयर बजार हल्लै हल्लाको
क्षेत्र मानिन्छ । २०८०मा पनि त्यस्ता हल्लाहरु बर्षभरि नै नियमित चलिरहे । तर, शेयर बजार मैत्री मानिएका डा.प्रकाश शरण महत अर्थमन्त्री हुँदासमेत सरकारले शेयर बजारको विकास र विस्तारको लागि कुनै काम गरेन, गर्न सकेन । बरु पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न नसकेर सरकारले आफ्नो अर्कमण्यता फेरि देखायो । नियुक्ति प्रकृया अन्तिम चरणमा पुगेकै बेला नयाँ अर्थमन्त्री बर्षामान पुनले सम्पूर्ण प्रकृया नै रोकिदिए, त्यसले गर्दा थप अन्योल सृजना भएको छ ।

२. बैंक तथा वित्तीय क्षेत्र

२०८० भरि नै बैंकिङ क्षेत्र तरंगित रह्यो । कहिले व्याजदरको कारण राष्ट्र वैंक र वैंकरहरुबीच विवाद चर्कियो त कहिले तत्कालिन अर्थमन्त्री डा.महत र गभर्नर महाप्रसाद अधिकारी बीचको विवादले चर्चा पायो । त्यस्तै यो वर्षभरि नै दुर्गा प्रसाईंको आन्दोलनको कारण वैंकिङ क्षेत्र आतंकित बन्यो । तत्कालिन सेन्चुरी वैंक प्रकरणमा प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले १ दर्जन वैंकरहरुलाई पक्राउ गरेको घटना यो वर्षकै सबैभन्दा ठूलो ‘बैंकिङ’
घटनाहरु मध्येको एक हो । सहकारी संस्थाहरुमा देखिएको समस्या पहिलेदेखिकै समस्या हो । तर, यो वर्ष
यो समस्या उत्कर्षमा पुग्यो । थुप्रै सहकारीकर्मीहरु पक्राउ परे भने थुप्रै सहकारीकर्मीहरु भागाभागको अवस्थामा छन् । सहकारीले पैसा डुबाइदिएर बिचल्लीमा पर्नेहरुको संख्या दिनहुँ बढ्दो छ । सहकारी ठगी काण्डमा मुछिएका रवि लामिछाने पुनः गृहमन्त्री बन्नुलाई यो वर्षको प्रमुख आर्थिक घटना मध्येको एक मान्नुपर्छ ।

३. बीमा क्षेत्र

बीमा क्षेत्रको विकास र विस्तारको लागि यो वर्ष केही काम भयाे । आर्थिक वर्ष २०८० मा २४ वटा कम्पनीले आइपीओ निष्कासन तथा बिक्रीका लागि अनुमति पाए । जसमध्ये चारवटा जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आइपीओ बिक्रीका लागि अनुमति पाए भने एक पुनर्बीमा कम्पनीले अनुमति पायाे ।

उता सरकारले कृषि तथा पशुपंक्षी बीमाको अनुदान रोक्का गरेकोले बीमा कम्पनीहरु र त्यसबाट अनुदान पाउने किसानहरुको बिचल्ली भैरहेको छ । बीमा कम्पनीहरुले आफ्नो व्यापार विस्तार गर्नुको साटो कृषि तथा पशुपंक्षी बीमाको पोलिसी जारी गर्न नै कटौती गरे भने अरु कतिपय पोलिसीहरुमा पनि नियन्त्रण गरे ।

४. कृषि क्षेत्र
कृषि क्षेत्रमा पनि यस बर्ष कुनै उल्लेख्य सकारात्मक घटना भएन । सिट्रस ग्रिनिङ नामक रोगको कारण देशभरका सुन्तला र जुनार नासिदै गैरहंदा पनि त्यो रोग नियन्त्रणको लागि कुनै कदम नचालेको सरकारले २०८० को अन्तिम दिन सुक्रबार सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । जुन ...को न्यानो भन्दा अरु केही होइन । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा तत्कालिन कृषिमन्त्री डा.बेदुराम भुषालले गरेको हस्तक्षेपको कारण थप तहस नहस हुन पुगेको छ । सरकारले झण्डै १५ महिना देखि खाली रहेको नार्कको कार्यकारी निर्देशक नियुक्ति गर्न नसकेर अहिले पनि निमित्तको भरमा चलाइरहेको छ । भारतबाट अन्धाधुन्द रुपमा गरिने आयात नियन्त्रण नगरिदां कहिले दूग्ध किसान त कहिले गोलभेंडा किसानहरुले आफ्नो उत्पादन सडकमा फालेर सरकारप्रति आक्रोस पोखे । सरकारले समस्या समाधानको लागि किसानलाई आश्वासन दिए पनि अझैसम्म प्रभावकारी कदम चाल्न सकेको छैन ।

५.पर्यटन क्षेत्र
यो वर्ष पर्यटन क्षेत्रको लागि औसत रह्यो । पर्यटक आवागमन केही मात्रामाबढेकोले होटल तथा रेष्टुराँले केही हदसम्म राहत पाए । त्यहीक्रममा काठमाण्डौ लगायतका देशका प्रमुख शहरहरुमा होटलहरु खुल्ने क्रम बढेको छ । तर, होटलको संख्या र क्षमता अनुसार आउंदो वर्षमा पर्यटक आवागमन हुन्छ कि हुँदैन भन्ने चिन्ता यथावत छ । पर्यटन क्षेत्रकै कुरा गर्दा तत्कालिन पर्यटन मन्त्री सुदन किराँती र नेपाल वायुसेवा निगम तथा नागरिक उडड्यन प्राधिकरणको नेतृत्वबीच निरन्तर विवाद चलिरह्यो । किराँतीले ती दुवै संस्थाका प्रमुखहरुलाई हटाउनको लागि पटक पटक स्पष्टिकरण सोधे पनि हटाउन सकेनन् । त्यस्ले गर्दा मन्त्रीको निरन्तरको दवाब र विवादका कारण दुवै निकाय थप कमजोर बन्न पुगेका छन् । यी बाहेक पनि यो वर्ष मिटरव्याज पीडितको सडक आन्दोलन, वैदेशिक रोजगारको क्रममा रुस पुगेका युवाहरुको निधन र बेपत्ता हुने क्रम निरन्तर बढिरहेको छ । शहरमा टिक्न नसकेर नेपालीहरु विस्तारै पलायन हुँदैछन् । त्यसले गर्दा यो वर्ष शहर बजारका धेरै सटरहरुमा ‘टु—लेट’का सूचनाहरु देखिए । आउंदो वर्ष पनि त्यो क्रम बढ्ने निश्चित देखिएको छ ।

 

 

 

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।