ब्रोकर भन्छन-'सबैको माग पुरा भयो, अब बजार बढ्छ', कारोबार रकम घट्नुको कारण भने यस्तो

Sep 30, 2024 06:11 PM merolagani



सुवास निरौला

सोमबार शेयर बजारको कारोबार मापक सूचक फराकिलो अंकले बढेपछि दोस्रो बजारमा पुनः शेयर बजार बढ्ने अनुमान आउन थालेका छन्। दोस्रो बजारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका ब्रोकर कम्पनीहरूले बजार बढ्ने प्रक्षेपण गर्न थालेका छन्।

ब्रोकर कम्पनीहरूका अनुसार अब बिस्तारै शेयर बजारले पुनः आफ्नै लय समाउने छ। किनकि सबैको माग पुरा भएकोले शेयर बजारले पुरानै लय समाउने उनीहरूको भनाई छ। “दोस्रो बजारमा पछिल्लो समय जुन जुन माग लगानीकर्ताहरूको थियो। त्यो सबै लगभग पुरा भएको छ। जस्तो कि रेखा चित्र हेर्नेहरूले बजार करेक्सन हुने जुन अनुमान गरिरहेका थिए। उनीहरूले गरेको प्रक्षेपण भन्दा पनि तल बजार आयो। सबैभन्दा पहिले त उनीहरूको माग पुरा भयो। अर्को तर्फ शेयर बिक्री गरेर बसेकाहरू शेयर बजार घटेपछि छिर्ने भनिरहेका थिए। उनीहरूको लागि पनि अवसर मिल्यो। अर्को तर्फ यस अघि बढेको बजारमा पस्न नपाएकाहरूलाई पनि बजारले पस्ने मौका दियो। उनीहरूको माग पनि पुरा भयो,” एक ब्रोकर कम्पनीका सञ्चालकले मेरो लगानीसँग भने।

सोमबार शेयर बजारको कारोबार मापक सूचक ४४.४५ अंकले बढेर २५०८.८६ अंकमा उक्लियो। तर कारोबार रकम भने चार अर्ब भन्दा पनि कम तीन अर्ब ७१ करोडमा खुम्चियो। जबकि आइतबार चार अर्ब पाँच करोडको कारोबार भएको थियो। सूचक बढ्नु तर कारोबार घट्नुलाई भने त्यति राम्रो सङ्केतको रुपमा लिइँदैन। तर कारोबार रकम घट्नुको पनि कारण रहेको बताइएको छ। “यस अघि नै शेयर बजार बढ्दा बढी उधारो दिएकोले ब्रोकर कम्पनी सचेत छन्। त्यस कारण अहिले ब्रोकर कम्पनीले बढी उधारो दिएका छैनन्। जसले गर्दा कारोबार रकम घटेको हो। अहिले जसले शेयर किनेर धितो राख्छु भन्छ। उसैले भने अनुसारको लिमिट पाएको छ। अर्कोतर्फ जो सित क्यास छ। उनीहरूले मात्रै शेयर किनिरहेका छन्। जसमा बैंकको लिमिट बनाएकाहरू,संस्थागत लगानीकर्ताहरू र यस अघि शेयर बेचेर क्यास लिएर बसेकाहरूले मात्रै शेयर किनिरहेकोले गर्दा कारोबार रकम घटेको हो। यसैगरी आइतबारसम्म शेयर किन्नेहरूले नाफा लिएको अवस्था छैन। उनीहरूले नाफा बनाउन सुरु गरेपछि पैसा घुम्न थाल्ने छ। त्यस पछि आफै कारोबार रकम बढ्दै जाने छ। त्यस कारण अहिलेको कारोबार रकमलाई स्वाभाविक मान्नु पर्छ,” ती ब्रोकरले भने।

शेयर बजारले फेरि पुरानै लय समाउँदै गर्दा बजारमा यस अघिको अवस्था र अहिलेमा खासै परिवर्तन देखिएको छैन। तै पनि बजार बढ्नेमा ब्रोकर कम्पनीहरू आश्वस्त देखिन्छन्। किन उनीहरू बजार फर्कनेमा यति धेरै आश्वस्त देखिएका हुन् प्रश्नमा ती ब्रोकर भन्छन् “बजारले जति प्रेसर थेग्नु थियो थेगिसक्यो। दशैको लागि शेयर बिक्री गर्नेले गरिसके। असोज मसान्तको लागि व्याज जोहो गर्नेले पनि गरिसकेको अवस्था छ। एकातर्फ मुलुकको अर्थतन्त्र मजबुत हुँदै गएको प्रक्षेपण आइरहेका छन्। अर्कोतर्फ अहिले पनि बैंक वित्तीय संस्था सँग लगानी गर्ने प्रशस्त पैसा छ। बैंक ब्याजदर अझै तलै छ। त्यसले गर्दा पनि अब बजार पुनः पुरानै लयमा आउँछ भन्ने प्रक्षेपण गरिएको हो ।”

हुन त ब्रोकर कम्पनीहरू शेयर बजार घट्छ भनेर कहिल्यै भन्दैनन्। तर बजार घट्दैन भन्दा भन्दै पनि २५ सय मुनि झर्‍यो। यद्यपि बजार बढ्ने आधार भने बलिया नै छन्। तर सबैभन्दा ठुलो कुरा लगानीकर्ताको मनोबल भने अझै पनि कमजोर नै देखिइरहेको छ। तर यति बेला सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको राज्य नै शेयर बजार बढोस् भन्नेमा छ। अर्थमन्त्री जसरी पनि शेयर बजार बढ्नु पर्छ भन्नेमा छन्। राज्य नै सकारात्मक हुँदा लगानीकर्ता नकारात्मक हुनु पर्ने अवस्था छैन। तर शेयर बजार बढ्ने वा घट्ने विषय शेयर बजारले नै निर्धारण गर्ने भएकोले आउने दिनमा शेयर बजार कता जान्छ त्यो भने आउने कारोबारले बताउने छ।




comments powered by Disqus

ब्रोकर भन्छन-'सबैको माग पुरा भयो, अब बजार बढ्छ', कारोबार रकम घट्नुको कारण भने यस्तो

Sep 30, 2024 06:11 PM

सुवास निरौला

सोमबार शेयर बजारको कारोबार मापक सूचक फराकिलो अंकले बढेपछि दोस्रो बजारमा पुनः शेयर बजार बढ्ने अनुमान आउन थालेका छन्। दोस्रो बजारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका ब्रोकर कम्पनीहरूले बजार बढ्ने प्रक्षेपण गर्न थालेका छन्।