लाभांश घोषणापछि किन घट्छ शेयर मूल्य ?

Sep 16, 2024 03:54 PM Merolagani



आइतबार सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ११ प्रतिशत बोनस शेयर दिने घोषणा गर्यो । बोनस शेयरपछि कायम रहने चुक्ता पुँजीको ५४.५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत साधारण सभाको प्रस्तावमा राखियो ।


लकिङ पिरियड खुल्ने बहानामा घटेको सीइडीबीको शेयर मूल्य लकिङ पिरियड खुलेपछि भने लगातार बढ्न थाल्यो । शेयर मूल्य घटेर ६७० को हाराहारीको आएको सीइडीबी हाइड्रोपावरको शेयर मूल्य झन्डै ५ महिनाको अवधिमा ३ गुणाभन्दा बढीले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको वित्तीय विवरण एकदमै राम्रो आउने र गत वर्षको नाफाबाट पनि एकदमै आकर्षक लाभांश बाँड्ने हल्ला बजारमा थियो । यही हल्लाले कम्पनीको शेयर मूल्य बढ्न सहयोग पुगेको बजारका जानकारहरु बताउँछन् । आइतबार जब कम्पनीले गत वर्षको नाफाबाट ११ प्रतिशत बोनस शेयर लाभांश रुपमा बाँड्ने प्रस्ताव गर्यो कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९.१५ प्रतिशत अर्थात २ सय ५ रुपैयाँले घटेर २०३५ रुपैयाँमा कारोबार भयो जबकि कम्पनीका अघिल्लो कारोबार दिनको अन्तिम कारोबार २२ सय ४० रुपैयाँमा भएको थियो ।

लगानी समूहकै अर्को कम्पनी हाथवे इन्भेष्टमेन्ट नेपालले गत वर्षको नाफाबाट शुक्रबार १० प्रतिशत बोनस शेयर र कर बापत् शून्य दशमलब ५२६ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६ प्रतिशत लाभांश बाँड्ने घोषणा गर्यो । लाभांश घोषणा पछिको पहिलो कारोबार हाथवे कम्पनीको शेयर मूल्य ६.८१ प्रतिशतले घटेर १४७९.९० रुपैयाँमा बन्द भयो । अघिल्लो कारोबार दिनका कम्पनीको शेयर मूल्य १५८८.१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । ८ सयको हाराहारीमा लामो समय कारोबार भएको कम्पनीको शेयर मूल्य पछिल्लो समय द्रुर्त गतिले बढे्र १८ सय रुपैयाँ भन्दा माथि कारोबार भएको थियो । बोनस शेयर घोषणा गरेपछि भने ठूलो अंकले शेयर मूल्यमा गिरावट आएको हो ।

गत वर्षको नाफाबाट सबैभन्दा पहिलो लाभांश घोषणा गरेको अपि पावरको शेयर मूल्य पनि बोनस शेयर घोषणा लगत्तै शेयर मूल्य वृद्धि हुन रोकेको थियो भने त्यसको लगत्तै ४.९० प्रतिशतले शेयर मूल्यमा गिरावट आएको थियो ।

सोही क्रम ओरियन्टल होटलको सवालमा पनि सही सावित भएको छ । कम्पनीले गत वर्षको नाफाबाट गत शुक्रबार ५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करबापत् शून्य दशमलब २६३२ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । लाभांश घोषणा गरेको पहिलो कारोबार दिन कम्पनीको शेयर मूल्य ४.०८ प्रतिशतले घटेको छ ।

सोही क्रम मान्डु हाइड्रोपावर, कामना सेवा विकास बैंकमा पनि लागू भएको छ । बाेनस शेयर दिएपछी शेयर सप्लाइ बढ्ने हुँदा स्मार्ट लगानीकर्ताले भने बेचेर निस्कने गरेका छन। पछिल्लो समय लाभांश घोषणा गरेको नेपाल ल्युव आयलको सवालमा मात्रै लाभांश घोषणा गरेपछि शेयर मूल्य घटेको छैन ।

शेयर बजारका जानकारका अनुसार लगानीकर्ताहरुले गत वर्षको चौथो त्रैमासिकको वित्तीय विवरण तथा अन्य जानकारीहरुलाई शुक्ष्म रुपमा विश्लेषण गरेका हुन्छन् । कम्पनीका सञ्चालकहरुको प्रवृत्तिको बारेमा समेत जानकार यस्ता लगानीकर्ताहरुले कम्पनीले लाभांश घोषणा गर्ने दिनसम्म शेयर होल्ड गर्ने गर्दछन् र लाभांश घोषणा भएपछिको पहिलो कारोबार दिन नै शेयर अफलोड गरेर नाफा सुरक्षित गर्ने गरेका छन् ।

‘अहिले बजारमा ‘बाई एट र्युमर एन्ड सेल एट न्युज’ रणनीतिले धेरै नै काम गरेको छ ।’–ती अग्रज लगानीकर्ताले मेरो लगानीलाई भने । राम्रा लाभांश दिन सक्ने कम्पनीहरु पहिला नै सस्तो मूल्यमा संकलन गरेर राख्ने र लाभांश घोषणा हुनासाथ शेयर बेच्ने यस्तो रणनीतिले पनि पछिल्लो समय लगानीकर्तालाई राम्रै प्रतिफल दिएको उनको दाबी छ । उनले अगाडि भने–‘यसभन्दा अगाडि पनि हिमालयन रिइन्स्योरेन्सले हकप्रद शेयर आउने हल्ला बजारमा व्यापक थियो । जब कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने घोषणा गर्यो । त्यसपछि कम्पनीको शेयर मूल्य तीव्र दरमा झर्न थाल्यो । यसअघि कम्पनीको शेयर मूल्य ७ सय २० रुपैयाँमा थियो । मूल्य झरेर ५ सय ५० को हाराहारीमा आयो । त्यसपछि पुनः मूल्य बढेर १ हजार रुपैयाँको वरिपरिसम्म हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य पुगेको थियो ।’ उनको अनुभवमा र्युमर वा हल्लामा शेयर किनेर पनि मज्जाले कमाउन सकिन्छ ।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।