बजारले तिहार पछि गति समाउने आंकलन लगानीकर्ताले गरेको पाइन्छ । यद्यपि तिहार पछिका दुई कारोबार दिन स्थिर अवस्थामा छ । बजारमा उतारचढाब हुन सकिरहेको छैन । बजार बढ्न सकेको छैन भने घट्न पनि मानेको छैन । यो विन्दुबाट सकारात्मक गति समाउन केहि कुराको पखाईमा रहेको शेयर बजारका विश्लेषक सुवास चन्द्र ढुङ्गानाले बताए ।
'समग्रमा बजार सकारात्मक छ । बढ्नको लागि उचित समयको पखाईमा बजार छ । नेपाल राष्ट्र बैंककाे चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीतिले पनि त्यो भुमिका खेल्न सक्छ,' ढुङ्गानाले भने ।
बजारले यो विन्दुमा कति समय लगाउने छ भन्ने कुरा एकिन नभएता पनि कारोबार रकमलाई ध्यान दिएर खरिद बिक्रीको रणनीति अपनाउन सक्ने छ । अहिले भइराखेको कारोबार रकमले सूचकलाई उठाउन सक्दैन । तर बजार निरन्तर रुपमा सकारात्मक हुन थाल्यो भने कारोबार रकम विस्तारै बढ्ने उनको दाबी छ ।
निरन्तर रुपमा बैंकको घट्दो ब्याजदर र कर्जा लगानीले बजारको लागि अहम भुमिका निर्वाह गरेको हुन्छ । प्रणालीमा संचित भएको तरलता परिचालन गर्न नसकेर नेपाल राष्ट्र बैंकलाई सकस भएको छ । यसलाई मध्यनजर गरेर मौद्रिक नीतिको समीक्षा हुने विश्वास लगानीकर्तामा छ । यो अवधिमा ९९ अर्ब ७६ करोड रूपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ । याे बजारको लागि शुभ संकेत भएको बुझाई छ ।
त्यसैगरी विगतको अभ्यासलाई हेर्दा समान्यतया बजार वर्षको दुई पटकसम्म सकारात्मक हुने गरेको देखिन्छ । यो अवधिमा बजारले बढ्नको लागि सुर गर्ने समय भएकाले लगानीकर्ताको मनोभावना सकारात्मक बन्न थालेको शेयर बिश्लेषकहरुले बताउने गरेका छन् । अहिलेको विन्दुमा थोरै बजार अनुकुल गतिविधि र नीतिगत व्यवस्थाहरु भए बजारले उचाई समाउने उनीहरुकाे विश्वास छ ।