सर्वाेच्चको आदेशपछि पुस ५ गते प्रहरी हिरासतबाट रिहा भएका दुर्गा प्रसाईले समर्थकहरुलाई सम्बोधन गर्दै आफू नडराएको र अभियान अझ शसक्तरुपमा अगाडि बढ्ने घोषणा गरेका थिए । तर, त्यसयता उनले आफ्नो शैली अनुसारको एउटा पनि सार्वजनिक टिप्पणी गरेका छैनन्, फेसबुक पोष्ट गरेका छैनन् र युट्युवहरुमा अन्तरवार्ता पनि दिएका छैनन् । उनी घरबाट सिआईबीमा हाजिर हुन जांदा र सिआईबीबाट घर फर्कंदा पनि हल्ला खल्ला नगरि चुपचाप जाने गर्छन् । जबकि विगतमा उनी जहाँ जाँदा पनि युट्युबरबाट घेरिएका हुन्थे ।
अहिले उनले आफू नजिकका व्यक्तिहरुसँग आफूलाई सबैले उपयोग मात्रै गरेको तर कसैले पनि राम्रोसंग साथ नदिएको बताउँदै आफू राज्यसँग लड्दा लड्दै थाकिसकेको बताउने गरेका छन् । उनले अहिलेकै अवस्थामा आफ्नो अभियानलाई गति दिन नसक्ने समेत बताइरहेका छन् । उनले आफूलाई साथ नदिएको र केवल उपयोग गरिरहेको भन्दै पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवारप्रति पनि आक्रोस व्यक्त गर्न थालेका छन् ।
अहिले प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दैनिक तारेखमा राखेको छ । आपराधिक लाभसम्बन्धी कसुर र संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेकाले मुद्दाको किनारा नलाग्दासम्म उनले दिनदिनै सीआईबीमा हाजिर हुनुपर्ने आदेश सीआईबीले दिएको छ ।
सिआईबीका अधिकारीहरुका अनुसार अनुसन्धान चलिरहँदा आवाज परिक्षणको लागि पटक पटक अनुरोध गर्दा पनि प्रसाईले मानिरहेका छैनन् । व्यवसायीलाई धम्क्याएका र उनीद्वारा परिचालित हरिचन्द्र फुयालसँगका भएका ५ वटा अडिओ कुराकानी प्रहरीले फेला पारेको छ । उक्त कुराकानीमा सुनिने आवाज प्रसाईंकै भए पनि त्यसलाई कानुनीरुपमा समेत प्रमाणित गर्न प्रहरीले आवाज परिक्षण गर्न खोजिरहेको छ । तर, प्रसाईं भने कुनै पनि हालतमा परिक्षण नगर्ने अडानमा छन् । उनको अडानको कारण प्रहरी त्यो आवाज प्रसाईंकै भएको निष्कर्षमा पुगेको छ । यदि ती आवाजहरु आफ्नो नभएको प्रसाईं परिक्षण गर्न डराउने थिएनन् भन्ने प्रहरी अधिकारीहरुको भनाई छ ।
स्रोतका अनुसार अहिले प्रहरीले उनले सञ्चारमाध्यममा दिएका अन्तर्वार्ताका अडिओमा रहेको आवाज र फुँयालबाट जफत गरिएका अडियोको आवाजलाई भिडाएर परिक्षण गरिरहेको छ । ती अडियोमा के विषय छन् भन्ने बारेमा प्रहरीले कुनै कुरा सार्वजनिक नगरे पनि निकै गम्भिर विषय रहेकै कारण प्रसाई स्वंय पनि त्यसबाट डराइरहेको हुन सक्ने अनुमान गरिएको छ ।
आवाज परिक्षण गर्न अस्विकार गर्दै आएका प्रसाईँ भने सरकारसंगको लडाईंमा अब आफू थाकिसकेकोले अब अभियानको गतिविधि नै विसाउन तयार रहेको बताउने त्यही कुराको संकेत गर्छ ।
साइबर अपराधको कसुरमा ४० हजार धरौटी बुझाएका प्रसाईंलाई सीआईबीले भारतीय आपराधिक समूह लरेन्स विश्नोइको सदस्य हुँ भन्दै व्यवसायी धम्क्याएको आरोपमा हिरासतमै राखेर अनुसन्धान गरेको थियो । त्यसविरुद्ध प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणाको निवेदन दिएपछि उनी साधारण तारेखमा रिहा भएका थिए । मंसिर ४ गते पक्राउ परेका उनी एक महिनापछि पुस ५ गते अवकास भएका थिए ।
स्रोतका अनुसार सीआईबीले भने प्रसाईंलाई पक्राउ परेकै मितिबाट गणना हुने गरी संगठित अपराधको कसुरमा हिरासतमा राख्न मिल्ने ६० दिनभित्रै अर्थात् माघ ४ गते भित्रै मुद्दा बुझाउने तयारी गरेको छ ।