'नोक्सानी पाल्नु मृत शरिरलाई कुरेर बस्नु जस्तै हो, समयमा शेयर बिक्री गर्न जान्नु पर्छ'

Jun 22, 2024 10:59 AM Merolagani

शेयर बजारमा निरासा छ । यो निरासाका बीचमा पनि केहि कम्पनी र सेक्टरहरु चलेका छन । जसले लगानीकर्तालाई धेरैथाेरै भएपनि कमाउने मौका दिएको छ ।

अहिले नेप्से सूचक बढेको छैन । तर केही सेक्टर र कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुले निरासाका बीचबाट पनि कमाई गर्न सकेका छन् । सबै सेक्टर चल्न नसकेता पनि केहि कम्पनीको मूल्य उच्च रुपमा बढेको छ । बजारको सूचक बढ्न नसकेता पनि आफ्नो पाेटफोलियो सकारात्मक छ भने त्यसलाई बुल नै मान्नु पर्ने बताउनुहुन्छ बजार विश्लेषक सुवासचन्द्र ढुङ्गाना । तीनै ढुुङ्गानासँग सुधा देवकोटाले गरेको कुराकानीः

यस हप्ता शेयर बजारमा दुई वटा समाचारहरु चर्चामा रहे । धितोपत्र बोर्ड अध्यक्ष प्रकृयामा देखिएको चलखेल र कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय समितिले बुझाएकाे सुझावले बजारमा दबाव पर्यो भन्ने छ । तपाईले यसलाई कसरी हेर्नु भएको छ ?

समाचारलाई मात्रै हेर्ने हो भने सत्य हो । यस हप्ता शेयर बजार बाेर्ड अध्यक्षकाे चयन प्रकृया र करको दर चर्चामा रह्यो । तर मेरा लागि यी सबै हल्ला मात्रै हुन । बजारले घट्बढ् हुनको लागि बाहाना खोजेको हुन्छ । त्यो समाचार आउनु भन्दा केही दिन अगाडि बजार कस्तो अवस्थामा थियो, त्यसलाई ध्यान दिनुपर्छ । यी समाचार आउनु पूर्व नै बजारमा डिस्ट्रिबुसन सुरु भएको थियो । बजार सानो सानो अंकले बढेको भएतापनि स्थायित्व देखिएको थिएन । बजारले यसै समाचारलाई प्रतिकृया गरेको भन्ने कुराको रुपमा लिएको छु । अहिलेको बजारलाई हेर्दा पनि धेरै पूँजी (हाई क्याप) भएका कम्पनीहरु चल्न सकिरहेका छैनन । कम पूँजी भएका कम्पनीहरु मात्रै चलेका छन् । यस्ता कम्पनीले मात्रै बजार धान्न सक्ने स्थिति छैन ।

मेरो विश्लेषणमा बजार बढ्न र स्थायित्व आउनको लागि बजारमा ६ अर्ब बढीको भोल्यूम आउन पर्यो । थोरै पूँजी भएका कम्पनी मात्रै होइन, हाई क्याप कम्पनीहरु पनि चल्नु पर्छ । बजारमा समाचारले प्रतिकृया जनाएको हुन्छ । बजारका रिटेलरहरुले पछि रियाक्ट गर्ने हो । पहिले स्मार्ट मनिले नै खेल्ने हो । अहिले रिटेलरहरुले बजारमा तनावको अवस्था देखेका छन् । तर यो हप्ता जुन समाचार आयो । बजारका लागि नयाँ र आश्चर्य पार्ने समाचार हाेइन । पुरानै समाचार फेरि ल्याइएको मात्रै हो । यसको प्रभाव बजारमा धेरै समय रहदैन ।

अघिलो हप्ताको बजारमा सूचक सामान्य बढ्दै गर्दा कारोबार रकम पनि विस्तारै बढ्दै थियो । धेरैले बजार बढ्न शुरु गर्यो भन्दै प्रवेश गरे । तर तपाई त्यो समयमा डिस्ट्रिबुसन भएको भन्नु हुन्छ । बजारमा डिस्ट्रिबुसन हुदैछ भन्ने कसरी पहिचान गर्ने ?

आज डिस्ट्रिबुन भएको छ भने भोलि एकुमुलेसन नहोला भन्न सकिदैन । बजारमा त सम्भावनालाई हेर्ने हो । डिस्ट्रिबुन भएको छ भने त्यसमा सावधानी अपनाउने हो । दुई तीन दिन त्यसैलाई निरन्तरता दियो भने सावधानी (अलट) मात्रै हाेइन, अब एक्सनमा जानु पर्यो । बजार घटाईमा धेरै बिक्री चापले डिस्ट्रिब्युसन नै हुने हो । कुनै घटाईमा शेयर उठाई राखेको(एकुमुलेसन) पनि भएको हुन सक्छ ।

अहिलेको समग्र हेरेर बजार चलेको छ । अहिले सिमित कम्पनी मात्रै चलेको छ । लगानीकर्ताले आफ्नो सेक्टर र स्टक समाएका छन् । नेप्से सूचक जुन विन्दुमा झराेस् उनीहरुलाई बजारसँग कुनै मतलब नै छैन् । आफूले लगानी गरेको कम्पनीको मूल्य बढेको छ । वास्तवमा हेर्नुपर्ने कुरा पनि त्यहि हो । अहिलेको अप्रेटरहरुले गरिराखेको छन । अप्रेटरहरुसँग चल्न सक्ने रिटेलरहरुले पनिसँगै कमाई राखेका छन् । जो सूचक हेरेर बढेपछि मात्रै खरिद बिक्री गर्ने विचार गरेर बस्नेहरु हेरेकाे हेर्यै छन् ।

अहिले धेरेलाई बजारमा गरिएको लागानी बराबरीमा आएमा बजारबाट निस्कने र कहिले प्रवेश गर्ने अभिव्यक्ति दिने गरेका छन् । फेरि अर्कोतर्फ धेरै कम्पनीको मूल्य उच्च भएको छ । यो निराशा उत्साहालाई चिर्दै बजारको अवस्था कहिले सुधरिन्छ होला ?

अहिले बजारको अवस्था चरम बियरिसपछिको साईडवयज हो । यो अवस्थामा स्फेसिफीक कम्पनी र सेक्टरहरु चल्छन् । जति स्टक बढेका छन भने उति नै स्टक घटेका हुन्छन् । तर औसतमा बजार साईडवयजमा नै हुन्छ । अहिले भएको पनि त्यहि हो । बजार बढेमा बजारबाट निस्कने योजना बनाउनेहरुलाई बजारले निस्कन दिँदैन । भन्नुको मतलब घाटै खाइन्छ भन्नेको होइन । बजारमा भएका सफल लगानीकर्ताहरु कुनै बियरिसमा फसेका छन् । अहिले निरास हुने लगानीकर्ताले अवसरलाई समाउन सकिरहेका छैनन । उनीहरु विस्तारै बजारमा अभ्यस्त हुन्छन् । बुलको समयले अहिलेको पीडा भुलाई दिन्छ । बजारले सबै कुरा दिनसक्छ भन्ने विचारको विकास गराउँछ । बजारले तानेर राखेको हुन्छ । बजारबाट निस्कन सजिलो छैन ।

धेरै लगानीकर्ताको लगानी नोक्सानी छ । शेयर बिक्री गर्न सकिराखेका छैनन । थप लगानी गर्न पैसा छैन । तपाईले भने जस्तो बजारमा अभ्यस्त हुन सकिरहेका छैनन । दैनिक बजार घटेको छ यसको निकास के हुन सक्छ ?

धेरैले नराम्रो कम्पनीमा लगानी गरेकाले नै गुमाएको हाेइन । लगानी सम्पूर्ण जानकारी राखेर अध्ययन गरेर लगानी गरिएका छन । किन्नु पर्ने कम्पनीहरु पनि त्यहि हो । तर बजार त्यसरी चल्दैन । बजार जस्तो चालमा चलेपनि स्वीकार गर्नैपर्छ । म सहि छु भनेर ढिपी कसेर बस्नु पनि हानी हुन्छ ।

अहिले त्यस्ता लगानीकर्ताको लागि मोटीभेसनको आवश्यक छ । यसैसँग मेलखाने एउटा कथा भन्न चाहे । ‘‘दुई जना विरामी हस्पिटलमा उपचारको क्रममा साथी बने । एक जना उठ्बस गर्न नसक्ने विरामी थियो । तर अर्को हिँडडुल गर्न सक्ने थियो । हिँडडुल गर्न नसक्ने जीवनसँग निरास थियो । जिन्दगी देखिनै उसलाई दिक्दार लागेको थियो । त्यो देखेर हिँडडुल गर्न सक्ने बिरामीले झ्यालमा उभिएर बाहिरको  दृष्य बारेमा बयान गर्ने गथ्र्यो । दैनिक रुपमा बाहिरको मनोरम  दृष्य बारेमा बयान गर्ने गरेको थियो । उठ्बस गर्न नसक्ने विरामी त्यसबाट आनन्द लिन्थ्यो । केहि दिनपछि उसको स्वाथ्यमा सुधार हुन थाल्यो । एक दिनमा  दृष्य बारेमा बयान यो संसारमा रहेन । उसलाई त्यो साथीले बयान गर्ने गरेको  दृष्य अवलोकन गर्ने इच्छा लाग्यो । धेरै कष्ट गरेर झ्यालमा पस्यो । तर त्यहाँ केहि थिएन । त्यहाँको  दृष्य खै भनेर कराउन थाल्यो । सोहि हस्पिटलको नर्सले त्यहाँ केहि नभएको र साथीले झुट बोलेकाे र त्यही झुठले तिम्रो स्वास्थ्यमा सुधार भएको बताइन । त्यहाँ हिँडडुल गर्न नसक्ने बिरामीलाई मोटीभेसनको आवश्यक थियो । मोटीभेसनले केही हदसम्म भए पनि स्वास्थ्यमा सुधार भयो ।” कहिले काँहि झुठाे आशाले पनि धेरै केहि समय टिक्न सक्ने क्षमता गराउँछ । अहिलेको विन्दुमा लगानीकर्तालाई आशा जगाउन जरुरी छ ।

हामीले बुझ्न जरुरी छ के भने, लगानीकर्ताले आफूले गरेको निणर्य नै सहि हो । आफूले भने अनुसार बजार चल्नु पर्छ भन्ने सोच राख्न हुदैन । कुनै समयमा नोक्सानीमा बिक्री गरेर भए पनि अर्को चल्दै गरेको स्टकमा लगानी गर्न डराउन हुँदैन । अघिको कथामा भनिएको जस्तो बजार चल्न नसकेर ढलिरहेको अवस्थामा छ । आफूलाई मोटिभेट गर्दै केहि समय धैर्य गर्नुपर्यो । त्यसपछि बजारले कमाउने मौका त दिन्छ ।

लगानीकर्ता यावत नकारात्मकता भित्रबाट सकारात्मकताको खोजीमा छन । सकारात्मकताबाट आफुमा आशा थप्दै छन् । बजार बढ्न खोज्छ, पुन: सोही विन्दुमा झरेको छ । आशाले मात्रै कति टिकाउँछ भन्नेमा लगानीकर्ता विश्वस्त हुन सकिरहेका छैनन् । यसमा के भन्नु हुन्छ ?

अघि भने नि, आफूसँग भएको स्टक नै बढ्नु पर्छ, जुन स्टकमा नोक्सानी भएको छ त्यसैबाट रिकभर हुनुपर्छ भन्ने सोच्नु नै गलत हो । लगानीको राणनीति बनाउने । बजार १८ सयको विन्दुबाट २२ सयको विन्दुसम्म जाँदा कमाउन सकिएको छैन भने केही कमजोरी छ भन्ने स्वीकार गर्नुपर्छ । लगानीको राणनीति सहि रहेनछ भन्ने बुझ्नु पर्छ । अहिले फन्डामेन्टल चलेको छैन भने कम पूँजी भएका कम्पनीमा लगानी गर्नुपर्यो । जस्ता कम्पनी चले पनि कमाउनु प्रमुख कुरा हो ।

तपाईले लो क्यापको कुरा गर्दै गर्दा लगानीकर्ताहरुको रोजाईमा पनि त्यस्तै कम्पनी छन् । आधारभूत रुपमा बलिया मानेका कम्पनी नचल्ने तर अवस्था जस्तो होस लो क्याप भए पुग्ने भएको छ । शेयर बजारमा किन सिद्धान्त र व्यवहार फरक हुन्छ ?

सधै लो क्याप चल्दैन । यसरी बजार दीगो पनि हुँदैन । अहिले त केही अप्रेटरहरुले जुन सेक्टर चलाएका छन, त्यस्तै कम्पनी र सेक्टरहरु चलेका छन् । त्यसलाई स्वीकार गर्न सक्नु पर्यो । चलेका कम्पनी छोडेर मेरो कहिले कसले चालाइ दिन्छ भनेर कुरेर बस्नु पनि भएन । नोक्सानी पाल्नु भनेको मृत शरिरलाई कुरेर बस्नु जस्तै हो । पछि त्यसबाट गन्ध आउन थाल्छ । त्यसको भार पर्न सक्छ । बरु त्यसलाई छिटो व्यवस्थापन गर्ने हो । मेरो घरमा आगो लागेको छ । त्यो आगो तापेर बस्ने होइन । ज्यान जोगाउन लाग्नु पर्छ । त्यस्तै नोक्सानी बढाउनु भन्दा त स्टपलस गर्नुपर्यो । आफ्नो लगानी जोगाउन लाग्नु पर्यो । होइन सबै सकियो भने अब के को डर ? मानौ १० लाख रुपैयाँ लगानी छ । ८ लाखमा झर्ने डर हुन्छ । अब एक लाख मै झर्यो त अब के गुमाउने डर ? बरु जोखिम लिएर केहि आउँछ भने जोखिम लिन डराउनु भएन । यो सबै कारोबारीलाई हो । दीर्घकालिन लगानीकर्ताले अपनाउने रणनीति बेग्लै हुन्छ ।

तपाई सधै लिडिङ्ग कम्पनी छनोट गर्नुपर्छ भन्नु हुन्छ । त्यस्ता कम्पनी कसरी छनोट गर्ने ?

सम्भावनालाई हेरेर नै लिडिङ्ग कम्पनी छनोट गर्ने हो । कम्पनीको अवस्था कस्तो छ । विगतमा त्याे कम्पनी कस्तो थियो ? सबै कुरालाई मध्यनजर गरेर हेर्ने गरिन्छ । प्राय लिडिङ्ग कम्पनीमा नयाँ कम्पनीहरु परेका हुन्छन् । पछिल्लो समय बजारमा आएका कम्पनीहरु छनोट गर्ने । ती कम्पनीहरुका पूँजी अनुसारको बर्गीकरण गर्ने । आधारभूत अवस्था, सेक्टर हेर्ने र बजारमा कम्पनीको अवस्था कस्तो छ भनेर खाेज्न सकिन्छ ।

 प्रविधिक रुपमा हेर्दा मुभिङ एभरेज हेर्ने र कम्पनीको प्रस्तुती कस्तो रहेको छ । त्यसलाई अध्ययन गरेर छनोट गर्न सकिन्छ । १० मध्येमा दुईदेखि तीन वटा कम्पनी अवस्था राम्रो भयो भनि पनि राम्रो नाफा आर्जन गर्ने सकिन्छ ।

बजारमा देखिएको चरम निरासा देखिएकाे नै हाे त ?

बजारमा बुल सुरु हुने यस्तै अवस्थामा हो । बुलको सुरुवाती चरणमा छौं । चारैतिर हर्षउल्लास देखिने बुलको अन्त्य तिर हो । अहिले सुरुवाती चरणमा छौं । चरम निरासाको बीचबाट नै बुल सुरु हुन्छ । अहिलेको समयमा कम्पनी छनोट गर्न सक्नु पर्यो । यदि मैले किनेको कम्पनी तीन चार गुणा नाफामा बिक्री गर्न सक्छु भने मेरो लागि बुल भएन र ? म बुलमा छु । मेरो र्पोटफोलियो बुल छ । कुनै कम्पनीमा नोक्सानी हुन सक्छ । समग्र र्पोटफोलियो बढेको छ । यदि बजार बुल मुडमा छ र र्पोटफोलियो नोक्सानीमा छ भने कसरी बुलमा छु भन्न मिल्छ त ? हो बजारमा आत्मविस्वास छैन । कम्पनी छनोट गर्दा धेरै सोच विचार गर्न जरुरी हुन्छ । जस्ता कम्पनीमा पनि लगानी गरेर कमाउन सकिदैन । अहिले धेरै स्मार्ट भएर लगानी गर्न सकियो भने कमाउन सकिने भयो ।

 

comments powered by Disqus

'नोक्सानी पाल्नु मृत शरिरलाई कुरेर बस्नु जस्तै हो, समयमा शेयर बिक्री गर्न जान्नु पर्छ'

Jun 22, 2024 10:59 AM

शेयर बजारमा निरासा छ । यो निरासाका बीचमा पनि केहि कम्पनी र सेक्टरहरु चलेका छन । जसले लगानीकर्तालाई धेरैथाेरै भएपनि कमाउने मौका दिएको छ ।