बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्न सहज भएसँगै साढे ४५ अंक बढ्यो नेप्से, काराेबार रकम पनि ५ अर्ब नाघ्याे

May 19, 2024 03:11 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २.२६ प्रतिशत बढेर बन्द भएको छ। बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर बजारमा लगानी गर्न सहज भएसँगै यस दिन शेयरबजार सूचक, नेप्से बढेको हो।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले एक वर्ष अवधि व्यतित भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरेसँगै त्यसको सकारात्मक प्रभावत यस दिनको बजारमा परेको देखिन्छ। यस अघि सो अवधिका लगानीमध्ये प्राथमिक पूँजीको १ प्रतिशत मात्र बिक्री गर्न पाउने व्यवस्था थियो। यसले गर्दा बजारमा कर्पोरेट प्लेयर आकर्षित भएको जानकारहरु बताउँछन्।

आइतबार नेप्से परिसूचक ४५.६९ अंक बढेर २०६४.४५ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८६ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२३ स्टकको ७४ हजार ९९१ पटकको कारोबारमा ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन हिमालयन लघुवित्तको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको माण्डु हाइड्रोपावरको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन फस्ट माइक्रोफाइनान्सको साढे ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार रकम ११ करोड नाघेको छ।

 

 



बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।