कतारलाई दुईवटा हात्ती उपहार पठाउंदा लाग्ने करिब १५ करोड रुपैंया कस्ले बेहोर्ने भन्नेमा अझै अन्योल

May 04, 2024 11:12 AM Merolagani

केही दिन अघि कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदा नेपाल सरकारले उपहारस्वरूप दिने घोषणा गरेको खगेन्द्रप्रसाद र रुद्रकली नामक दुईवटा हात्ती त्यसतर्फ पठाउन आवश्यक तयारी शुरु भएको छ । 

त्यसको लागि दुवै देशबीच सम्झौता गर्ने तयारी भैरहेको छ । त्यस्तै साईटीसका प्रक्रिया अबलम्बन गर्ने काम पनि भैरहेको छ ।दुई हात्ती पठाउनको लागि करिब १५ करोड रुपैंया लाग्ने भएको छ भने हात्तीको स्याहार सुसारको लागि माउतेसहित ६ जना कामदार पनि कतार लगिने भएको छ ।

चितवनमै जन्मे, हुर्केका दुवै हात्तीलाई विशेष प्रकारको खोर बनाएर काठमाण्डौसम्म ट्रकमा र त्यहाँबाट कार्गाे जहाजमा लैजाने तयारी गरिएको छ ।कतार पठाउन तयारी अवस्थामा राखिएको खगेन्द्रप्रसादको तौल १,१९० किलो र रुद्रकलीको वजन १,२०० किलो छ ।

हात्तीको पठाउंदा लाग्ने खर्च कतारले वेहोर्ने कि नेपालले भन्ने निश्चित भै नसकेको तर नेपाल सरकारले कतारले नै खर्च बेहोरिदिओस् भन्ने अपेक्षा राखेको बन मन्त्रालयका एक अधिकारीले मेरो लगानीलाई जानकारी दिए । उनका अनुसार कहिले पठाउने भन्ने यकिन मिति टुंगो लागि नसकेको भए पनि प्रधानमन्त्री कार्यालयबाट ‘छिटो तयारी गर्नु’ भन्ने आदेश आएको छ र त्यहीअनुसार बन मन्त्रालयले आवश्यक प्रकृया गरिरहेको छ ।

त्यहीक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको एक टोली हालै कतारमा हात्ती राखिने ठाउँको अध्ययन गरेर फर्किएको छ भने कतारको एक टोलीले केही दिनसम्म चितवनमै बसेर ती दुई हात्तीको दैनिक गतिविधि अध्ययन गरेर फर्किएको छ ।

विभागका वरिष्ठ इकोलजिस्ट मनोज शाह, चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजयकुमार श्रेष्ठ र हात्ती विज्ञ अशोक राम लगायतको टोलीले कतारमा एक सातासम्म बसेर नेपालबाट लगिने दुई हात्तीको स्वास्थ्य अवस्था, तिनका आनीबानीको बारेमा त्यहाँका उच्च अधिकारीहरुलाई जानकारी गराएको छ ।

स्मरणरहोस् नेपालमा निजी घरपालुवा हात्ती ७२ छन् भने चितवन राष्ट्रिय निकुञ्जमा ५४ वटा हात्ती रहेका छन् । त्यस्तै जङ्गली हात्ती ६० देखि ६५ वटा रहेको अनुमान छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।