९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM MeroLagani



चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।

चालु आवको नाफा गत वर्षको भन्दा ४ दशमलब ९७ प्रतिशतको गिरावट देखिएको छ ।

चालु आवको जेठ मसान्तसम्म सबै वाणिज्य बैंकहरुले खुद मुनाफा गरेको भए पनि गत वर्षको सोही अवधिको तुलनामा ११ वटा बैंकको नाफा घटेको छ । ९ वटा बैंकको नाफा भने बढेको छ ।

सबैभन्दा धेरै नाफा बढाउने बैंकमा नेपाल बैंक रहेकाे छ । गत वर्ष १ अर्ब ७ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा कमाएको बैंकले चालु आवमा भने ३ अर्ब ७ करोड रुपैयाँ खुद मुनाफा कमाएकाे छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पनि २९ दशमलब ८३ प्रतिशतले खुद मुनाफामा वृद्धि भएर ५ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । एभरेष्ट बैंकले २८ प्रतिशत, ग्लोबल आईएमई बैंकले १८ दशमलब ५९ प्रतिशत, माछापुच्छे बैंकले १७ दशमलब ५३ प्रतिशत, एनएमबी बैंकले ९ दशलमब १८ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ८ दशमलब ६३ प्रतिशत, सानिमा बैंकले ३ दशमलब १३ प्रतिशत र नबिल बैंकले १ दशमलब १० प्रतिशतले नाफा वृद्धि गरेको छ ।

कुमारी बैंकको खुद मु्नाफा गत वर्षको तुलनामा ७७ दशमलब ८४ प्रतिशतले नाफामा गिरावट आएको छ । बैंकले गत वर्ष १ अर्ब ६७ करोड रुपैयाँ खुद मुनाफा गरेकोमा चालु आवको जेठ मसान्तसम्म जम्मा ३७ करोड ११ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

जेठ महिनामा वाणिज्य बैंकको खुद मुनाफा मध्ये पनि कुमारी बैंकको नाफा सबैभन्दा कम हो । कुमारी बैंक पछि हिमालयन बैंक ६७ दशमलब २७ प्रतिशत, एनआईसी एसिया बैंक ६२ दशमलब ८८ प्रतिशत, कृषि विकास बैंक ३९ दशमलब ८५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक २८ दशमलब ०९ प्रतिशत, प्रभु बैंक २३ दशमलब ८० प्रतिशत, सिटिजन्स बैंक इन्टरनेसनले १९ दशमलब ६६ प्रतिशत, प्राइम कमर्सियल बैंक १८ दशमलब २९ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंक ९ दशमलब ७० प्रतिशत, नेपाल एसबीआई बैंक ६ दशमलब ९६ प्रतिशत र सिद्धार्थ बैंक २ दशमलब २९ प्रतिशतले नाफामा गिरावट आएको छ।

२० वटा वाणिज्य बैंकमध्ये जेठसम्म ३ वटा वाणिज्य बैंकको मात्रै खुद मुनाफा १ अर्ब भन्दा मुनि देखिएको छ । हिमालयन बैंक, एनआईसी एसिया र कुमारी बैंकको खुद मुनाफा करोडमा देखिएका छन् । बाँकी १७ वटा बैंक अर्बपति क्लबमा उक्लिन सफल भएका छन् । १७ वटामध्ये पनि नबिल बैंकको मुनाफा सबैभन्दा बढी ६ अर्ब ४० करोड ८३ लाख रुपैयारुँ रहेको छ भने दोस्रोमा ग्लोबल आईएमई बैंकको ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ रहेको छ । यता नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६ अर्ब ६८ करोड छ भने एभरेष्ट बैंकको ४ अर्ब २४ करोड रुपैयाँ खुद मुनाफा रहेको छ ।

नेपाल बैंकले ३ अर्ब ७ करोड रुपैयाँ खुद मुनाफा कमाउँदा एनएमबी बैंकले ३ अर्ब ३ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकले २ अर्ब ९० करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ७२ करोड रुपैयाँ, लक्ष्मी सनराइज् बैंकले २ अर्ब ५७ करोड र प्रभु बैंकले २ अर्ब ३१ करोड रुपैयाँ खुन मुनाफा कमाएका छन्।

सिद्धार्थ बैंकले २ अर्ब २१ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २० करोड रुपैयाँ, सानिमा बैंकले २ अर्ब १५ करोड रुपैयाँ कमाएका छन् । कृषि विकास बैंकले १ अर्ब ८१ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ५४ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ५० करोड र सिटिजन्स बैंक इन्टरनेशनलले १ अर्ब ४१ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।