माथिल्लाे तामाकाेशी आयोजना तीन साता भित्रै सञ्चालनमा आउने

Oct 21, 2024 05:16 PM Merolagani



बाढी-पहिरोले क्षति पुर्याएको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तीन साता भित्रै सञ्चालनमा आउने भएकाे छ । 

 

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आयोजनाको बाँध क्षेत्र क्षति पुगेको थियाे ।आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले तीन हप्ताभित्र नै थोरै भए पनि विद्युत् उत्पादन थाल्ने गरी काम भइरहेको जानकारी दिए । उनका अनुसार हेडवर्क्स क्षेत्रमा थुप्रिएको ढुङ्गा, माटो र ग्रेगान हटाउने काम भइरहेको छ ।

गत शनिवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बाढी-पहिरोले क्षति पुर्याएकाे आयोजनास्थलको अवलोकन गरेका थिए । उनले आयोजना छिटाेभन्दा छिटाे सञ्चालनमा ल्याउन मन्त्रालयले आवश्यक सबै खालको सहयोग गर्ने बताएका छन्। 

अविरल वर्षाका कारण आयोजनाको बाँध क्षेत्र, विद्युत्‌गृह, पहुँचमार्ग लगायत संरचनामा क्षति पुगेको छ। आयोजनामा क्षति पुग्दा राज्यले दैनिकरूपमा ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ ।

यथाशक्य चाँडो मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन जाेड दिइएकाे छ । आयोजना बन्द हुँदा राज्य र जनताले असोज महिनामा मात्र करिब ८५ करोड ६ लाख ४७ हजार ९३० रुपैयाँ घाटा व्यहोर्नुपरेको छ ।

यसको प्रत्यक्ष असर राज्य र जनतामा परेको हुँदा उत्पन्न अवरोध चाँडो हटाई आयोजना सञ्चालनमा ल्याउन जाेड दिइएकाे हाे ।

आयोजना लामो समय बन्द हुँदा भोलि ऊर्जा सङ्कट उत्पन्न हुन सक्छ । यसैले यसको मर्मत सम्भार तथा पुनर्निर्माणमा मन्त्रालयले आवश्यक सबै खालको सहयोग गर्न मन्त्रालय तयार रहेकाे बताइएकाे छ ।

दोलखादेखि लामाबगर सडकखण्डस्थित काभ्रेभीर आसपासमा ठूला ढुङ्गा खसेकाले बाटो अवरुद्ध हुँदा आयोजना क्षेत्रमा आउन जान समस्या परेको छ । बाढी-पहिरोमा परेर सुरक्षाकर्मी सहित चार जनाले ज्यान गुमाएका थिए ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।