राप्रपाले गत चैत २७ काठमाडाैंमा गरेको जनप्रदर्शनका क्रममा भृकुटीमण्डपमा फोहोर गरेको र ट्राफिक आइल्यान्ड भत्काएको भन्दै महानगर प्रमुख बालेनले २२२ रुपैंया तिर्न आदेश दिएका छन् । तर राप्रपा अध्यक्ष लिङदेनले पनि कुनै पनि हालतमा त्यो रकम नतिर्ने, महानगरले जर्वजस्ती तिराउन खोजे अदालत जाने चेतावनी दिएका छन् ।
मेयर बालेनको निर्देशन पछि महानगरपालिकाको वातावरण विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले अघिल्लो साता राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नाममा पत्र पठाएर तीन दिनभित्र महानगर कार्यालयमै उपस्थित भएर जवाफ दिन भनिएको थियो ।
लिङदेनको तर्फबाट उक्त पत्रको जवाफ सहित आइतबार राप्रपा केन्द्रीय सदस्य तथा अधिवक्ता राजु बस्नेतले महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, वातावरण विभाग प्रमुख रवीन्द्रमान श्रेष्ठ, कानून तथा मानवअधिकार विभाग प्रमुख वसन्त आचार्य र नगर प्रहरी प्रमुख राजु पाण्डेसँग छलफल गरेका थिए ।
छलफलका क्रममा महानगरका अधिकारीहरूले ट्राफिक आइल्यान्डको तीनवटा ईंट्टा निस्किएको र २२२ रुपैयाँ बराबरको क्षति भएको विवरण दिंदै त्यो रकम राप्रपाले जरिवाना तिर्नुपर्ने आदेश दिएका थिए । तर, बस्नेतले महानगरपालिकाले त्यति नगण्य क्षतिलाई पनि ‘इगो’ बनाएर राप्रपासंग निहुँ खोज्ने नियतले मात्र जरिवाना तिर्ने आदेश दिएको दावी गर्दै कुनै पनि हालतमा त्यो रकम नतिर्ने, आवश्यक परे अदालत जाने चेतावनी दिएका थिए ।
‘ठूला पार्टीले जे गरे पनि हुने, हामीलाई भने त्यति सानो कुरामा पनि पत्रै काटेर जरिवाना तिर्न आदेश दिनु महानगरपालिकाले राप्रपालाई तर्साउन खोजिएको छ । यो हामी मान्दैनौं,’ बस्नेतको भनाई छ। महानगरपालिकाले भने कति पैसा भन्नु भन्दा पनि नियमको परिपालनालाई ख्याल राखेर जरिवाना तिर्न आदेश दिएको र त्यो कुनै पनि हालतमा पालना गराएर छोड्ने चेतावनी दिएको छ ।
स्मरणरहोस् यस अघि पनि महानगरपालिकाका मेयर साह र राप्रपाबीच चर्का चर्की परिसकेको छ । धुम्बाराहीमा रहेको राप्रपा पार्टी कार्यालय ‘हाइटेन्सन लाइन’ मुनी रहेको भन्दै महानगरले भत्काउन आदेश दिएपछि राप्रपा मेयर साहविरुद्ध आन्दोलित भएको थियो । पछि अदालतले पार्टी कार्यालय नभत्काउन आदेश दिएपछि महानगर निर्णय फिर्ता लिन वाध्य भएको थियो ।