भारतीय रुपियाँसँगै स्थिर विनिमय दर रहेका कारण नेपाली रुपैयाँ पनि हालसम्मकै कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकले आज (कात्तिक २२ गते) का लागि अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ १६ पैसा तोकेको छ भने खरिददर १३४ रुपैयाँ ५६ पैसा तोकेको छ। डलरको यो विनिमय दर हालसम्मकै उच्च हो। यस अघि गत कात्तिक २० गते डलरको बिक्रीदर १३४ रुपैयाँ ८९ पैसा र खरिददर १३४ रुपैयाँ २९ पैसा थियो। सो दिनको तुलनामा यस दिन डलरको मूल्य २७ पैसा बढेको हो।
भारुको मूल्य घट्नुको कारण
- अमेरिकामा राष्ट्रपति चुनावको नतिजाका कारण डलरको मूल्य बढेको
- भारतीय बजारमा विदेशी लगानीकर्ताहरुको १ अर्ब ६३ अर्ब रुपियाँबराबरको बिक्री
- फेडरल रिजर्भले यसै साताको अन्त्यतिर ब्याजदर घटाउने अपेक्षा
- अमेरिकी बजार डाउ जोन्समा १३०० अंक अर्थात ३ प्रतिशतभन्दा बढी वृद्धि
डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुनेछ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ।
डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ। तर आयातको हिस्सा धेरै भएकोले डलर महंगिदा फाइदाभन्दा बेफाइदा बढी हुने जानकारहरु बताउछन्।