शरद सिंह भण्डारीको ‘रेकर्ड ब्रेक’ गर्न दीपक मनाङेको दौड, ३ वर्षमा छैठौं पटक मन्त्रीको सपथ लिएपछि उठेका प्रश्नहरु

Jun 11, 2024 03:00 PM Merolagani



‘माननीय मन्त्री’ दीपक मनाङेले शरतसिंह भण्डारीको रेकर्ड तोड्न कति समय लाग्ला ? ठवाक्कै भन्न सकिदैन । तर, परिस्थितिहरुको आँकलन गर्दा झण्डै ४ दशक लगाएर भण्डारीले बनाएको ‘रेकर्ड ब्रेक’ गर्न मनाङेलाई त्यत्रो समय लाग्ने छैन, पुन नपुग १ दशकमै त्यो ‘रेकर्ड ब्रेक’ गर्नेछन् ।

हाल सत्ता बाहिर रहेका राजनीतिका पुराना खेलाडी मानिने भण्डारी पंचायतकालदेखि यताको अवधिमा १८ पटक मन्त्रीको सपथ लिए । अर्थात १८ पटक मन्त्री बने । अवधिको हिसाबले उनी करिब डेढ दशक मात्रै मन्त्री बनेका छन् । र, त्यति अवधि मन्त्री बन्ने व्यक्ति विश्वमा धेरै छन् । शायद नेपालमा पनि होलान् । तर, १८ औं पटक मन्त्री बन्ने व्यक्ति सम्भवतः विश्वका कुनै पनि देशमा नहोलान् । त्यसैले त्यो उनको एउटा ‘रेकर्ड’ हो ।

यता, भण्डारीलाई पछ्याउँदै मन्त्री बन्ने दौडमा लागेका मनाङेले गण्डकी प्रदेश सरकारमा सोमबार छैटौं पटक मन्त्री पदको सपथ लिएका छन् । जबकी मनाङे राजनीतिमा प्रवेश गरेको भरखर ६ वर्ष मात्र भएको छ । अर्थात् राजनीति शुरु गरेको ६ वर्षमै ६ पटक मन्त्री ! यस्तो गज्जबको रेकर्ड पनि सम्भवतः विश्वका अरु कुनै देशका नेता वा डनहरुले राख्न सकेका छैनन् होला ।

अपराधको दुनियाँमा कुख्याती कमाएका र घरमा भन्दा जेलमा धेरै बस्ने ‘डन’ भनेर चिनिएका मनाङेले नयाँ संविधान जारी भएपछि मुस्ताङबाट प्रदेश सभाको निर्वाचन जिते । एमाले नेता प्रदिप नेपाललाई भिनाजु भन्ने उनलाई एमालेले आफ्नो उम्मेदवार बनाउन चाहेको थियो । तर, उनी विरुद्ध प्रहरी कार्यालयमा रहेका उजुरीहरु र अदालतमा रहेका मुद्दाहरुको कारण पार्टी भित्रै चर्काे विरोध भएपछि पार्टी प्रवेश गराएर सूर्य चिन्हबाट चुनाव लडाउन एमाले नेतृत्व हच्कियो । फलस्वरुप मनाङे स्वतन्त्र उम्मेद्वारको रुपमा गृहजिल्ला मनाङको प्रदेश सभा 'ख' बाट प्रदेश सभा सदस्यको उम्मेदवारी दिए । देशभर वामगठबन्धन गरेका एमाले माओवादीले उनको विरुद्ध उम्मेदवारी नै दिएन । निर्वाचनमा मनाङेले ३ सय ९० मतको फरकमा कांग्रेसका कर्म गुरुङलाई पछि पार्दै विजयी भए । उक्त चुनावमा मनाङेले १ हजार ४ सय १० मत प्राप्त गरेका थिए भने कर्मले १ हजार २० मत मात्रै ल्याएका थिए ।

२०७९ को प्रदेश सभा निर्वाचनमा त कांग्रेसले समेत उनको विरुद्ध उम्मेदवारी दिएन । उक्त निर्वाचनमा देशभरबाट निर्विरोध निर्वाचित हुने मनाङे एक्लो व्यक्ति हुन् ।

२०७४ को आम निर्वाचनमा विजयी भए पनि मनाङेले झण्डै १० महिनापछि २०७५ माघ १४ गते मात्र साँसदको सपथ खाए । अदालतमा विचाराधिन मुद्दाहरुको कारण अर्धभूमिगत जस्तै रहेका मनाङेलाई सपथ लिएर साँसदको काम काज गर्न अदालतले अनुमति दिए पछि उनले सपथ लिएका थिए ।

सांसद बने पनि मनाङेको लागि मन्त्री बन्ने मौका जुरेको थिएन । तर, जब तत्कालिन नेकपा विभाजनको अवस्था सृजना भयो र त्यस्को प्रत्यक्ष असर प्रदेश सभाको अंक गणितमा पर्यो, त्यसपछि मनाङेका वास्तविक दिन शुरु भए । नेकपा विभाजन भएर प्रदेश सरकार ढल्ने अवस्था सृजना भएपछि सरकार टिकाउनकै लागि २०७८ बैशाख १६ गते तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई पहिलो पटक मन्त्री बनाएका थिए । त्यतिबेला उनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

त्यसयता हरेक पटक सरकार ढाल्न र टिकाउन मनाङे निर्णायक बनिरहेका छन् । त्यही क्रमको निरन्तरता स्वरुप करिब ३ वर्षको अवधिमा सोमबार छैठौं पटक मन्त्रीको सपथ लिएका छन् ।

‘माननीय मन्त्री’ राजिब गुरुङ उर्फ दीपक मनाङे नेपाली राजनीतिको कुरुप र विद्रुप रुपको त्यस्तो दृष्टान्त हो, जस्ले राजनीति गर्नु छ भने ‘मनि र मसल चाहिन्छ, अरु केही चाहिदैन’ भन्ने मान्यता राख्छ । न कुनै सामाजिक काम, न कुनै राजनीतिक दृष्टिकोण न त विकासका कुनै एजेण्डा नै, फगत संसदको तरल अंक गणित, अमूक नेताहरुसँगको रहस्यमय सम्वन्ध र जसरी पनि पदमा टिकिरहने मनोकांक्षाको कारण दीपक मनाङे आफ्नो ‘कालो विगत’ लाई छोपेर राजनीतिमा हाई हाई भइरहेका छन् र बाबु आमाले अवोध सन्तानलाई को ख्वाई को ख्वाई भन्दै जाउलो खुवाए जस्तो राजनीतिक पार्टी तथा तिनका नेताहरु फगत कुर्सीमा टिक्नको लागि उनलाई मन्त्री पद दिइरहेका छन् । उनीहरुको यस्तै प्रवृत्तिले नै राजनीतिमा दिपक मनाङे प्रवृत्ति हाई हाई भइरहेको छ र इमान्दार नेता कार्यकर्ताहरु चुनाव लड्नै नसक्ने, सांसद मन्त्री बन्नै नसक्ने अवस्था सृजना हुँदैछ ।

यसले नेपाली लोकतन्त्रलाई नै गिज्याइरहेको छ र देशको भविश्यमाथि नै प्रश्न चिन्ह खडा गरिरहेको छ । तर, यो प्रश्नको उत्तर खोजेर राजनीतिका विकृति विसंगतीलाई सच्याउन पहल गर्ने कसले ? यस्को जवाफ भने टाढा टाढासम्म कँही कतै नदेखिनु अर्काे विडम्बना हो ।

 




comments powered by Disqus