सफल लगानीकर्ता बन्न रामायणबाट सिक्न सकिने पाठ

Oct 13, 2024 06:09 AM Merolagani



हिन्दुहरुको महान चाड दशैँ सबैको घर आँगनमा आइसकेको छ। दशैँसँग धेरै कथाहरु जोडिएका छन्। जसमध्ये रामायण पनि एक हो। रामले रावणमाथि विजय प्राप्त गरेर घर फर्केको खुशियालीमा यो चाड मनाउने गरिएको जनआस्था छ।

रामायणले जीविकोपार्जनका लागि धेरै पाठहरु सिकाएको छ। त्यस्तै, रामायणबाट हामीले लगानीसम्बन्धि विभिन्न पाठहरु पनि सिक्न सक्छौँ जसले हामीलाई सफल लगानीकर्ता सहयोग गर्नेछ।

 

उतारचढावको बेला शान्त रहने

लगानीको यात्रामा लगानीकर्ताले धेरै बाधाहरुको सामना गर्नुपर्दछ। ति बाधाहरु राक्षस जस्तै हुन्, जसले हामीलाई राम्रो प्रतिफल प्राप्त गर्नबाट रोक्छन्। भगवान रामले जस्तै, हरेक लगानीकर्ताले त्यस्ता अप्ठ्यारा परिस्थितिमा पनि आवेगमा नआई, शान्त रहनु पर्दछ। हरेक लगानीकर्ताले अनुशासन कायम गर्दै, परिस्थितिलाई बुझेर अर्को कदमका लागि रणनीति बनाउनु पर्दछ।

अहंकारले पतन गराउँछ

रावणको पतन हुनुमा धेरै कारणमध्ये एक हो अहंकार। उनले राम–लक्ष्मण र वानर सेनालाई सामान्य सोचे। उनले आफु सबैभन्दा शक्तिशाली भएको अहंकारमा कसैले उसलाई हानी पुर्याउन सक्छ भन्ने कुरा कहिले सोचेनन्। त्यसैले, सफल लगानीकर्ता बन्नका लागि हामीले आफ्नो अहंकारलाई मेटाउनु पर्दछ। यदी लगानी घट्न थाल्यो भने त्यसका कारण खोज्नुपर्छ। यस्तो गर्दा अब नोक्सानी नै हुन्छ भन्ने लाग्यो भने लगानीकर्ताले स्टप लस गर्नुपर्छ। यसले नोक्सानी कम हुनुका साथै आफ्नो पोर्टफोलियोको प्रतिफलमा धेरै असर पार्न सक्दैन।

पोर्टफोलियोको नियमित विश्लेषण

कुनै पनि लगानीकर्ता कुम्भकर्णजस्तो हुनु हुँदैन जो धेरै लामो समयको लागि सुत्छ। लगानीकर्ताले आफ्नो पोर्टफोलियोको नियमित विश्लेषण गर्नुपर्दछ र पोर्टफोलियोमा स्टक थपेपछि लामो समयको लागि सुत्नु हुँदैन। नियमित विश्लेषण गर्दा आफ्नो पोर्टफोलियोमा भएको नराम्रा अर्थात आफुले सोचे अनुसार प्रतिफल नदिने कम्पनीहरु छाँटकाँट गर्न सहयोग पुग्दछ।

आफ्नो सीमा थाहा पाउने

लक्ष्मणले एक रेखा बनाइ सितालाई सो रेखा कुनै पनि हालतमा ननाघ्न अनुरोध गरेका थिए। तर रावणले सितालाई छल गरेर सो रेखा नाघ्न बाध्य बनाए र उनलाई हरण गरेर लगे। त्यस्तै, धेरै लगानीकर्ताहरु अरुको बहकावमा आई, अरुको प्रलोभनमा परेर, विश्लेषण नगरी लगानी गर्ने गर्दछन्। लगानीकर्ताले आफ्नो सीमा थाहा पाउनुपर्दछ र सोही सीमाभित्र रहनुपर्दछ। अरुको प्रलोभनमा परेर आफुलाई थाहा नभएको कम्पनीमा आफ्नो सीमाभन्दा बाहिर पुगेर लगानी गर्दा दुर्घटना हुन सक्छ।

राम्रो स्टकमा लगानी

रावणका भाइ विभिषण जन्मजात राक्षस भएपनि उनी आफुलाई जहिले पनि ब्राम्हण मान्थे। उनले आफ्नो परिवार छोडे, शाही जीवन शैली छोडे र भगवान रामलाई रावण विरुद्धको युद्धमा सहयोग गरे। लगानीकर्ताले कहिले काहीँ खराब स्टकमा लगानी गर्न सक्छन् तर, आफ्नो गल्तीलाई स्वीकार्दै राम्रो स्टकमा सिफ्ट हुनुपर्छ।

लक्ष्य निर्धारण र लक्ष्य प्राप्तिको लागि रणनीति

सितालाई रावणले हरण गरेर लगेपछि, भगवान राम आवेगमा आएनन्। उनले लंका जाने र सितालाई फिर्ता ल्याउने रणनीति बनाउन थाले। त्यस्तै, लगानीकर्तासँग पनि आफ्नो लक्ष्य हुनुपर्छ र सो लक्ष्य प्राप्त गर्नका लागि योजना तथा रणनीति बनाउनुपर्छ। जबसम्म लगानीकर्ताले उपयुक्त रणनीति बनाउँदैन तबसम्म लगानीमा प्रतिफल प्राप्त गर्न सजिलो हुँदैन।

लगानीको बाँडफाँट

भगवान राम बलिया योद्धा थिए। तर, यति हुँदा हुँदै पनि उनले आफु एक्लैले रावणलाई पराजित गर्न नसक्ने कुरा महसुस गरे। उनले हनुमान र सुग्रिवको सहयोगमा आफ्नो सेना बनाए। जब पोर्टफोलियोको कुरा आउँछ, त्यहाँ पनि सेना चाहिन्छ। जहिले पनि स्थायी आम्दानीको स्रोतमा मात्र निर्भर हुनु हुँदैन। महंगीका कारण त्यसको वास्तविक प्रतिफल नकारात्मक हुन सक्छ। एकै प्रकारको स्टकमा लगानी गर्दा त्यसको प्रतिफल वार्षिक रुपमा भिन्न हुन सक्छ। त्यसैले, आफ्नो लगानीको पोर्टफोलियोमा पनि विभिन्न उपकरणको सेना बनाउनु आवश्यक छ। यो नै सफल लगानीको मन्त्र हो।

शिक्षा नै शक्ति

रावण वेदका सर्वज्ञानी थिए। रावण जस्तै लगानीकर्ताले बढी भन्दा बढी प्रतिफल प्राप्त गर्न स्थानियका साथै विश्व बजारलाई नियमित अध्ययन गर्नुपर्दछ। नियमित अध्ययनले लगानीकर्तालाई राम्रो प्रतिफल दिनुका साथै जोखिम कम गर्न पनि सहयोग गर्दछ।

सफलताको लागि मेहेनत आवश्यक

रावणले भगवान शिवलाई प्रसन्न गर्न हजारौँ वर्ष तपस्या गरेका थिए। अरुले भनेको आधारमा, चामत्कारिक रुपमा लगानी दोब्बर हुन्छ भन्ने अपेक्षा नगर्नुहोस्। तपाईँले नियमित मेहेनत गरिरहनुपर्छ। तपाईँको वित्तीय अवस्था कस्तो छ भन्ने थाहा नभएको व्यक्तिसँग सल्लाह लिएर सफल भइन्छ भन्ने भ्रममा नपर्नुहोस्। आफै अध्ययन गर्नुहोस् र आफ्नो लक्ष्यमा पुग्न सहयोग गर्ने उपकरणमा लगानी गर्नुहोस्।

(अनुवादित)




comments powered by Disqus

ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा

Oct 08, 2024 10:15 AM

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।