ट्रायम्फकाे ४०० सीसी मोटरसाइकल स्पीड टी४ भारतमा सार्वजनिक, कति रहेकाे छ मूल्य ?

Sep 23, 2024 03:00 PM Merolagani



ट्रायम्फ मोटरसाइकल इन्डियाले ४०० सीसी मोटरसाइकल सेग्मेन्टमा तेस्रो उत्पादन स्पीड टी४ सार्वजनिक गरेको छ । ट्रायम्फको नयाँ मोटरसाइकल स्पीड ४०० मा आधारित छ र रेट्रो एलिमेन्टसहितको नयाँ आधुनिक-क्लासिक लुकमा आएकाे छ। 

कम्पनीले भारतीय बजारमा ट्रायम्फ स्पीड टी४ (Triumph Speed ​​T4) को मूल्य २ लाख १७ हजार भारतीय रूपैयाँ (एक्स शोरुम) तोकेको छ । यसले ३५०-५०० सीसी सेगमेन्टमा रेट्रो स्टाइलका मोटरसाइकलहरूसँग प्रतिस्पर्धा गर्नेछ।

लुक र डिजाइन 

नयाँ ट्रायम्फ मोटरसाइकलमा नयाँ डिजाइन गरिएको इन्धन ट्याङ्की, परिमार्जित सिट, नयाँ बार एन्ड मिरर र ग्राफिक्स लगायत छन्। नयाँ मोटरसाइकलले स्पीड ४००का साथमा आफ्नो प्लाटफर्म सार्वजनिक गरेको छ। समग्रमा, धेरैजसाे डिजाइन रेट्रो छ र बाइकमा आकर्षक लुक ल्याउने प्रयास गरिएकाे छ।

इन्जिन पावर र विशिष्टता

नयाँ ट्रायम्फ स्पीड टी४ बाइकमा ३९८ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन दिइएकाे छ । यो इन्जिनले ३०.६ बीएचपीको पावर र ३६ एनएमको पीक टर्क जेनेरेट गर्छ। यो इन्जिन ६ स्पीड गियरबक्ससँग जोडिएको छ। साथै, यो इन्जिन कम टर्कको लागि ट्युन गरिएको थियो र २५०० आरपीएममा ८५ प्रतिशत टर्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।

याे बाइककाे इन्जिनले ३,५०० देखि ५,५०० आरपीएमको बीचमा उच्च टर्क उत्पन्न गर्ने कम्पनीले बताएको छ । साेहि कारण कम गियर सिफ्टमा कम देखि मध्यम गतिको सवारी क्षमता बढ्ने दावी गरिएकाे छ। यो कम आरपीएममा स्थिरता सुधार गर्न, स्पीड ४०० को तुलनामा ३० प्रतिशतले इन्जिन इनर्शिया बढाएर हासिल गरिएको पनि कम्पनीले जानकारी दिएकाे छ।

ब्रेकिङ र सस्पेन्सन

मोटरसाइकलमा अल-एलइडी प्रकाश, १७ इन्च एलोय ह्वील, सेमी-डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ४३ एमएम टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक सस्पेन्सन रहेको छ। ब्रेकिङ प्रदर्शन ३०० एमएम अगाडि र २३० एमएम रियर डिस्क ब्रेकसंग डुअल च्यानल एबीएस (ABS)बाट आउँछ।

प्रतिस्पर्धा

नयाँ ट्रायम्फ स्पीड टी४ बाइकले रोयल इनफिल्ड क्लासिक ३५०, रोयल इनफिल्ड गुरिल्ला ४५०, जावा ४२ एफजे ३५०, येज्दी रोडस्टर, होन्डा सीबी३५० आरएस, हार्ले-डेभिडसन एक्स ४४० लगायतका अन्य धेरै मोटरसाइकलहरूसँग भारतीय बजारमा ३५०-५० सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गर्नेछ।

नेपाली बजारमा पनि यो अपडेटेड मोटरसाइकल आउने अनुमान गरिएकाे छ । यद्दपी हालसम्म भने यसबारेमा आधिकारिक जानकारी दिइएकाे छैन ।

नेपालमा भने भर्खरै सार्वजनिक भएको ट्रायम्फ ब्रान्डले स्पीड र स्क्रयाम्बलर बुकिङ लिइरहेको छ । नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले ट्रायम्फ मोटरसाइकलको ६ लाख २९ हजार ९०० रुपैयाँ तोकेर बुकिङ लिइरहेको छ ।

एजेन्सी ।




comments powered by Disqus