मन्त्री पौडेलले मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिनुपर्ने बताए । उनले अहिले समाजको मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिएको बताए।
मन्त्री पौडेलले उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको र चासो पनि बढेको उल्लेख गरे । उनले निरोधात्मक पद्धतिमा कसैले पनि चासो नदेखाएको बताए । उनले यस्तै रुपमा अघि बढ्ने हो भने नेपालमा अबको २० वर्षभित्र ५० वर्ष भन्दा माथिको संख्या बढी हुने दाबी गरे । खाद्य स्वास्थ्यको मुख्य विषय भएपनि स्वास्थ्यसँग जोड्न नसकिएको बताए।
मन्त्री पौडेलले, ‘हाम्रो कस्तो छ भने को मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिन्छ । उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको छ, चासो पनि अलि बढी छ । तर निरोधात्मक पद्धतिमा प्रिभेन्सनको पाटोमा केही काम भएको छ आजसम्म ? यसरी नै जाने हो भने नेपालमा सबैभन्दा बढी २० वर्षभित्र नेपालमा ५० वर्ष भन्दा माथिको संख्या बढी हुन्छ । त्यो एक्टिभ पनि हुन सक्दैन, त्यो निरोगी पनि हुन सक्दैन । अब मलाई कति साथीले यस्तो कुरा नबोल्न भन्छन्, अब १० वर्षपछि राज्यले वृद्धभत्ता दिनै सक्दैन । त्यसैले मान्छेलाई रोग लाग्न नदिने कुरामा हामीले केही गर्न जरुरी छ । खाद्य स्वास्थ्यको मुख्य विषय हो । तर त्यो स्वास्थ्यसँग जोड्न सकिरहेको छैन । क्यान्सर किन भयो, किड्नीमा समस्या किन आयो ? हामीले के खाइरहेका छौँ, हाम्रो फुड ह्याबिट कस्तो छ ? खाने वस्तु कस्तो छ ? कति खाइरहेका छौँ ? चाहिने जति छ की, धेरै खाइरहेका छौँ, थोरै खाइरहेका छौँ की ? थोरै खानु पनि समस्या हो, धेरै खानु पनि समस्या हो ।’
मन्त्री पौडेलले अस्पतालहरुले स्वास्थ्य चेतना विस्तार गर्न आवश्यक रहेको बताए । उनले देशमा कुनैपनि कुरामा अनुसन्धान नहुने भन्दै भइरहेका अध्ययन संस्थानमा पनि अनुसन्धान नहुने गरेको बताए ।