विमानस्थल कार्यालयका अनुसार कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुनेछ। हाल काठमाडौं विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म खुल्ने गरेको छ।
गर्मीयाममा काम गर्न नसकिने, त्यसैबेला वर्षा पनि हुने भएकाले अहिले कात्तिक महिनादेखि नै विमानस्थल स्तरोन्नतीको काम सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउन लागिएको हो प्राधिकरणको भनाइ छ।
प्राधिकरणका अनुसार तीन निर्माण व्यवसायीले धावनमार्गको उतर–दक्षिणतर्फ जोडिएका चारवटा ट्याक्सी–वे भत्काउने, पुनर्निर्माण गर्ने, धावनमार्गसँग जोड्ने, स्तरोन्नति गर्ने, नयाँ एप्रोनसँग जोड्नेलगायत कार्य गरिनेछन् । विमानस्थलको गुरुयोजनाअनुसार स्तरोन्नतिका लागि हाल १५ अर्ब रुपैयाँ लागतमा तीनवटा फरक–फरक विदेशी निर्माण व्यवसायीहरूले काम गर्दै आएका छन्।
पाँच महिनासम्म रातिको समयमा विमानस्थल बन्द हुने भएसँगै वायुसेवा कम्पनीहरूले पनि आफ्नो निर्धारित उडान तालिका परिमार्जन गरेका छन्।
स्तरोन्नतिपछि जहाजको आउजाउ तथा ट्राफिकमा धेरै सुविधा हुने विश्वास प्राधिकरणको छ।