प्रिमियम रकम बोनस स्वरूप वितरण गर्न बिमा प्राधिकरणले बाटो खोल्यो, आइएमइ लाइफले कति बोनस शेयर दिन सक्छ ?

May 01, 2024 05:33 PM merolagani

सुवास निरौला

प्रिमियम रकम बोनस स्वरूप वितरण गर्न बिमा प्राधिकरणले बाटो खोलेको छ। 

प्राधिकरणले चुक्ता पूँजी वृद्धि गर्न मात्रै प्रिमियम रकम खर्च गर्न सक्ने गरी बाटो खाेलेको हो। “ हामीले प्रिमियमबाट सङ्कलित रकम पूँजी वृद्धि गर्नको लागि उपयोग गर्न दिने भएका छौ ” बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मेरो लगानीसँग भने।

सिलवालका अनुसार प्रिमियममा शेयर निष्कासन गरेका कम्पनीले बोनस शेयर दिएर पूँजी वृद्धि गर्न पाउने छन्। तर कम्पनीहरूले बोनस शेयर दिन बाहेक अरू कुनै पनि शीर्षकमा खर्च गर्न पाउने छैनन्। बोनस शेयर दिँदा लाग्ने कर स्वरूपको रकम भने उनीहरूले सोही रकमबाट दिन पाउने छन्। प्राधिकरणले बाटो खोलेपछि अब प्रिमियममा शेयर निष्कासन गरेका बिमा कम्पनीहरूले सङ्कलित प्रिमियमबाट बोनस शेयर वितरण गर्न सक्ने छन्।

तर यता सार्वजनिक लेखा समितिले भने सङ्कलित प्रिमियम रकम खर्च नगर्न निर्देशन दिएको छ। समितिले प्रिमियमबाट सङ्कलित रकम जगेडा कोषमा राख्न भनेको छ।  यस सन्दर्भमा समितिले दिएको निर्देशन के हुन्छ भन्ने प्रश्नमा सिलवाल भन्छन् ” हामीले खर्च गर्न दिने भनेकै छैन। कम्पनीको पूँजी वृद्धि गर्न दिने मात्रै भनेको हो। यसले समितिको निर्देशनको अवज्ञा गरेकै छैन। कम्पनीको पैसा कम्पनीमै रहने हो। समितिले भनेको पनि त्यही हो”।

त्यसै कोषमा रकम फ्रिज भएर बस्दा कम्पनीहरूले तोकिएको चुक्ता पूँजी पुर्‍याउन नसक्ने अवस्था आयो। बरु त्यसलाई पूँजीकृत गरिए त्यसको सदुपयोग हुने सिलवालको तर्क छ।

यसअघि बिमा कम्पनीहरूको सङ्गठनले बैठक गरी प्रिमियमको रकम जगेडा कोषमा राख्ने निर्देशनमा पुनर्विचार गरियोस् भन्ने निर्णय गरेको थियो। सो निर्णयको बोधार्थ सार्वजनिक लेखा समितिलाई समेत प्राप्त भएको लेखा समितिका सचिव एकराम गिरीले बताए। “बिमा कम्पनीहरूको सङ्गठनले प्रिमियमको रकम जगेडा कोषमै राख्न दिएको निर्देशनमा पुनर्विचार गरियोस् भन्ने पत्र आएको थियो। सो पत्रको बारेमा माननीय सांसदज्युहरूलाई जानकारी दिइसकिएको छ। तर त्यस विषयमा समितिमा कुनै छलफल र निर्णय भने भएको छैन” गिरीले भने।

तर उक्त निर्णयको बोधार्थ पाएको बिमा प्राधिकरणले भने उनीहरूको अनुरोधलाई स्वीकार गरेको छ। सोही कारण उसले बोनस वितरण गर्न बाटो खोलिदिएको छ। प्राधिकरणको यो निर्णयबाट चार कम्पनीलाई प्रत्यक्ष प्रभाव पार्नेछ किनकि अहिलेसम्म चार कम्पनीले प्रिमियममा शेयर निष्कासन गरेका छन् जसमा सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, सिटिजन्स लाइफ र आइएमइ लाइफ छन्।

चार कम्पनीले बोनस शेयर वितरण गर्न सक्ने भए पनि चालु वर्ष भने शेयरधनीले एक कम्पनीबाट मात्रै बोनस शेयर पाउन सक्ने सम्भावना छ किनकि सिटिजन्स लाइफ र रिलायबल लाइफले यस वर्ष लाभांश वितरण गरिसकेका छन्। उनीहरूले वितरण गरेको लाभांश नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत समेत भइसकेको छ। सन नेपाल लाइफले भने भर्खरै मात्रै बुक क्लोज मिति घोषणा गरेको छ। आउने वैशाख २७ गते कम्पनीले बुक क्लोज मिति तय गरेको छ।

आइएमइ लाइफले भने लाभांश घोषणा गरिसकेको छैन जसले गर्दा उसले भने यस वर्ष नै प्रिमियम रकमबाट बोनस शेयर वितरण गर्न सक्छ। तीन कम्पनीले भने यस वर्ष नै शेयर निष्कासन गरेको कारण उनीहरूले यसै पनि यस वर्ष प्रिमियमबाट सङ्कलित रकमबाट बोनस शेयर दिन पाउँदैन थिए। तर आउने वर्ष उनीहरूले बोनस शेयर वितरण गर्न सक्ने छन्। आइएमइ लाइफले भने गत वर्ष नै शेयर निष्कासन गरेका कारण उसले यस वर्ष नै बोनस शेयर वितरण गर्न सक्छ। आइएमइसँग एक अर्ब रुपैयाँ प्रिमियमबाट सङ्कलित रकम छ। जुन सबै बोनस शेयर दिन उपयोग गर्दा उसले यस वर्ष ३८ प्रतिशतसम्म बोनस शेयर लाभांश स्वरूप दिन सक्छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।