एक्कासी किन गयो शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो ? कारण यस्तो छ

Oct 21, 2024 05:59 AM Merolagani



साताको पहिलो दिन आइतबार शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो गयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंकमा ओर्लिएर बन्द भयो। जुन १.७२ प्रतिशतको गिरावट हो।

आइतबार दोस्रो बजारमा राजनीतिक प्रभाव परेको विश्लेषण गरिएको छ। पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नु र उनी पक्राउ परेको विरोधमा सर्मथकहरुले सडक तताउनुले शेयर बजारमा असर गरेको बताइएको छ। अर्को तर्फ नागरिकले सडक तताउँदै गर्दा अहिलेको सरकार नै तलमाथि हुन्छ कि भन्ने त्रासका कारण पनि शेयर बजार घटेको अनुमान गरिएको छ। “अहिले शेयर बजार घट्नु पर्ने कुनै कारण थिएन। आइतबार घट्नुको मुख्य कारण नै राजनीति हो। रवि लामिछाने पक्राउ पर्नु र विरोधमा समर्थक सडकमा आउँदा शेयर सूचक घटेको हो,” नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाटले मेरो लगानी सँग भने।

शेयर कारोबार मापक सूचकमा फराकिलो अंकको दबाव देखिए पनि कारोबार रकम भने राम्रै गरी बढेको छ। आइतबार मात्रै २० लाख ८६ हजार कित्ता शेयर ८ अर्ब १८ करोडमा किनबेच भए। जुन करिब एक महिना यताकै सबैभन्दा धेरै कारोबार हो। यस अघि गत भदौ ३० गते १० अर्ब ३३ करोडको शेयर किनबेच भएको थियो। त्यसयता आइतबार नै सबैभन्दा बढी रकमको शेयर किनबेच भएको हो।

राजनीतिक प्रभाव केही दिन अझै रहने अनुमान गरिएको छ। शेयर सूचक २६५० अंकसम्म ओर्लिएर पुनःबढ्दो लयमा जाने प्रक्षेपण बजारमा भइरहेको छ। रेखाचित्र हेर्नेहरूले पनि शेयर बजार २६५०सम्म ओर्लने प्रक्षेपण गरिरहेका छन्। त्यसै अनुरूप ब्रोकर कम्पनीहरूले पनि कारोबार गर्नु पर्ने सुझाव लगानीकर्ताहरूलाई दिइरहेको बताउँछन्। “बजार धेरै घटे २६५० सम्म आउँछ। त्यस भन्दा तल जाँदैन भन्ने हाम्रो अनुमान छ। त्यसै अनुरूप कारोबार गर्न सुझाउँदै आएका छौ,” एक ब्रोकर कम्पनीका सञ्चालकले भने।

हुन त शेयर बजार कतिसम्म झर्ने हो त्यो भने बजारले नै निर्धारण गर्ने गर्छ। तर अनुभवी लगानीकर्ताले भने त्यसको सटिक अनुमान भने लगाउने गर्छन्। जुन अनुमान केहीको मिल्ने गर्छ भने केहीको मिल्दैन।

बजारमा बढेको कारोबार रकमले पनि लगानीकर्तामा मनोबल खासै नघटेको देखाउछ। घट्दो बजारमा ८ अर्बको कारोबारले पनि लगानीकर्ता शेयर किन्न उत्सुक नै रहेको देखाउँछ। तथापि घट्दो बजारमा बढेको कारोबार रकमले भने राम्रो सङ्केत नगर्ने विश्लेषण हुने गरेको छ। किनकि बढ्दो बजारमा कारोबार रकम बढे शेयरको डिमाण्ड धेरै रहेको बुझ्ने गरिन्छ भने सूचक घट्दा बढेको कारोबार रकमले भने सेलिङ प्रेसर रहेको जनाउँछ। जसका कारण आइतबार कारोबार रकम बढ्नुलाई सेलिङ प्रेसरको उपज मानिएको छ।




comments powered by Disqus

रविसँगै जेल जाने १४ जना काे काे हुन् ?

Oct 18, 2024 06:03 PM

सहकारी ठगीमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।