बढ्दो बजारमा लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरु

Aug 03, 2024 06:06 PM Merolagani



रविन पाैडेल

पछिल्लो एक महिनायता शेयरबजार निरन्तर बढ्दो क्रममा छ। बजार बढ्दा शेयर बजारमा थप पैसा भित्रिदै गएको छ। यसमा नयाँ पुराना दुबै लगानीकर्ताको सहभागिता बढ्दै गएको छ।

बजारमा पुरानासँगै नयाँ लगानीकर्ता पनि त्यतिकै बढेका छन्। बजारमा धेरै अनुभव नभएका नयाँ लगानीकर्ताले पर्याप्त अध्ययन नगरी लगानी गर्दा कमाउने भन्दा गुमाउने सम्भावना धेरै हुन्छ।

शेयर बजार जोखिमको क्षेत्र हो। लगानीकर्ताले बजारमा लगानी गर्दा आफ्नो जोखिम बहन गर्नसक्ने क्षमतालाई हेरेर बजारमा लगानी गर्नुपर्छ। जोखिम व्यवस्थापन गर्न सकियो भने बजारमा सुरक्षित भइन्छ र बढी नाफा कमाउन सकिन्छ।

शेयर बजारमा लगानीकर्ताले प्रविधिक र आधारभुत ज्ञान लिएर बजारमा लगानी रणनीति बनाउन सक्छन्। कम्पनीको वित्तीय अवस्था कस्तो छ, भावी योजना के छन्, सञ्चालक कस्ता छन् भन्ने कुरा अध्ययन गरी लगानी गर्ने कम्पनी छनोट गर्न सकिन्छ भने सो कम्पनीको मूल्य कुन अवस्थामा छ, उच्च विन्दुमा छ वा न्यून विन्दुमा छ भन्ने कुरा हेरेर लगानी निर्णय गर्न सकिन्छ।

  • शेयर बजारमा लगानी गर्दा के के कुरामा ध्यान दिने?

कम्पनीको वित्तीय विवरणको अध्ययन

शेयर बजारमा लगानी गर्दा सबैभन्दा पहिलो कम्पनीको वित्तीय अवस्था थाहा पाउनै पर्छ। कम्पनीले त्रैमासिक रुपमा प्रकाशित गर्ने वित्तीय विवरणलाई लगानीकर्ताले अध्ययन गरेर वित्तीय अवस्था सबल भएका र आम्दानी बढाउदै लगेका कम्पनीलाई लगानीको लागि छनोट गर्नुपर्छ। अझ कम्पनीले वार्षिक रुपमा सार्वजनिक गर्ने परिस्कृत विवरणलाई समेत अध्ययन गरेर लगानीकर्ताले आफुले लगानी गरेको कम्पनीको वित्तीय अवस्थाका बारेमा जानकार हुनुपर्छ।

विगतका वर्षहरुको तुलनामा आम्दानी, नाफा तथा प्रतिशेयर आम्दानी घट्दै गएको छ भने त्यस्ता कम्पनीबाट शेयर बिक्री गरेर निस्कनु पर्छ र आम्दानी, नाफा तथा प्रतिशेयर आम्दानी बढ्दो क्रममा रहेको कम्पनीमा लगानीकर्ताले लगानी गर्नुपर्छ।

तर कहिलेकाँही केहि लगानीकर्ताले गोप्य सूचना थाहा पाएर कम्पनीको वित्तीय विवरण सार्वजनिक हुनुभन्दा पहिले नै सस्तोमा शेयर खरिद गरी शेयरको मूल्य उचालिएको समेत हुन सक्छ। त्यस्ता लगानीकर्ताहरु वित्तीय विवरण सार्वजनिक भएलगतै बिक्री गर्न तयार भएर बसेका हुन्छन्। त्यसैले वित्तीय विवरण प्रकाशित हुनुअघि नै मूल्य उचालिएको छ भने पनि त्यस्ता कम्पनीमा हतारिएर लगानी गर्नु हुँदैन। कम्पनीको मूल्य केहि स्थिर भएपछि मात्र लगानी निर्णय गर्नुपर्छ।

  • कम्पनीले दिन सक्ने लाभांश

लगानीकर्ताले कुनै पनि कम्पनीमा लगानी गर्दा त्यो कम्पनीले विगतमा दिएको लाभांश र अहिलेको लाभांश क्षमतालाई समेत ध्यान दिनुपर्छ। लाभांश क्षमता बढी भएका कम्पनीमा लगानी गर्नु उपयुक्त हुन्छ।

विगतदेखिको घाटा नै पुर्ति गर्न नसकेका र वर्षसम्म पनि लाभांश दिन नसक्ने कम्पनीहरुबाट भने बाहिरिएकै राम्रो हुन्छ। क्षणिक रुपमा त्यस्ता कम्पनीको मूल्य बढाइएको देखिएपनि लगानीकर्तालाई यस्ता कम्पनीबाट दीर्घकालमा फाइदा हुँदैन। त्यसैले लगानीकर्ताले कम्पनीले दिन सक्ने रिटर्नलाई विशेष ध्यान दिनुपर्छ।

  • पूँजीमात्रै बढाउने भन्दा रिजर्भ बलियो बनाउने कम्पनी रोज्नुहोस्

हकप्रद शेयर दिएर पूँजी मात्रै बढाउने कम्पनीभन्दा लगानीकर्ताले रिजर्भ बलियो बनाउने कम्पनीहरुलाई रोज्नुपर्छ।

पूँजीमात्रै बढाउने कम्पनीले त्यहि अनुसार व्यवसाय विस्तार गर्न नसके पूँजीको भारले थिचेर वित्तीय अवस्था बिग्रन सक्छ। अहिले लगानीकर्ताहरु हकप्रदको शेयर दिने कम्पनीहरुमा मरिहत्ते गरेर लागेको देख्निछ। तर यस्ता कम्पनीहरुले पूँजी बढाए अनुसार व्यवसाय बढाउन नसक्ने हो भने दीर्घकालमा लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्दैनन्।

अर्कोतर्फ पूँजी अत्याधिक बढ्दा उसको शेयरको आपुर्ति समेत धेरै बढ्छ जसले गर्दा लगानीकर्ताले दीर्घकालमा पूँजीगत लाभ समेत पाउन कठिन हुन्छ।

रिजर्भ धेरै भएका कम्पनीहरुलाई पूँजीको भार कम हुन्छ भने कुनै वर्ष आम्दानी कम भएपनि रिजर्भबाटै लगानीकर्तालाई लाभांश दिन सक्छन्। दोस्रो बजारमा समेत आपुर्ति कम हुँदा शेयरमूल्य समेत बढ्न सक्छ।

  • शेयर अबमूल्यन भएका कम्पनी खोज्नुहोस्

शेयर बजार बढेदै जाँदा केहि कम्पनीको शेयरमूल्य अत्याधिक बढेर जान सक्छन। तर लगानीकर्ताले त्यस्ता अधिक बढेका कम्पनीभन्दा अबमूल्यन भएका कम्पनीको शेयर खोज्नुपर्छ।

मानाै, कुनै समूहको एउटा कम्पनीको शेयरमूल्य अत्याधिक बढेर गयो भने लगानीकर्ताले सोहि समूहको वित्तीय रुपमा सबल र तुलनात्मक रुपमा कम बढेका कम्पनी खोजेर लगानी गर्नुपर्छ। यसले लगानीकर्तालाई जोखिम पनि कम हुनेछ भने पूँजीगत लाभ समेत धेरै पाउने सम्भावना रहन्छ।

नेप्से सूचक उच्च अंकले बढ्दा पनि केहि सक्षम कम्पनीहरुको शेयरमूल्य नबढेको हुन सक्छ। लगानीकर्ताले त्यस्ता कम्पनी पहिचान गरी लगानी गर्नुपर्छ। तर मूल्य नबढ्नुको पछाडी अन्य केहि नकारात्मक कारण छ वा छैन भन्ने कुरामा भने लगानीकर्ताले ध्यान दिनुपर्छ।

  • आफ्नो जोखिम बहन क्षमतालाई सधै ध्यान दिनुहोस्

शेयर बजारमा लगानी गर्दा आफुले बहन गर्नसक्ने जोखिम मात्रै लिनुपर्छ। लगानीकर्ताले कुनै पनि शेयर खरिदबिक्रीको निर्णय गर्दा त्यसमा हुनसक्ने जोखिमलाई समेत एकिन गरेर निर्णय लिनुपर्छ।

शेयर बजार बढेदै जाँदा नयाँ लगानीकर्ताहरुको बजारमा चासो बढ्दै जान्छ। पुराना र पहिल्यै शेयर किनेर बसेकाहरु शेयर बजार बढ्दै जाँदा बढेको मूल्यमा शेयर बेचेर बाहिर निस्कन्छन्, नयाँ र साना लगानीकर्ताको हातमा उच्च मूल्यका शेयरहरु पर्छन। र बजार घट्न थाल्या भने नयाँ लगानीकर्ताहरु महँगो मूल्यमा फस्ने सम्भावना रहन्छ। त्यसैले बजार बढ्दै जाँदा लगानीकर्ताले आफुले बहन गर्नसक्ने सम्मको जोखिम मात्रै लिनुपर्छ। लगानीकर्ताले मूल्य घट्दा पनि कम्पनीले दिने लाभांशले कम्तिमा बैंकको ब्याज तिर्न पुग्नेगरी लाभांश दिनसक्ने कम्पनी रोज्नुपर्छ।

लगानीकर्ताले कम्पनीको शेयरमूल्य निश्चित विन्दुसम्म घट्दा हुने जोखिम र निश्चित समयसम्म मूल्य नबढ्दा समेत थेग्न सक्ने गरी शेयर खरिद गर्नुपर्छ। त्यसो गर्दा शेयरमूल्य घट्दा र केहि समय मूल्य नबढ्दा पनि प्यानिक भइदैन।

  • लगानी रणनीति बनाउनुहोस र आफ्नै निर्णयमा लगानी गर्नुहोस्

लगानीकर्ताले बजारमा चलेको हल्ला र आएका समाचारहरुमा मात्र भन्दा पनि आफैले स्व अध्ययन गरी लगानी निर्णय लिनुपर्छ। बजारमा लगानी गर्दा आफु कस्तो लगानीकर्ता हो त्यहि अनुसार लगानी रणनीति तयार पार्नुपर्छ।

लगानीकर्ताको आफ्नो लगानी रणनीति सँधै स्पष्ट हुनुपर्छ। आफुसँग भएको पूँजीको कति दीर्घकालिन लगानी गर्ने, कति अल्पकालिन लगानी गर्ने, कस्ता कम्पनीको शेयरमा लगानी गर्ने र कुन समयमा लगानी गर्ने भन्ने स्पष्ट रणनीति बनाउनुपर्छ र त्यही अनुसार बजारमा लगानी गर्नुपर्छ।

बजारमा आएका हल्लामा लगानी गर्दा कुनै समय फाइदा हुन सक्छ तर सँधै फाइदा हुँदैन। यस्तै हल्लाहरुमा नै लगानीकर्ता फस्न सक्छन्। बजारमा हल्ला फैलाउनुको पछाडिको उद्देश्य लगानीकर्ताले बुझ्नुपर्छ। कतिपय अवस्थामा केहि लगानीकर्ताले आफुले शेयर खरिद गरिसकेपछि बिक्री गर्न कै लागि बजारमा विभिन्न हल्ला फैलाउन सक्छन् त्यस्तो हल्लाबाट बच्नुपर्छ।

अर्कोतर्फ लगानीकर्ताले अरुले सुझाएका कम्पनीहरुभन्दा आफैले अध्ययन गरी कम्पनी छनोट गरी लगानी गर्नुपर्छ। यसो गर्दा केहि सुरक्षित भइन्छ।

  • लगानी विविधिकरण गर्नुहोस्

लगानीकर्ताले शेयर बजारमा लगानी गर्दा आफ्नो लगानीलाई विभिन्न कम्पनीहरुमा लगानी गर्नुपर्छ। सबै पैसा एउटै कम्पनीमा लगाउनुभन्दा विविधिकरण गरेर लगानी गर्ने बानी गर्नुपर्छ।

लगानी गर्दै विभिन्न समूहका तुलनात्मक रुपमा मूल्य अबमूल्यन भएका १० वटा कम्पनी छनोट गरी लगानी गर्नुपर्छ। यसले एउटा कम्पनीमा घाटा भएपनि अर्को कम्पनीको नाफाले परिपूर्ति हुन्छ भने यसले जोखिम पनि घटाउछ। अर्कोतर्फ कुनै समूहको शेयरमूल्य बढेर जाँदा ट्रेण्ड पनि छुट्दैन।

  • आजको भोलि कमाउछु भन्ने नसोच्नुहोस, दीर्घकालिन योजना बनाउनुस्

दीर्घकालिन लगानीकर्ता होस वा अल्पकालिन कारोबारी, सबैले शेयर बजारमा दीर्घकालिन योजना बनाउनुपर्छ। आजको भोलि बजारबाट मनग्य कमाउछु भनेर लाग्दा धेरै गुमाउने जोखिम पनि रहन्छ।

आजको भोलि नै कमाउछु भनेर बजारमा सर्किट लागेर बढीरहेका कम्पनीको शेयर खरिद गर्दा त्यस्ता कम्पनी घट्दा समेत अत्याधिक घट्न सक्छ। त्यसले गर्दा छोटो समयमानै लगानीकर्ताले ठूलो घाटा व्यहोर्नुपर्छ।

तर दीर्घकालिन योजना बनाएर लगानी गर्दा अल्पकालमा केहि घाटा होला तर दीर्घकालमा आफ्नो पूँजी भने पक्कै गुम्दैन।

  • स्वपूँजी र ऋणको व्यवस्थापनमा ध्यान दिनुहोस्

लगानीकर्ताले शेयर बजारमा लगानी गर्दा आफ्नो स्वपूँजी र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर समेत लगानी गर्न सक्छन्। तर लगानीकर्ताले कतिबेला बैंकबाट कर्जा लिएर समेत लगानी गर्ने र कतिबेला कर्जा चुक्ता गरेर बस्ने भन्ने कुरामा भने जानकार हुनुपर्छ।

शेयर बजार तल्लो विन्दुमा हुँदा र कम्पनीहरुको शेयरमूल्य अन्डरभ्यालुड हुँदा बैंकको कर्जा लिएर समेत बजारमा लगानी गर्न सकिन्छ। बजारले बुलट्रेण्ड समाउदै गरेको सुरुवाती समयमा कर्जा लिएर समेत बजारमा लगानी बढाउन सकिन्छ तर बजार बढेर माथिल्लो विन्दुमा पुगेपछि भने लगानीकर्ताले कर्जा चुक्ता गरेर स्वपूँजीबाट मात्रै लगानी गर्नु उपयुक्त हुन्छ। किनभने बजार जति उच्च विन्दुमा पुग्दा बजारमा जोखिम पनि बढेदै जान्छ। बढेर माथिल्लो विन्दुमा पुग्दा जुनसुकै समयमा पनि बजार घट्नसक्ने सम्भावना रहन्छ।

लगानीकर्ताले बजार माथिल्लो विन्दुमा पुगेपछि झनै धेरै कर्जा लिएर बजारमा लगाउने गरेको समेत देखिन्छ। यसले गर्दा बजार घट्न थालेमा आफुले कमाएको पैसा समेत गुमाउने सम्भावना रहन्छ। बजार बढ्दै जाँदा लगानीकर्ताले कर्जाको साइजलाई घटाउदै जानु उपयुक्त हुन्छ।

  • बजारको पर्याप्त ज्ञान लिएर मात्र लगानी गर्नुहोस्

शेयर बजारमा लगानी गर्दा आफ्नै पूँजी गुमाउने सम्भावना रहन्छ त्यसले गर्दा लगानीकर्ताले लगानी गर्नुअघि बजारको बारेमा पर्याप्त ज्ञान लिनुपर्छ। कम्पनीको आधारभुत र प्राविधिक ज्ञान लिएर बजार छिर्दा गुमाउने सम्भावना कम रहन्छ तर पर्याप्त ज्ञान नलिइ बजार प्रवेश गरियो भने धेरै पैसा सिकाइमा नै गुमाउनु पर्ने हुनसक्छ।

 




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।