गभर्नर अधिकारीको अन्तिम मौद्रिक नीतिः आलोचना खेप्न नचाहँदा लचिलाे नीति ल्याउँदै

Jun 13, 2024 06:02 PM Merolagani

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन अब करिब १० महिना बाँकी छ। आगामी आर्थिक वर्षको मौद्रिक नीति उनको अन्तिम मौद्रिक नीति हुने छ।

गभर्नर अधिकारीले आफ्नो कार्यकालमा ताली र गाली दुबै खाए। सुरुवातमा लचिलाे मौद्रिक नीति ल्याएर वाहावाही कमाएका गभर्नर अधिकारी पछि मौद्रिक नीतिमा कडाइ गर्दा धेरैको आलोचना समेत सहुनु पर्यो।

उनले लिएका नीतिहरुकै कारण अर्थमन्त्रीहरुसँग समेत उनको सम्बन्ध राम्रो रहेन। पूर्बअर्थमन्त्री जनार्दन शर्माको कार्यकालमा त उनलाई पदबाटै हटाउनेसम्मको काम भयो तर पछि अदालतले उनलाई पुनः काममा फर्कन बाटो खुल्ला गरिदियो। काँग्रेसबाट प्रकाशशरण महत अर्थमन्त्री हुँदा पनि गभर्नरको सम्बन्ध खासै राम्रो भएन।

कार्यकालको सुरुवातमा कोभिड सुरु भएपछि गभर्नर अधिकारीले अर्थतन्त्र चलायमान बनाउन भन्दै मौद्रिक नीतिमार्फत थुपै सहुलियत दिए। बजारमा एकाएक खर्बौको तरलता थपिने गरी उनले मौद्रिक नीति ल्याए। उनले कोषको पाँचगुणासम्म पुनरकर्जा दिने निर्णय गरे भने सिआरआर अनुपातलाई समेत घटाएर ३ प्रतिशतमा झारिदिए भने सिसिडि रेशियोमा समेत सहुलियत दिए । जसले गर्दा बजारमा अधिक तरलता भयो भने बैंकहरुले निरन्तर ब्याजदर घटाउन थाले। गभर्नर अधिकारीले लिएको लचक नीतिले गर्दा कोभिड महामारीको कठिन समयमा पनि धेरैले राहत महशुस गरे।

बजारमा अधिक तरलता छोड्दा गभर्नर अधिकारीले कुनै पनि कर्जामा कडाइ गरेनन्। बैंकहरुले पनि अन्दाधुन्दा लगानी गरे। एकै वर्ष बैंकहरुको कर्जा लगानी २७ प्रतिसम्मले बढ्यो। ऋणीले ८ प्रतिशतमा नै कर्जा लिन पाउने अवस्था आयो भने सो समयमा धेरैले कर्जाको दुरुपयोग पनि गरे। धेरै कर्जाहरु शेयर बजार र घरजग्गामा पनि गए।

कोभिडको असर कम हुँदै गएपछि गभर्नर अधिकारीले आफूले लिएका नीतिमा करेक्सन गर्दै कसिलो मौद्रिक नीति ल्याउन थाले। हरेक क्षेत्रमा कडाइ गर्दै जान थाले। पुनरकर्जाको आकर घाटाए भने सिआरआरको दर पनि बढाए र बजारमा अधिक तरलता हुने अवस्थाको अन्त्य गरिदिए। जसले गर्दा बैंकको ब्याजदर विस्तारै महँगिदै गयो। उनले बैंकले लगानी गर्ने कर्जाहरुमा पनि निकै कडाइ गरे। चालु पूँजी कर्जामा कडाइ गर्न चालु पूँजी कर्जा मार्गदर्शन नै जारी गरे भने ओभरड्राफ्ट, शेयर धितो कर्जा, रियलस्टेट क्षेत्रका कर्जाहरुमा पनि कडाइ गरे। जसले गर्दा बैंकहरुको एग्रेसिभ कर्जा लगानी रोकियो र बजार पनि विस्तारै सुस्ताउन थाल्यो। गभर्नर अधिकारीले कडा नीति लिएपछि त्यसको विरोधमा उद्योगी व्यवसायी, लगानीकर्ता सबै उत्रिए। तर अधिकारी तत्काल आफ्नाे नीतिबाट पछि हटेनन्। यसले गर्दा उनले धेरै नै आलोचना समेत खेप्नु पर्यो। अहिले पनि कतिपय नीतिहरु संशोधनमा उनलाई दबाव आइरहन्छ।

शेयर बजारका लगानीकर्ताले त अझै गभर्नर अधिकारीकै नीतिका कारण शेयर बजारमा ठूलो गिरावट आएको भन्दै गभर्नर अधिकारीलाई गाली गर्ने गरेका छन्। शेयर धितो कर्जामा गरेको कडाइले गर्दा शेयर बजारका ठूला लगानीकर्ताले कर्जा चुक्ता गर्नुपर्यो भने त्यसले बजारमा आपुर्तिको बाढी ल्यायो। जसले गर्दा ३२०० नजिक पुगेको नेप्से सूचक घटेर १८०० सम्म झर्यो। अहिले पनि गभर्नर अधिकारीलाई लचक नीति ल्याउन लगानीकर्ताको पनि उत्तिकै दबाव छ।

  • कार्यकाल सकिदै गर्दा नरम बन्दै गभर्नर

गभर्नर अधिकारी आफ्नो कार्यकालको बिच्चतिर केहि कडा देखिएपनि अहिले विस्तारै लचक हुन थालेका छन्। अहिलेकै नीतिलाई निरन्तरता दिए राष्ट्र बैंकबाट आलोचित भएर बाहीरिनुपर्ने डरले पनि अधिकारीले मौद्रिक नीतिलाई लचिलो बनाउँदै छन्। कार्यकाल सकिदै गर्दा राष्ट्र बैंकबाट वाहावाही लिएरै बाहिरिन समेत गभर्नर अधिकारी अझै केहि लचक नीति लिने पक्षमा छन्।

अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट नै सजगतापूर्वक लचकता अपनाइएकाे बताउँदै आएका छन्। केहि नीतिहरुमा उनले मुठ्ठी फुकाउन थालिसकेका छन्। कडाइ गरिएका कतिपय कर्जाहरुमा अहिले केहि लचिलो व्यवस्था गरेका छन्। शेयर बजारकै कर्जामा समेत सीमा बढाएर जोखिमभार समेत घटाएका छन् भने बैंकहरुलाई शेयर बजारमा लगानी गर्न केहि सहज वातावरण बनाइदिएका छन्।

गभर्नर अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेत कसैको गाली नखानेगरी मुठ्ठी खुकुलो पार्ने तयारी गरेका छन्। उनले केहि दिन अघि सार्वजनिक कार्यक्रममा नै यसको संकेत गरेका छन्। उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो आउने बताइसकेका छन्।

अहिले राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति लेखनको तयारी गरिरहेको छ। आर्थिक वर्ष सकिनै लाग्दा केन्द्रीय बैंकका अधिकारीहरु मौद्रिक नीतिको तयारीमा जुटेका छन्। अहिले बाह्य क्षेत्र मजबुद भएको र महंगी पनि निकै कम रहेकोले राष्ट्र बैंकलाई लचिलो नीति लिन प्रसस्त ठाँउ छ। यसले गर्दा पनि गभर्नर अधिकारी राष्ट्र बैंकबाट बाहिरिदा ताली खाएर बाहिरिने गरी लचिलो नीति तर्जुमा गर्ने तयारीमा छन्।

comments powered by Disqus

'नोक्सानी पाल्नु मृत शरिरलाई कुरेर बस्नु जस्तै हो, समयमा शेयर बिक्री गर्न जान्नु पर्छ'

Jun 22, 2024 10:59 AM

शेयर बजारमा निरासा छ । यो निरासाका बीचमा पनि केहि कम्पनी र सेक्टरहरु चलेका छन । जसले लगानीकर्तालाई धेरैथाेरै भएपनि कमाउने मौका दिएको छ ।