सेटिङ विफल पारेकोमा अनुपस्थित उम्मेदवार दङ्ग, के अब धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया पुन: दोहोरिन्छ ?

Jun 19, 2024 06:16 PM merolagani



नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट गर्न गठित छनौट समितिले दोस्रो चरणको अन्तरवार्ता बुधवार ९ बजेदेखि १२ बजेसम्म तोकेको थियो।

अन्तरवार्ता दिन आउलान् भनेर राष्ट्रिय योजना आयोगको सभा हलमा बसेका छनौट समिति सदस्यलाई बुधवार पनि 'तीन भाइ' ले निराश पारे। बुधवार तीन भाइ नै अन्तरवार्तामा अनुपस्थित भए। नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र तत्कालीन नेपाल बिमा प्राधिकरणका अध्यक्ष चिरन्जीवी चापाँगाई अन्तरवार्तामा अनुपस्थित भएका हुन्। उनीहरू गत आइबार पनि अनुपस्थित नै थिए। छनाेट समितिले तीन जनाको नाम सिफारिस गर्नु पर्ने भएकोले समितिले तीन जनाको लागि बुधवार पुन: अन्तरवार्ताको समय तोकेको थियो। तर दोस्रो पटक पनि उनीहरू अनुपस्थित नै रहे।

धितोपत्र ऐनले स्पष्ट रुपमा छनाेट समितिले तीन जनको नाम सिफारिस गर्न भनेको छ भने उसले आफ्नो कार्यविधि आफैले बनाउन सक्ने अधिकार समेत दिएको छ। “(४) उपदफा (३) बमोजिमको समितिले नाम सिफारिस गर्दा यस ऐन बमोजिम योग्यता पुगेका कम्तीमा तीन जना व्यक्तिको नाम सिफारिस गर्नेछ। (५) उपदफा (३) र (४) बमोजिम समितिले अध्यक्षको नाम सिफारिस गर्दा आफ्नो कार्यविधि आफै निर्धारण गर्नेछ” धितोपत्र सम्बन्धी ऐन २०६३ मा उल्लेख छ।

तर ऐनले तीन जना नभए के गर्ने भनेर बोलेको छैन। जसले गर्दा प्रक्रिया रद्द गर्ने वा अघि बढाउनेमा समिति अन्योलमा परेको छ। समिति स्रोतका अनुसार दोस्रो पटकको सूचना गर्दा समेत तीन जना अनुपस्थित भएपछि के गर्ने भनेर महान्यायाधिवक्ता कार्यालयलाई सोध्ने निर्णयमा समिति पुगेको छ। किनकि कानुनको व्याख्या सम्मानित अदालत वा महान्यायाधिवक्ता कार्यालयले गर्न सक्छ।

यस हिसाबले कस्तो राय आउँछ,त्यही अनुसार अघि बढ्ने योजना समिति रहेको छ। तर अहिलेकै अवस्थामा पाएको नम्बरको आधारमा सिफारिस गर्दै अघि बढ्ने राय आएमा समितिले अन्तरवार्ता दिने दुई र अधिकतम नम्बर प्राप्त गर्ने तीन मध्ये एक समेतको नाम राखेर समितिले अध्यक्ष चयनको लागि सिफारिस गर्ने छ। तर त्यसरी सिफारिस भई आएको मध्ये एकलाई सरकारले नियुक्त गर्दा सहज भने हुने छैन। त्यस विषयमा पक्कै पनि अदालतमा रिट जान सक्ने छ। नियुक्ति प्रक्रियाले अदालतमा प्रवेश पाए नियुक्ति प्रक्रिया थप पेचिलो हुने छ।

धितोपत्र बोर्डको इतिहासमा कहिल्यै नदेखिएको घटना अहिले सतहमा आएको छ। अहिलेसम्म छनाेट समितिले बोलाएको अन्तरवार्तामा उम्मेदवार अनुपस्थित भएकाे यो पहिलो हो। जसलाई विफल बनाउन अर्थमन्त्री वर्षमान पुन: आफै लागेका आराेप छ। अनुपस्थित हुने तीन मध्ये दुई सरकारी कारिन्दा हुन् भन्दा फरक पर्दैन। एक जना सरकारको सबैभन्दा बढी लगानी भएको र आफूले नै नियुक्त गरेका नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की छन् भने अर्का अर्थ मन्त्रालय मातहतको धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी छन्। उनीहरूले अर्थमन्त्रीको आडमा उपस्थित नहुन हिम्मत गरेका हुन्। नत्र यति ठूलो आँट उनीहरू एक्लैले गर्न सक्ने अवस्था हुँदैन थियो।

अन्तरवार्तामा अनुपस्थित नहुने मात्रै होइन सेटिङ विफल पारिदिएको यति बेला उनीहरू दङ्ग छन्। अन्तरवार्तामा अनुपस्थित भएर आफूहरूले सेटिङ विफल पारेको भन्दै उनीहरूमध्येका एक दङ्ग परेको उनी निकटस्थले मेराे लगानीलाई बताए। “अरू नै खेमाका मानिसलाई ल्याउने जुन सेटिङ थियो। त्यसलाई हामीले विफल पारिदिएका छौ,” निकट स्रोतले भन्यो।

धिताे पत्र बाेर्डकाे अध्यक्ष चयन प्रकृया कसरी जान्छ त्याे समयले बताउला तर  तर तीन भाइलाई अघि सारेर अर्थमन्त्रीले जुन खेल खेले त्यो भने पूँजी बजारको लागि दुर्भाग्य हो। पूँजी बजार सम्वन्धित संस्थामा महत्त्वपूर्ण पदमा बसेर काम गरिसकेकाहरूले त्यसमा साथ दिनु उनीहरूको लागि पनि हितकर होइन। तीन भाइले पनि अन्तर्वातामा अनुपस्थित भएर आफ्नो विवेकलाई बन्धक बनाएका छन् ।




comments powered by Disqus

गभर्नर अधिकारीकाे बिदाइ र नयाँ नियुक्तिको दिनगन्ती सुरु, निर्णायक चार शक्ति केन्द्र र दौडमा रहेका चार मुख्य पात्र

Feb 13, 2025 03:53 PM

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्तिको दिनगन्ती शुरु भएपछि नेपाल राष्ट्र बैंक र बैंक  तथा वित्तीय संस्था भित्र मात्र होइन, नेपालको आर्थिक क्षेत्रको बारेमा चासो राख्ने जो कोहीले पनि प्रश्न गर्न थालेका छन-अबको गभर्नर को ?