यो व्यवस्थाअनुसार हालसम्म भवानी राणा, शेखर गोल्छा, चन्द्र ढकाल अध्यक्ष भएका छन् । महासंघको कार्यसमितिले गरेको निर्णय मंसिरमा विशेष साधारणसभा पारित गरि अर्काे एक कार्यकालपछि लागू गरिने भएको छ । त्यो अनुसार अहिले वरिष्ठ उपाध्यक्ष रहेका अन्जन श्रेष्ठ चन्द्र ढकाल पछि स्वतः अध्यक्ष हुनेछन् भने त्यसपछि अध्यक्ष हुन चाहनेले भने महासंघका सदस्यहरुले गर्ने प्रत्यक्ष मतदानमार्फत निर्वाचित हुनुपर्नेछ ।
स्थापनाकालदेखि नै प्रत्यक्ष निर्वाचित अध्यक्षात्मक प्रणालीमा रहेको महासंघले चर्काे विवादको बीच २०७३ सालमा पूर्वअध्यक्ष चण्डिराज ढकालको दबावका बीच वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने गरि विधान संशोधन गरिएको थियो । अहिले महासंघले गरेको जस्तो ‘आउँदो कार्यकालपछि’ लागू नगरी सिधै ‘आउँदो कार्यकालबाटै’ भन्ने प्रावधान लागू गरिएको थियो । त्यसो गर्नुको पछाडि तत्कालिन वरिष्ठ उपाध्यक्ष राणालाई जसरी पनि अध्यक्ष बनाउने एक मात्र नियोजित उद्देश्य थियो भन्ने कुरा त्यतिबेला नै स्पष्ट भएको थियो । किनकी प्रत्यक्ष निर्वाचित हुनु पर्ने प्रावधान अनुसार चुनाव भएको भए राणा महासंघको अध्यक्ष हुने सम्भावना नै थिएन । किनकी महासंघ भित्र शुरुदेखि नै चण्डिराज ढकालकी ‘निकट’ र ‘महिला’ भनेर चिनिनुवाहेक राणाको आफ्नै व्यवसायीक नेतृत्व स्थापित थिएन । र त्यतिबेला र अहिले पनि देशभरका व्यवसायीहरुको बीचमा राणा लोकप्रिय हुन सकेकी छैनन् ।
चण्डिराजको रबर स्ट्याम्पकै रुपमा वरिष्ठ उपाध्यक्षबाट अध्यक्ष बनेकी राणाले उनकै छायाँको रुपमा अध्यक्ष चलाइरहे पनि पछि भने दुईजना बीचको विवाद सतहमै आएको थियो । विवाद चर्किएपछि राणाले महासंघको विशिष्ठ सदस्य रहेका ढकालको ‘विशिष्ठ सदस्य’ भन्ने पद नै खारेज गरिदिएकी थिइन । त्योसँगै कुनै बेला ‘रहस्यमयी दोस्ती’ मा रहेको राणा र ढकालको सम्वन्ध शत्रुतामात्रै परिणत भएको छैन, झण्डै डेढ दशक महासंघलाई एकछत्र दबाबमा राखेका ढकालको प्रभाव पनि घटेको थियो ।
यद्धपी महासंघ भित्र ‘चण्डीराज ढकाल’ जस्तो जुझारु अध्यक्ष चाहिन्छ भन्नेहरु अझै छन् । यसरी राणालाई अध्यक्ष बनाउन तत्कालैदेखि कार्यान्वयन हुने गरि लागू हुने गरिएको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानलाई राणाको कार्यकाल समाप्त भएपछि खारेज गर्ने प्रयास गरिएको थियो । राणा अध्यक्ष हुँदा वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छालाई अध्यक्ष हुनबाट रोक्नको लागि चण्डीराज ढकालहरुको समुह नै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान खारेज गर्ने प्रयासमा थिए । तर, महासंघ भित्रै यौनिक तथा जातीय आवाजसमेत चर्किएपछि त्यो मुद्दा तत्कालका लागि सेलाएको थियो । र पहिले शेखर तथा उनको समयमा वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकाल अध्यक्ष भएका छन् भने अब अहिलेका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन् । त्यसपछि भने महासंघको साधारण सभाका प्रतिनिधिहरुले मतदान गरेर अध्यक्षको छनौट गर्नेछन् ।
आफू वरिष्ठ उपाध्यक्षको निर्वाचन लड्दा नै महासंघका हालका अध्यक्ष चन्द्र ढकालले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान खारेज गराउने बताउँदै आएका थिए । त्यहीअनुसार अहिले उनले महासंघको कार्यसमितिबाट सर्वसम्मत रुपमा त्यो निर्णय गराउन सफल भएका छन् ।
अब अन्जन श्रेष्ठपछि महासंघको अध्यक्ष को होला ? कसैले अनुमान गर्न सक्दैन । तर, करिब ७ वर्ष अगाडि गरेको निर्णयलाई उल्टयाएर महासंघले कुनै अमुक पात्रलाई पदासिन गराउनको लागि संघ संस्थाहरुमा कतिसम्म घिन लाग्दो राजनीति हुन्छ भन्ने कुरालाई पुष्टि गरिदिएको छ । यदि त्यस्तो हुँदैनथ्यो र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान ठीक थियो भने लागू भएको आधा दशकमै महासंघले सर्वसम्मत रुपमा त्यो निर्णयलाई उल्ट्याउने थिएन । एउटा ढकालले लागू गरेको (त्यसमा उनकै साथसहयोगमा महासंघमा स्थापित भएका) प्रावधानलाई अर्काे ढकालले उल्ट्याउने थिएनन ।