विष्णु पौडेलको नाममा बारबार किन उछालिन्छ शेयर बजार ?

Jul 02, 2024 12:48 PM Merolagani

बाबुराम ढकाल
सोमबार दिनभरका अडकलबाजीहरुलाई पूर्ण बिराम लगाउँदै मध्यरातमा नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ गठबन्धन बन्यो । नेपाली राजनीतिमा कुनै उल्कापात भएन भने अबको केही दिनमा यही गठबन्धनबाट एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनेछन् ।

र, बाहिर चलेका हल्लाहरु अनुसार अर्थमन्त्री एमालेबाट बन्नेछन् भने गृहमन्त्री नेपाली कांग्रेसबाट बन्नेछन् । अर्थमन्त्री एमालेबाट भन्नुको अर्थ अहिलेको परिदृश्यमा पहिलो नाम विष्णु पौडेलकै आउँछ । राजनीतिमा असम्भव केही हुँदैन, त्यस्तो अवस्थामा बाहेक एमालेले अर्थ मन्त्रालय लिएमा पौडेल अर्थमन्त्री बन्ने प्रायः निश्चित छ ।

त्यसैको अनुमान र अडकलबाजीको पहिलो असर मंगलबारको शेयर सूचकांक, अर्थात नेप्सेमा देखियो । पटक पटक सर्किट लाग्यो । र, यो अवस्था अब कति दिन कसरी चलिरहन्छ भविष्यवाणी गर्न सकिदैन । तर, के निश्चित छ भने अबको अर्थमन्त्री को भन्ने निश्चित नहुँदासम्म शेयर बजारको उठापटक जारी रहनेछ । किनकी आजको दिनमा शेयर बजार नेपालका कुनै नेताप्रति आश्वस्त छ भने त्यो केवल विष्णु पौडेलप्रति हो भन्ने कुरा पटक पटक प्रमाणित भएको छ । मंगलबारको घटना त पछिल्लो दृष्टान्त मात्र हो ।

वास्तवमा विष्णु पौडेलको नाम लिंदासाथ शेयर बजार किन यसरी उछालिन्छ ? विष्णु पौडलको नामसँग शेयर बजारको त्यस्तो के साइनो छ, जस्ले गर्दा उनको नाम सुन्नासाथ शेयर बजारमा हरियाली छाउँछ ?

त्यसको पछाडिका कारणहरु धेरै छैनन् । न त कुनै गहन दार्शनिक खालका अर्थ राजनीतिक तर्क र विश्लेषणहरु नै छन् । यसै पनि पौडेल दार्शनिक नेता होइनन्, व्यवहारिक नेता हुन् । त्यस्तो व्यवहारिक नेता जो कार्यकर्ता, समर्थक सुभेच्छुक मात्र होइन, विपक्षी पार्टीका नेता कार्यकर्ताहरु पनि ‘नेता हुनु त यस्तो पो’ भन्न वाध्य हुन्छन् ।

परिणाम विष्णु पौडेल विगत केही दशकदेखि नेपाली राजनीतिको मुख्य खेलाडी जस्तै बनिरहेका छन् । गठबन्धनहरु निर्माण र विघटनमा मात्र होइन, विकास निर्माणसँग सम्वन्धित निर्णय र कामहरुमा होस कि पार्टी भित्रको आन्तरिक राजनीतिमा पनि । अगाडि देखिएर प्याच्च नबोल्ने तर आन्तरिक रुपमा निर्णयहरुमा जवर्जस्त प्रभाव पार्ने हैसियतको कारण विपक्षी पार्टीका नेताहरु ‘विष्णु पौडेलले के भन्नुहुन्छ ?’ भनेर अन्तिम निर्णयको लागि पौडेलको मुख ताक्न थालेको धेरै भएको छ । पछिल्लो घटनाक्रमहरुमा पनि देखिँदा जो जो देखिए पनि एमालेबाट मुख्य खेल पौडेलले नै खेलेका हुन् भन्नेमा शायद कसैलाई शंका छैन ।

मदन भण्डारीका पृय कार्यकर्ताहरु मध्येका एक पौडेलले आजसम्म लडेका ७ पटक वटा संसदीय निर्वाचनमध्ये २ वटामा हारेका छन् भने ५ वटामा जितेका छन् । २०४८ सालमा स्याङजा र २०५६ मा रुपन्देहीबाट चुनाव हारेका पौडेलले २०५१ मा पाल्पा तथा त्यसयता रुपन्देहीको बुटवल क्षेत्रबाट निरन्तर चुनाव जितिरहेका छन् । ‘चुनाव जितेपछि फर्केर हेर्दैनन्’ नेपालका नेताहरुलाई लाग्ने सबैभन्दा मुख्य आरोपमध्ये एक हो । जुन आरोप पौडेलमाथि कहिल्यै लाग्दैन । किनकी पौडेलले आफूले जितेको निर्वाचन क्षेत्रमा मात्र होइन, सिंगो लुम्बिनीको लागि सधैभरि सहजरुपमा उपलब्ध हुने नेता हुन् । समकालिन नेताहरु ‘हैसियत मेण्टेन’ को लागि कार्यकर्ता र जनतासँग निश्चित दुरी बनाउने गरेको बेला पौडेल भने जो जस्का लागि जहिले पनि सरलरुपमा उपलब्ध हुने नेता हुन् ।

पौडेल दूधले नुहाएका नेता होइनन्, बालुवाटार काण्डमा उनीमाथि छिटो लागेकै छ । कतिपय विवादास्पद दलालहरु पनि उनकै छत्रछायाँमा मस्ती गरिरहेको कुरामा पनि शंका छैन । तर, सिद्धान्तका नाममा अण्टसण्ट गफ नगर्ने, आफूसँग भेटन चाहाने जोसुकैसँग पनि सहजरुपमा प्रस्तुत हुने तर आफूलाई लागेको काम गरेरै छोड्ने स्वभावको असर पटक पटक देखिदैं आएको छ । जार्गनहरुमा होइन, सरल र सहज भाषाशैलीमा विश्वास गर्ने पौडेल विगतमा केही महिनाको लागि मात्र चार पटकसम्म अर्थमन्त्री हुँदा राष्ट्रिय अन्तराष्ट्रियरुपमा चर्चित अर्थशास्त्रका विज्ञ अर्थमन्त्रीहरु भन्दा सहजरुपले अर्थमन्त्रालय संचालन गरेको घटनाले उनको क्षमता स्पष्ट हुन्छ । आफूले नबुझेको कुरामा ढिपी नगर्ने, बरु सम्वन्धित क्षेत्रका विज्ञहरुसँग गहन छलफल गरेपछि निष्कर्षमा पुग्ने उनको शैलीलाई बुझेकाहरु ‘हो, यस्तो अर्थमन्त्री हुनु पर्छ’ भन्ने गर्छन् । र, यसो भन्नेहरु अर्थतन्त्रका हरेक क्षेत्रमा छन् । पूँजी बजारकै बारेमा पनि उनले विगतका आफ्ना कार्यकालहरुमा तुलनात्मकरुपमा प्रगतिशिल निर्णयहरु गरेकोले नै सम्भावित अर्थमन्त्रीमा उनको नाम सुन्नासाथ ‘अब केही हुन्छ’ भन्ने आशामा रहन्छन् ।

 मंगलबारको शेयर बजारको उछाल पनि त्यही आशाको ‘नियमित आकस्मिकता’ मात्रै हो । के साँच्चै विष्णु पौडेल फेरि अर्थमन्त्री बन्लान् र मंगलबारको ‘सर्किट ब्रेकरसँगै देखिएको लगानीकर्ताको आशाको उछाल’ ले सही दिशा लिन्छ ? त्यो भनिहाल्न भने अहिलेको लागि हतार नै हुनेछ ।

comments powered by Disqus

रिलायन्स स्पिनिङ्ग मिल्सले असार २७ गतेदेखि आईपीओ निष्काशन गर्ने, प्रतिकित्ता मूल्य कति?

Jul 03, 2024 06:00 AM

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।