लकिङ पिरियड सकिने बेला आकर्षक लाभांश घोषणा गर्ने प्रवृत्ति बढ्दो, सीइडीबी हाइड्रो र सुर्य ज्योति लाइफले घोषणा गरे आकर्षक लाभांश

Apr 25, 2024 03:15 PM MeroLagani

बाबुकृष्ण महर्जन

कम्पनीको संस्थापक शेयरको लकिङ पिरियड सकिने समयमा आकर्षक लाभांश घोषणा गर्ने प्रवृत्ति पछिल्लो समय मौलाउँदै गएको छ । लकिङ पिरियड सकिएपछि संस्थापक शेयरधनीले पनि निर्वाध शेयरको किनबेच गर्न सकिने हुँदा बजारमा बढ्दो शेयर आपूर्ति रोक्न संस्थापकहरुले आकर्षक लाभांशको ललिपप दिएर आपूर्ति रोक्न कोसिस गरेको देखिन्छ ।

संस्थापकको लकिङ पिरियड सकिनु अगाडिसम्म आकर्षक दरमा कारोबार भइरहेको कम्पनीको शेयर पनि लकिङ पिरियड खुलेपछि भने न्यून दरमा कारोबार हुने गरेकाले यस्तो आकर्षक लाभांश बाँड्ने गरेको लगानीकर्ताहरु बताउँछन ।

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लकिङ पिरियड यही बैशाख ३१ गते सकिंदैछ । कम्पनीको शेयर सर्वसाधारणमा निष्काशन भएर कारोबार हुन थालेको तीन वर्ष पुग्दैछ । नेप्सेको रेकर्ड अनुसार २०७८ को जेठ २५ मा कम्पनीको शेयर सुचीकरण भएको थियो । आइपीओ निष्काशन गरेदेखि कुनै पनि लाभांश घोषणा नगरेको कम्पनीले लकिङ पिरियड सकिने बेलामा ११ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर बापत ०.५७८९ प्रतिशत नगद लाभांश गरी कुल ११.५७८९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीले साधारण सभा समेत बैशाख ३१ गते नै आह्वान गरेको छ र बैशाख १८ बुक क्लोजको मिति तय गरेको छ । बैशाख १८ पछि शेयर खरिद गर्ने लगानीकर्ताले कुनै लाभांश पाउँदैन । ‘लकिङ पिरियड सकिने बेलामा मात्रै लाभांश घोषणा गर्नु भनेको सर्वसाधारणलाई कम्पनीको शेयरमा लोभ्याउन खोजेको मात्रै हो ।’–एक लगानीकर्ताले मेरोलगानीलाई भने –‘बम्पर बोनस शेयरको लोभले लगानीकर्ताले कम्पनीकाे शेयर धेरै नबेचोस् भन्ने नै हो । लकिङ पिरियड सकेपछिको कारोबारमा संस्थापकले उच्च मूल्यमा शेयर बेच्न खोज्नु नै यस्तो घोषणाको मुख्य उद्देश्य हो ।’

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी मात्रै होइन, हालै सुर्यज्योति लाइफ इन्स्योरेन्सले पनि सोही तरीका अपनाएको थियो । सुर्यज्योति इन्स्योरेन्स १५ औं वर्ष पार गरेको पुरानो कम्पनी हो । बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्सले चुक्ता पुँजी वृद्धि गरेर ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्देशन दिएपछि सुर्या लाइफ र ज्योति लाइफ मर्जर भएर सुर्यज्योति लाइफ इन्स्योरेन्स बनेको हो । सूर्या लाइफ इन्स्योरेन्सले विगतमा न्यूनतम ५ देखि १४.२५ प्रतिशतसम्म लाभांश दिएको इतिहास छ भने ज्योति लाइफसँग मर्जर भएपछि लाभांश नै वितरण गरेको छैन ।

मर्जरपछिको आव २०७८।७९ विना लाभांश साधारण सभा गरेको थियो भने आव २०७९।८० मा भने कम्पनीले १० दशमलब २६ प्रतिशत बोनस शेयर र २४ दशमलब ७४ प्रतिशत नगद लाभांशसहित ३५ प्रतिशतको बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको संस्थापक समूहको शेयर,संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको शेयर र कर्मचारीहरुलाई सुरक्षित गरिएको शेयर गरी १ करोड ४२ लाख ६६ हजार ३ सय २३ कित्ता शेयरको लकिङ पिरियड २०८० चैत्र २० गते समाप्त हुने थियो । लकिङ पिरियड समाप्ति हुने समयमै कम्पनीले अहिलेसम्म नबाँडेको लाभांश घोषणा गरेर सर्वसाधारण लगानीकर्ता आकर्षित गर्न खोजेका थिए । सुर्यज्योतिले लाइफ इन्स्योरेन्स बैशाख २१ गते साधारण सभा गर्दैछ भने कम्पनीले यही बैशाख ७ गते बुक क्लोज गरिसकेको छ । कम्पनीले लकिङ पिरियड पछि शेयरको सप्लाई रोक्न नै बम्पर लाभांश घोषणा गरेको लगानीकर्ताको दाबी छ । ‘औसतमा १० देखि १५ प्रतिशतसम्ममा लाभांश बाँड्ने सुर्यज्योति लाइफले अघिल्लो वर्ष लाभांश समेत बाँडेन तर लकिङ पिरियड सकिने समयमा खुल्ने दिन नै पारेर बम्पर लाभांश किन घोषणा गर्नुपर्यो ?’–ती लगानीकर्ता प्रश्न गर्छन ।

नेपालको पुँजी बजारमा सुचीकृत भएका कम्पनीका संस्थापकहरुले न्यूनतम तीन वर्षसम्म आफ्नो शेयर बेच्न नपाउने प्रावधान छ । बैंक र बीमा बाहेकका हाइड्रोपावर र अन्य उत्पादनमूलक कम्पनीको हकमा यही प्रावधान लागू हुन्छ । अझ राष्ट्र बैंक र बीमा प्राधिकरणले स्वीकृति प्रदान गरेका कम्पनीहरुको हकमा ५१ प्रतिशत संस्थापक समूह राखेर ४९ प्रतिशतसम्म सर्वसाधारणको स्वामित्व परिवर्तन गर्न सकिने अवस्था छ । साधारणतया बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले शेयर निष्काशन गर्दा सर्वसाधारण समूहको ३० प्रतिशत शेयर सुनिश्चित गरिएको हुन्छ । तीन वर्षपछि नियामक निकायको स्वीकृतिमा सर्वसाधारणको हिस्सा अधिकतम ४९ प्रतिशतसम्म पुर्याउन सकिने व्यवस्था छ । बीमा र बैंक तथा वित्तीय संस्थाको हकमा नेप्सेमा संस्थापक समूह र सर्वसाधारण भनेर छ्ट्टाछुट्टै नै कारोबार हुने व्यवस्था छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले दिने प्रतिफल क्रमशः घटदै गएपछि संस्थापक समूहको शेयर लिलामीको विज्ञापन बग्रेल्ती दैनिक पत्रिकाहरुमा देख्न पाइन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।