विगत सात बर्षदेखि बाणिज्य बैंक लगायतका ठूला कम्पनीमा लगानी गरेर निराश बनिरहेका लगानीर्काहरुलाई कमजोर र साना कम्पनीको सेयरको मूल्य बढाईले गहिरो सोचाईमा पारिदिएको छ । लामो समयदेखि लगातार घाटा ब्यहोरेका कतिपय लगानीकर्ताहरु धेरै सेयर आपुर्ति रहेका कम्पनी छाडेर थोरै सेयर आपुर्ति रहेका साना र कमजोर कम्पनीतिर मोडिन बाध्य हुँदैछन् ।
सेयर बजारमा आधारभुत अवस्थाले थेग्नै नसक्ने कमजोर र कतिपय त संकटग्रस्त कम्पनीहरुको सेयर मूल्य धेरै बढ्दै जाँदा त्यसले सर्वसाधारणको लगानीमाथि थेग्नै नसकिने जोखिम बढाउने खतरा हुन्छ । कमजोर र साना कम्पनीका् सेयर आपुर्ति र मागको अवस्था मात्रै विचार गरेर मूल्यमा हुने उचार चढावले केही सिमित ब्यक्तिहरुलाई फाईदा पुगे पनि ९५ प्रतिशत भन्दा बढी लगानीकर्ताहरुले गुमाउँछन् । यसले सेयर बजारलाई नै विकृत बनाउने खतरा पनि रहन्छ । खराब र कमजोर कम्पनीको सेयर उच्च मूल्यमा किनेर फस्नेहरु बर्षौसम्म उठ्न नसक्ने हुन्छन् ।
सरकार र नियमनकारी निकायहरुले सेयर बजारमा आधारभुत अबस्था बलियो रहेका कम्पनीहरुको सेयरमा लगानीकर्ताको आकर्षण बढाउने नीति, नियम, प्रविधि, पुर्वाधार र नियमनको ब्ब्यवस्था नगर्दा लगानीकर्ताहरु बाध्य भएर साना कम्पनीतिर मोडिन थालेका हुन् । पूँजीगत लाभ लिन र मूल्य थाम्न साना कम्पनीहरुमा सजिलो हुने हुँदा खेलाडीहरुले अहिले यस्तै कम्पनीमा आम लगानीकर्ताहरुलाई तान्ने प्रयास गरिरहेका छन् ।
बजारमा संस्थागत लगानीकर्ताको न्युन उपस्थिति, ब्रोकरमार्फत मार्जिन कारोबार नभएकाले उधारो कारोबार गरी छोटो समयमा पूँजीगत लाभ लिनुपर्ने दबाब, सही निमयनको अभाव लगायतका कारणले हाम्रो सेयर बजारमा स्थायित्वको संकट छ । केही समय अघिसम्म झण्डै ३० अर्ब पुगेको दैनिक कारोबार रकम अहिले तीन अर्ब हाराहारीमा झरेको मात्रै छैन, कुनै दिन उच्च दरले सेयरको मूल्य बढ्ने र भोलिपल्ट उच्च दरले घट्ने खतरनाक प्रबृत्ति देखिएको छ । बजारको यस्तो प्रबृत्तिले आम लगानीकर्तामा शंका र त्रासको वातावरण पैदा गर्छ र हातमा पैसा भएकाहरुको पनि मनोबल कमजोर बनाएर थप पैसा बजार छिर्न दिदैन ।
अहिले नयाँ तथा पुराना सेयर दलालहरुले उधारो कारोबारलाई नियन्त्रण गर्दै लगेका छन् । जोखिम ब्यवस्थापका लागि यो सकारात्मक कदम होे । तर बजारमा कारोबार बढाउने गरी सरकारले नीतिगत ब्यवस्था गरेन भने अहिले कतिपय कम्पनीमा रहेको अधिक आपुर्ति र भबिष्यमा आउने थप बाढीलाई थेग्न मुस्किल पर्छ । अहिले बैंक तथा बित्तीय संस्थाहरुमा अधिक तरलता, अन्यत्र कर्जा प्रबाह हुन नसकेको अवस्था, सस्ताे ब्याज दर र सेयरको मूल्य तल्लो विन्दुमा रहेको बेलामा समेत सेयर बजारमा आकर्षण पैदा हुन सकेन भने आगामी दिनहरु निकै चुनौतिपूर्ण हुनसक्छन् । लगानीकर्तामा लामो निराशाको वातावरण बन्न जान्छ । यसले बजार बिकास र विस्तारलाई मात्रै हैन, सरकारकाे राजस्व असुली र अर्थतन्त्रलाई नै आघात पार्छ ।
पुरै अर्थतन्त्रलाई चलायमान बनाउने प्रस्थान विन्दु नै सेयर बजार हो । ६५ लाख जनता प्रत्यक्ष रुपमा र अन्य लाखौं अप्रत्यक्ष रुपमा जोडिएको सेयर बजार चलायमान भयो भने मात्रै अन्य क्षेत्रमा लगानी विस्तार भई आशाको संचार हुनथाल्छ । यसका लागि सरकारले तत्कालै केही जरुरी नीतिगत सुधार गर्नु आवश्यक छ ।
सेयर बजारमा लगानी गर्ने सबैको लगानी सुरक्षा र नाफाको ग्यारेन्टी सरकारले गर्न सक्दैन, याे बजारमा लाग्ने सबैले कमाउन सक्दैनन तर आफ्नो जोखिमबहन क्षमता बलियो बनाएर आधारभुत अवस्था राम्रो रहेका कम्पनीहरुमा लगानी काैशल र रणनीतिका साथ लगानी गर्नेहरुलाई आश्वस्त पार्ने काम गर्नेपर्छ । सुझबुझका साथ राम्रा कम्पनीमा लगानी गर्दा पनि गुमाउनुपर्ने अहिलेको अवस्थामा सुधार हुन सकेन भने लगानीको वातावरण बन्न सक्दैन । यसले पूँजी पलायन गराएर पूँजी बजारको बिकास र बिस्तारलाई अवरोध गर्छ ।
बजारमा संस्थागत लगानीकर्ताको तत्काल खट्किएको अभाव पुरा गर्न बैंकहरुलाई अल्पकालीन लगानीमा गरिएको बन्देज खोलेर प्राथमिक पूँजीको १० प्रतिशत रकम लगानी गर्नसक्ने ब्यवस्था गर्ने, सबै सेयर धितो कर्जाको जोखिमभार शत प्रतिशत मात्र कायम गर्ने, अध्यादेशमार्फत करसम्बन्धी ब्यवस्था संशोधन गरी गैरआवासीय नेपालीलाई तीन बर्षे लक ईन अवधिको आधारमा १५ प्रतिशत मात्र लाभकर लाग्ने ब्यवस्था गर्ने, विदेशी संस्थागत लगानीकर्तालाई कर र कार्यविधि निश्चित गरी दोस्रो बजारमा भित्र्याउने ब्यवस्था गरी माग बढाउने कार्य तत्काल हुनुपर्छ । नयाँ र साना कम्पनीकाे हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन, एसएमई प्लेटफर्म संचालन तत्काल हुनुपर्छ । त्यस्तै सबै सूचीकृत कम्पनीकाे संस्थापक हिस्सेदारी कम्तिमा २५% प्रतिशत सधैं कायम राख्नु पर्ने गरि तत्काल नीतिगत सुधार गरेर कम्पनीकाे सुशासनलाई बढावा दिनु एकदम जरूरी छ । सेयर दलाल मार्फत नै तत्कालै मार्जिन कारोबार शुरु गर्ने,अक्सन मार्केट, ईन्ट्रा डे र सर्टसेलिड. तत्कालै लागु गर्ने, सेयर बजारमा लगानी गर्ने गरी स्थापना भएका कम्पनीहरुलाई प्रोत्साहनको नीति ल्याउने, ५० हजार रुपैयाँ बराबरको सामुहिक लगानी कोषको ईकाई खरिद गरी तीन बर्षसम्म धारण गर्ने प्राकृतिक ब्यक्तिले बार्षिक रुपमा निश्चित प्रतिशत आय कर छुट सुविधा पाउने ब्यवस्था गरी सामुहिक लगानी कोषलाई प्रबद्र्धन गर्ने नीति तत्काल आवश्यक छ ।
ब्यापक नीतिगत सुधार गरी आधारभुत अवस्था बलियो रहेका कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण नबढाउने हो भने लगानीकर्ताहरु साना र कमजोर कम्पनीतिर आकर्शित हुनुपर्ने बाध्यता रहन्छ र यसको परिणाम अवश्य सुखद हुने छैन । यसतर्फ सरकार, नियमनकारी निकाय र सरोकारवाला निकायहरुको यथाशीघ्र ध्यान जानुपर्छ ।
(कोइराला सेयर बजारका लगानीकर्ता हुन्)